Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयघटेन भ्रष्टाचार, सुशासन भाषणमा सीमित

घटेन भ्रष्टाचार, सुशासन भाषणमा सीमित


काठमाडौं । संसारभरका देशमा भ्रष्टाचार कस्तो छ भनी अध्ययन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले अरू देशको जस्तै नेपालको पनि गएको वर्ष भ्रष्टाचार र सुशासनको अवस्थाबारे अध्ययन प्रतिवेदन दिएको छ, जसमा भ्रष्टाचार घटेको देखाउँदैन । अघिल्लो वर्षको तुलनामा एक/दुई अंक तलमाथि भएको होला । तर समग्रमा अवस्था उही छ जुन दशकअघि थियो । यो बीचमा देशमा सरकारहरू फेरबदल भइरहेको छ । ती सबैले आफ्ना पहिलो काम भनी देशमा सुशासन कायम गर्ने भनी बताइरहेको पाइन्छ । चुनावमा जानका लागि तयार पारेका घोषणापत्रहरूमा पनि भ्रष्टाचारलाई रोक्ने नै भनिएको हुन्छ । नेताहरूले भ्रष्टाचारमा शून्यसहनशीलता थेगो नै बनाइसकेका छन् तर पछिल्लो समय भाषणबाहेक व्यवहारमा भने कतै पनि सुशासन कायम हुन सकेको छैन । तर नेतृत्वको परिवारमाथि भ्रष्टाचार गरेका भन्ने आरोप लाग्यो भने व्यवस्थामाथि प्रहार भन्न थालिएको छ ।

तीन वर्षअघि ट्रान्सपरेन्सी इन्टरनेसनलको यस्तै प्रतिवेदनमा प्रधानमन्त्रीलाई भ्रष्टाचारका संरक्षक भनी तत्कालीन प्रधानमन्त्रीको नामै उल्लेख गरेको थियो । कहाँ–कहाँ कुन कामबाट यस्तो संरक्षण भएको देखियो भनेर खोज्नुको साटो तत्कालीन सरकारले प्रतिवेदन राजनीतिक आग्रहमा यस्तो आरोप लगाइएको भनेर प्रतिवेदन नै खारेज गरिदियो । प्रतिवेदनमा उल्लेख भएको कुरा कसैले गर्दैमा खारेज हुने थिएन । त्यतिसम्म बुझ्न आवश्यक ठानिएन । अहिलेका सरकार प्रमुखले त स्वकीय सचिव बनाइएकी आफ्नी छोरीमाथि लागेको आरोपलाई प्रतिकृयावादीहरूले गणतन्त्रविरुद्ध प्रहार गरेको भनेर यो कुरालाई हलुका बनाइदिए । उनले यस्तो जवाफ दिएको कुरालाई संसदीय समितिले पनि पत्याइदियो । तर यो आरोप अरूबाट नभएर स्वयम् आफ्नै राजनीतिक सल्लाहकारबाट संकेत गरिएको विषय थियो । यस्ता स्वकीय सचिवबाट जतात्यतै हस्तक्षेप भएको भनेर उनले राजीनामा नै दिएका कुरा त्यसबेला सार्वजनिक भएका थिए । यो भनेको शासनको उच्च तहमा रहेकाहरू नै आत्ममूल्याङ्कन गर्न तयार नभएको अवस्था हो । जब आफूले गरेका जे–जस्ता काम पनि जायज भानिन्छन् भने त्यही नै भ्रष्टाचारको प्रमुख स्रोत मानिन्छ । यस्ता भ्रष्टाचारसम्बन्धी प्रतिवेदन सात समुद्रपारी बसेर बनाइने होइन । जुन देशको अवस्था अध्ययन हुन्छ त्यसमा त्यही देशका नागरिकले आफ्नो बुझाइ व्यक्त गर्छन् र त्यही कुरा प्रतिवेदनमा पर्छ । तीन वर्षअघिको प्रतिवेदनमा प्रधानमन्त्रीको नाम उल्लेख हुँदा नेपाली एक हजारको सङ्ख्याका नागरिकले त्यस्तो मत प्रकट गरेका भनी प्रतिवेदनमा नै उल्लेख भएको थियो । चर्चित घटना अर्थात् काण्डहरूमा नागरिकले जस्तो धारणा बनाउँछन् । त्यही कुरा प्रतिवेदनमा प्रतिविम्बित हुन्छ । जस्तो यो वर्षको प्रारम्भमा नै प्रकट भएको नक्कली भुटानी शरणार्थी प्रकरणलाई कसैले राम्रो भनेका छैनन र भन्दैनन् पनि । अध्ययनमा प्रभावपार्ने कुरा यस्तै हुन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले माघ १६ मा संसारभरि एकैपटक सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकांकमा नेपाल एक अंकले मात्रै सुधारमा छ । अघिल्लो वर्ष अर्थात् २०२२ मा नेपाल एक सय १०औँ स्थानमा रहेकामा यो वर्ष १०८औँ स्थानमा देखियो तर बढी भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा एक सयमा ३५ अंक मात्रै प्राप्त गरेको अवस्था प्रकट भएको छ । अघिल्लो वर्ष ३४औँ स्थानमा थियो । सूचकांकमा एक सय अंकले अति स्वच्छ र शून्य अंकले अतिभ्रष्ट भनी जनाउँछ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अनुसार यसपटक झिनो सुधार देखिएको छ । तर विश्व परिदृश्य र समग्रतामा हेर्दा नेपाल भ्रष्टाचारले ग्रस्त मुलुक नै हो । खासगरी प्रकट भएका भ्रष्टाचारका काण्डहरूमा कारबाही गरियो भने पनि स्थितिमा सुधार आउँछ । अबको नेतृत्वले यसतर्फ ध्यानदिएको खण्डमा अर्कोवर्ष अर्को वर्षको प्रतिवेदनमा त्यो कुरा प्रकट हुनेछ । अबको प्रतिबद्धता त्यसतर्फ हुनुपर्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया