Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयभ्रष्टाचारबारे प्रधानमन्त्रीको दृष्टिदोष

भ्रष्टाचारबारे प्रधानमन्त्रीको दृष्टिदोष


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ खाए । यसमा पनि उनका केही नयाँ रेकर्र्ड कायम भएका छन् । प्रतिनिधिसभामा आफैंले मागेको विश्वासको मतमा पराजित भएको अवस्थामा वैकल्पिक सरकार बन्न नसकेर तीन दिनकै अन्तरालमा यो नेतृत्व छानियो । यसले पनि बताउँछ यो नेतृत्वसामु केही दायित्वहरू थपिएका छन् । यतिबेलाको प्रश्न हो प्रधानमन्त्रीमा त्यो बोध होला ? दुःखद नै भन्नुपर्छ त्यो देखिएन ।

यो पटकको शपथ खाएपछिको मन्त्रिपरिषद्को पहिलो बैठकमा प्रधानमन्त्रीले बोलेका दुई कुरा हुन् : महामारीको उपचारलाई सहज बनाउने र भ्रष्टाचारलाई नसहने । भ्रष्टाचार सह्य हुँदैन भन्ने कुरा प्रधानमन्त्रीले विगतमा पनि भन्दै आएका हुन् । तर त्यसको पालना भएन । पछिल्लो पटक पनि त्यो दोहोरियो तर त्यसको अर्थचाहिँ भ्रष्टाचारलाई जोगाउन खोजेको जस्तो देखियो ।

शपथपछिको मन्त्रिपरिषद्को पहिलो बैठकमा प्रधानमन्त्रीले खासगरी भ्रष्टाचारका बारेमा जे भने त्यसको मूल आशय थियो देशमा भ्रष्टाचार छँदै छैन । मान्छेहरूका आग्रह मात्र छन् र त्यसले राम्रोसँग काम गर्न समेत दिइरहेका छैन । भ्रष्टाचार देख्नेहरूलाई प्रधानमन्त्रीले जण्डिस लागेको मान्छेजस्तो भनी उदाहरण दिए ।

उनका शब्द– कोभिड १९ का विरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा विभिन्न प्रकारले अस्वस्थ्य, अनुचित र तनावग्रत वातावरण बनाउने र जनतामा अन्योल सिर्जना गर्ने, निरासा पैदा गर्ने, सरकारका प्रयासहरूलाई ओझेलमा पार्न खोज्ने, प्रयासहरूलाई असफल पार्न खोज्ने, उचित प्रयासहरूलाई भ्रमपूर्ण ढंगले प्रचार गर्ने र जन्डिसको बिरामीले जस्तो जता पनि पहेँलो देख्ने, जता पनि भ्रष्टाचार देख्ने र काम गर्ने संस्था र व्यक्तिलाई पनि काम गर्न हतोत्साहित गर्ने प्रवृत्तिहरू भइरहेका छन्, यतिबेला पनि केही अस्थिरता चाहने र मुलुकमा शान्ति देख्न नचाहने तत्वहरूले लोकतान्त्रिक मूल्य मान्यताअनुसार संविधानन र कानुनबमोजिम देश चल्ने कुरालाई अस्वीकार गरेर आफ्ना स्वार्थमा केन्द्रित कुतर्क गर्छन्, मुलुकमा प्रतिगमन भएको छ र प्रतिगमनका विरुद्ध लड्न सबै एकजुट भएर लागौँ भनेर शान्ति कायम हुन नदिने, स्थिरता हुन नदिने र अस्थिरता र अशान्तिको एउटा भूमण्डल खडा गर्न खोज्ने प्रयासहरू भएका छन् ।

यतिबेला देशले मेलमिलाप र सुशासन खोजेको अवस्था हो । राजनीतिक खिचाातानीले धेरै समय खायो । कतिपय अवस्थामा त त्यो राजनीतिले नै महमामारी फैलाएको भन्नेसम्मका दृश्य पनि छन् । नेपाली जनताले खोप लाउन समयमा पाएनन् । खरिद गरिसकिएको खोप समयमा नआउनु र अब पनि आउने निश्चित नहुने कारणमा कमिशनको खेल थियो भन्ने कतै लुकेको छैन । महामारीको चरम अवस्थामा पुगेका बेला करिब–करिब दुई हप्ताजति देशमा अति राजनीतीकरण भयो प्रधानन्त्रीका कारण । प्रधानमन्त्रीले आफ्नो सत्ताका लागि विशेष अधिवेशन डाक्न लगाएको समय थियो यो ।

विशेष अधिवेशन त महामारीका विरद्ध हुनुपर्ने थियो । जे होस् यस्तैबेला प्रधानमन्त्रीले आफ्नो तेस्रो कालको शपथ लिए । यस्तो बेला वास्तवमा नै आम नागरिकले यस्ता प्रधानमन्त्रीबाट अपेक्षा गर्ने कुरा धेरै हुन्छन् । तर पहिलो दिन नै प्रधानमन्त्रीको कार्यकाल थालनी अरूप्रति कटुतापूर्ण रहेको देखियो ।

महामारीका सन्दर्भमा पछिल्लो समय पनि भ्रष्टाचारले आम नागरिकका सेवा सुविधामा नोक्सान पारिसकेको अवस्था हो । तर प्रधानमन्त्रीका भनाइ भने त्यो भ्रष्टाचारजन्य कामलाई जोगाउनेतर्फ केन्द्रित रहे । आग्रहजस्तो लाग्छ भने प्रधानमन्त्रीका माथिका शब्द फेरि पढौँ, त्यसमा प्रधानमन्त्रीको दृष्टिदोष आफैँ प्रस्ट होला ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया