Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयचिकित्सकीय परामर्शलाई खुला र व्यापक बनाऔँ

चिकित्सकीय परामर्शलाई खुला र व्यापक बनाऔँ


काठमाडौं ।
कोरोना संक्रमणको दोस्रो लहर यति तीव्ररूपमा फैलियो कि २४ घण्टामा मात्रै मृत्युदर करिब अढाई सयको हाराहारीमा पुग्न लाग्यो । मृत्युको सबैभन्दा उच्चदर त्यसबेला कायम भयो जुनबेला अस्पतालमा हम्मेसी शय्या नै नपाउने र पाएकाहरूले पनि अक्सिजन नपाउने भयो । अवस्था कस्तो भने अक्सिजनको अभावमा चिकित्सकै अगाडि मान्छे भुतुभुतु हुनथाले ।

अस्पतालको शय्या नपाउनु, शय्या भए पनि अक्सिजनको अभावले भर्ना नलिइनुजस्ता घटनाले एउटा साधारण संक्रमितका लागि यो कति भयावह अवस्था हो भन्ने वर्णन आफैँ हुन्छ । यहीबीचमा यता सरकारले करिब ९० प्रतिशत संक्रमितलाई अत्यावश्यक पर्ने अक्सिजनको जोहो आफैं गर्न भन्यो । सरकार अक्सिजन आफ्नो नियन्त्रणमा लिन्छ र साधारणलाई आफैँ जोहो गर्न भन्छ भने त्यो कस्तो कुरा हो उल्लेख भइरहनु नपर्ला । यस्तो बेला सबैभन्दा बढी मार होम आइसोलेसनमा बसेकाहरूले सहन प¥यो ।

अक्सिजनको अभावका कारण होम आइसोलेसनमा बसेकाहरूको मृत्युदर दिनको (उपत्यकामा मात्र) २० जनासम्मको रहेको पाइयो । यस्तै बेला एक जना चिकित्सक डा. अनुप सुवेदीले यो भयावहतालाई सकेसम्म कम गर्ने एउटा जानकारी सार्वजनिक गरिदिए– घरमा बस्दा वा भर्ना गरेर अन्य उपचार लिन नपाउँदा शरीरमा अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्ने भन्ने उपचारकोे विवरणसहित । सरुवा रोग विज्ञ तथा कोरोनाविरुद्धका अभियन्ता डा. सुवेदीको यो जानकारी कति लाभदायक रहेछ भने सामाजिक सञ्जालमा हजाारौँको संख्याले यसलाई पछ्याएका पाइयो । चिकित्सकीय परामर्शलाई खुला र व्यापक बनाउन कति आवश्यक रहेछ भन्ने यो एउटा उदाहरण पनि हो ।

यो ठाउँमा डा. सुवेदी आफैँले भनेका छन् कि असाध्यै जटिल बन्दै गएको परिस्थितिमा अस्पताल भर्ना गरेर उपचार गर्न नपाएर छटपटाइरहेका दर्जनौँलाई यसै गरी उपचार गर्न सल्लाह दिइरहनुपरेकोले अरू असंख्य मानिस यस्तै परिस्थितिमा भएको आकलन गर्दै, सायद नेपाल मेडिकल काउन्सिलका केही नियम तोड्दै, लेख्नै पर्ने भएकोले… ।

डा. सुवेदीले संक्रमितको शरीरबाट अक्सिजन घटेमा र अस्पताल भर्ना भएर उपचार सुरु गर्न नपाएको खण्डमा भन्दै सार्वजनिक माध्यमबाट सिफारिस गरेका औषधिको नाम हो स्टेरोइड । उनका अनुसार यो औषधि कोभिडको सबैभन्दा महत्वपूर्ण, प्राणदायी हो, यसमा खाने तरिका, मात्रा र साइड इफेक्ट तथा त्यसबाट जोगिने तरिका पनि उल्लेख छ ।

यो विवरण यो ठाउँमा उल्लेख हुनुको कारण हो संकटको यस्तो बेला र दिनैपिच्छे अकल्पनीय क्षति बढी रहेको अवस्थामा विज्ञहरूका यस्ता अनुभव आम तहमा पु-याउन र उपचार पद्धति जानकारीमा ल्याउन प्रेरित गरौँ । कतिपय अवस्थामा नैतिकताले दिँदैन भने त्यसलाई बदलौँ । मान्छेको जीवन जोगाउने काममा सकेसम्म सहयोग गर्नुभन्दा ठूलो नैतिकता अरु नहोला ।

यतिबेला मान्छेको सबैभन्दा ठूलो डर हो उपचार पाइँदैन कि भन्ने । राज्य चुकेको ठाउँ पनि यही हो । एक जना चिकित्सकले घाँटीमा रोकिन लागेको सास खोल्ने एउटा उपाय बताइँदिदा नैतिकता मिचिएकोमा माफी माग्नुपर्ने अवस्था आइपर्दोरहेछ । यद्यपि पछिल्लो समय चिकित्सक आफैँले प्रश्न सोधेका छन् राज्यसँग– के मैले गरेजति काम राज्य सञ्चालन गर्नेहरूले गरिरहेका छन ?

डा. सुवेदीले प्राणवायु घटेमा जो जहाँ भए पनि तत्काल थालिहाल्ने भनी दिएका जानकारी कति पीडितसम्म पुग्यो, कति लाभान्वित भए त्यसको हिसाबकिताब पछि हुँदै रहला । अस्पतालको शय्यामा रहँदा प्रयोग हुने औषधि नै घरमै बसेर सेवन गर्न पाइयो, अझ दूरसञ्चारबाटै चिकित्सकसँग परामर्र्श लिन पाइयो भने कोही किन अस्पताल जानै पर्छ र ? त्यसकारण डा. अनुपहरूले थालेका यो कामलाई राज्यले नै अभियान बनाउन आवश्यक छ । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया