Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमहामारी विस्तारमा प्रधानमन्त्रीमाथि औँला

महामारी विस्तारमा प्रधानमन्त्रीमाथि औँला


काठमाडौं ।
कोरोना महामारी थामिनसक्नु भएर अस्पतालमा समेत एउटाको मृत्यु भएपछि मात्र अर्कोले ठाउँ पाउने अवस्थाबाट गाुज्रिरहेको बेला पनि सरकारले संवेदनशीलता देखाएको पाइएन । प्रधानमन्त्रीबाट बल्ल स्वीकारियो सरकारी समन्वय हुन सकेन । यसको कारण थियो प्रधानमन्त्री आफैँले महामारीको भयावहताको महसुस नगर्नु । उनले सरकारले समन्वय गर्न सकेन भनी स्वीकारेपछि पनि अवस्था यथावत नै छ । त्यसको उदाहरण हो, अस्पतालले निकालेको सर्वसाधारणलाई उपचारमा जाँदा मृत्युपत्रमा सहीछाप गर्नुपर्ने अवस्था यथावत रहनु ।

अभिलेखमा रहने त्यो सूचनाको एउटा अंश यस्तो छ– कोभिड संक्रमित बिरामीका लागि अत्यधिक अक्सिजन आवश्यकता परेको, तर यस विषम परिस्थितिमा राज्यले प्रशस्त अक्सिजनको व्यवस्था मिलाउन नसकी अक्सिजनको चरम अभाव भएको हुँदा अस्पतालले पनि अक्सिजनको पर्याप्त मात्रामा व्यवस्थापन गर्न नसकेको, वार्ड तथा इमर्जेन्सीमा भएको बिरामीहरूलाई चाहिने मात्रामा अक्सिजन दिन नसकिरहेको अवस्थामा बिरामीहरूको ज्यान तलमाथि भएमा अस्पताल तथा कुनै पनि कर्मचारीहरू जवाफदेही हुनेछैन, जे–जस्तो छ, त्यसैमा उपचार गर्न तयार छु भनी सहीछाप गर्न मञ्जुर छु ।

कुनै पनि सभ्य समाजमा कुनै पनि अस्पतालले जीवन खोज्दै त्यहाँ पुगेको एउटा नागरिकलाई यस्तो बिरामीहरूको ज्यान तलमाथि भएमा जवाफदेही हुनेछैन भनी सहीछाप गराउने काम हुँदैन । तर यो ठाउँमा त्यस्तै भयो । तर पनि राज्य बोलेन । यसबारेमा प्रधानमन्त्रीले पनि कतै चासो देखाएनन् ।

प्रधानमान्त्रीले महामारीबारे आफ्नो ठम्याइ सार्वजनिक गर्दा अर्थात् आफ्नो गलत सोचाइका कारण निकायहरूले काम गर्दा समन्वय हुनसकेन भनी स्वीकार्दाको दिन वैशाख अन्तिमसम्ममा पाँच सयभन्दा बढीको ज्यान गइसकेको थियो । यसको जिम्मा कसले लिने ? मेरो बिरामीले अक्सिजन नपाएर मृत्यु भएमा जवाफदेही कोही पनि हुनेछैन भन्ने कागजमा औँठाछाप लगाउनुपर्ने बाध्यता राज्य चलाउनेहरूका लागि कुरीकुरी लाग्नुपर्ने विषय हो । त्यो काम जसले गरोस् परिणाम नागरिकका लागि राज्यविहीनताको अवस्था नै हो ।

सरकारले आफ्नो कमजोरी लुकाउन नागरिकहरूलाई अनुशासनको पालना नगरेको भन्ने आरोप लगाउँदै आएको छ । अघिल्लो हप्ता मात्रै प्रधानमन्त्रीले नै सीएनएनजस्तो टेलिभिजन च्यानललाई अन्तरवार्ता दिँदा सरकारले नियन्त्रणमा लिइसकेको महमामारी नागरिकले फैलाए भनी प्रत्यक्ष आरोप नै लगाएका थिए । तर अवस्थाचाहिँ उल्टो थियो । महामारी फैलाउने काम सरकारले नै गरेका उदाहरण छन् पछिल्ला दिनसम्म पनि ।

पछिल्लो समय तेस्रो पटक शपथ खाएर मन्त्रिपरिषद्को अध्यक्षता गर्दा प्रधानमन्त्रीले भनेका भनी जे कुरा बाहिर आयो त्यो झनै आपत्तिजनक थियो । नेपालमा कोभिड यसरूपमा बढ्छ भन्ने लागेकै थिएन, त्यसैले सरकारका थुप्रै कामहरूमा समन्वयको अभाव देखियो भन्ने प्रधानमन्त्रीको भनाइ आफैंमा सामान्य छैन ।

सरकारका थुप्रै कामहरूमा समन्वयको अभाव देखिएर मात्र स्थिति रोकिएन, यो समन्वयको अभावले पाँच सयभन्दा बढी मान्छेको ज्यान गयो । यसको दोष प्रधानमन्त्रीले बोक्नुपर्छ । महामारीको विषयमा आफ्नो प्रधानमन्त्रीकोे विश्लेषण र प्रक्षेपण गलत हुन्छ र त्यसले अकल्पनीयरूपको मानवीय क्षति गराउँछ भने त्यसको दण्ड प्रधानमन्त्रीले व्यहोर्नु पर्छ । नत्र उत्तरदायी शासनको अर्थ रहँदैन ।

कोभिड महामारीको दोस्रो लहर जति भयावह भएको छ त्यसको प्रमुख कारण पनि सरकार नै रहेको भन्ने अब धेरै उल्लेख गरिरहनु पर्दैन । जे–जे गर्दा अधिकाधिक जनता एकठाउँमा भेला हुन्छन्, भीड बढ्छ सरकारले त्यही–त्यही काम गरिरहेको छ पछिल्ला दिनसम्म पनि । धार्मिक जमघट र राजनीतिक भेटघाट बालुवाटार निवासका नियमित कामजस्तै भए ठूला–ठूला आलोचनाका बीच पनि । त्यसकारण पनि महामारी विस्तार हुने सन्दर्भमा प्रधानमन्त्रीमाथि औँला उठिरहेकै छ । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया