Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयआफ्नै प्रश्नको घेरामा नयाँ गृहमन्त्री

आफ्नै प्रश्नको घेरामा नयाँ गृहमन्त्री


काठमाडौं । यतिबेला नयाँ गठबन्धनका नयाँ गृहमन्त्री प्रश्नैप्रश्नको घेरामा परेका छन् । ती प्रश्नहरू आमनागरिकले सोधेकोभन्दा यसअघि उनी आफैँले त्यसबेला संसद् र बाहिर अर्थात् सामाजिक सञ्जालमा सोधिएका उनका ती प्रश्नहरू अब के हुन्छन् ? तिनले उत्तर पाउँछन् कि पाउँदैनन् भन्ने आमजिज्ञासा बढी नै रहेको छ । तर उत्तर पाउनेजस्तो देखिँदैन । जुनबेला उनले यस्ता प्रश्नहरू गरेका थिए ती कुनै पनि उत्तर पाउने सन्दर्भका थिएनन् । सहकारीको रकम हिनामिना गर्ने काममा उनको पनि संलग्नता देखिएको र त्यसका प्रमाणहरू छरपष्ट हुन थालेपछि त्यसले देशकै ध्यान उनीमाथि केन्द्रित हुन थालेपछि त्यसबाट वातावरण अन्यत्र लैजान उनले त्यस्ता प्रश्नहरू गरेका हुन् भन्ने त्यतिबेला नै आरोप लागेको थियो । त्यसको खण्डन हुनेगरी उनले काम पनि गरेका छैनन् । उनी त्यसबेला जुन कम्पनीको प्रबन्धक थिए । त्यसबेला विभिन्न सहकारीबाट अपचलन हुनेगरी २५ करोड रुपैयाँ यता ल्याएको भन्ने आरोप छ । त्यसरी नै अपचलन भएर आएको करिब दुई करोड रुपैयाँ त उनकै खातामा भेटिएको अवस्था थियो । त्यसको चित्तबुझ्दो जवाफ उनले अझै दिए छैनन् ।

सर्वसाधारणको जानकारीबाट यो कुरा हटाउन त्यसबेला उनले दर्जनजति प्रश्नहरू निर्माण गरेका थिए । तर जे भए पनि प्रश्नहरू भने जायज नै थिए चर्चा पनि पाए । काण्डैकाण्डले भरिएको देशमा ती काण्डहरूमाथि किन कारबाही हुँदैन भनेर उनले संसद्मा र आफ्नो सामाजिक सञ्जालमा बेलाबेला उल्लेख गर्ने गरेका काण्डहरूसँग सम्बन्धित प्रश्नहरूका सूची यस्ता छन्:
(१)नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने? (२) ललिता निवास काण्डमा दोषी उम्काउने ? (३) सुन काण्डमा तस्करहरू रोजीरोजी जोगाउने ? (४) एनसेल प्रकरणमा मिलेमतो गरी राज्यलाई ठग्ने ? (५) टेराम्याक्स घोटालामा संलग्नलाई कारबाही नगर्ने ? (६) वाइडबडी खरिद काण्ड, यति काण्ड, ओम्नी काण्ड, गिरिबन्धु काण्डका फाइल थन्क्याउने ? (७) नारायणघाट–बुटवल, मुग्लिन–पोखरालगायतका सडकहरू वर्षौं अलपत्र पारी जनतालाई धुलोमा डुबाउने? (८) प्रधानमन्त्री र मन्त्री भने करोडौं खर्चमा जहाजमा विदेश, हेलिकप्टरमा स्वदेश सयर गर्ने ? यी त सरकारका नालायकीपनका केही प्रतिनिधि काण्ड हुन् । हुँदाहुँदा… पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बीच सडकमा गोली हान्ने ? आज पीडित परिवारसँग कुरा गर्दा अत्यन्त विक्षिप्त भइयो । यो दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने ? आजबाट देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको छ । पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौं । रास्वपा अब रोकिँदैन । यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ, हुन्छ ।

यस्ता प्रश्नहरू सोध्ने मान्छे यतिबेला गृहमन्त्री छन् । उनलाई जसले गृहमन्त्री बनायो तीचाहिँ उल्लेखित काण्डहरूका रचनाकार । यी गृहमन्त्रीले गरकोमध्येका एउटा प्रश्न कोरोनाको समयमा खरिद गरिएको औषधिसँग सम्बन्धित छ । त्यो कस्तो हो भने अठहत्तर सालको साउनमा नयाँ गठबन्धन बनेर त्यसले राज्य चलाउन थाल्दा सम्झौता नै गरेर छानबिन र कारबाही गर्ने भनिएको थियो । तर आजसम्म त्यसको छानबिन भएको छैन भने कारबाहीको त कुरै भएन । उनको अर्को प्रश्न छ, वाइडबडी खरिद काण्ड, यति काण्ड, ओम्नी काण्ड, गिरिबन्धु काण्डका फाइल थन्क्याउने ? यसमध्येको गिरिबन्धु काण्डका फाइल खोल्छु भनेर गएका भदौमा प्रधानमन्त्री पुष्पकमल दाहालले नै पत्रकारलाई निवासमा बोलाएर घोषणा गरेको थिए । तर आजसम्म यो फाइल पनि खुलेन । अब त समीकरण नै बदलिएको छ । त्यही बदलिएको समीकरणले यिनलाई गृहमन्त्री बनाएको हो । के अब यिनले त्यसो गर्लान् त ? कामना हो गृहमन्त्रीले आफ्ना प्रश्नको आफैँ उत्तर दिऊन् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया