Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयदशैँ आयो, नाकाबन्दीले महँगी ल्यायो

दशैँ आयो, नाकाबन्दीले महँगी ल्यायो


काठमाडौं । देशमा चाडपर्व सुरु भयो । तर महँगीले बजारलाई तताइरहेको छ । यो बेला कतिपय अवस्था सरकारले सुपथ मूल्यका पसल पनि खोल्नेगरेको छ । तर त्यसको संख्यागत सीमितताले होला खासै प्रभावकारी भएको पाइँदैन । विगतका अनुभव यस्तै छन् । बजार अनुगमन भए र मूल्यमा कैफियत देखिए कडा कारबाही हुने हो भने पनि कम्तीमा अस्वाभाविकरूपमा मूल्य बढ्ने थिएन । तर सरकारले यता ध्यान दिएको छैन । इन्धनको मूल्यवृद्धिले पारेको प्रभाव यथावत छ । यसबीचमा इन्धनको अन्तर्राष्ट्रिय मूल्य तीन पटक घटिसकेको छ तर तर निगमको घाटा देखाएर मूल्य समायोजन नहुँदा बढेको मूल्य बढेको बढेकै अवस्थामा छ । यो एउटा दुखद पक्ष हो । यसले दशैलाई कस्तो असर पार्ला भन्ने स्पष्ट देखिइसकिएको छ । यही बीचमा केही सस्तो मानिने उत्तरतिरबाट आयात हुने वस्तु विनाकारण नाकाबन्दीमा परेर त्यो सस्तो बजारको लाभ पनि लिने अवस्था छैन । दशैँको मुखमा त्यो झनै कडा हुँदै गएको छ ।

चीनलाई नेपालको सहयोगी देश भनिन्छ । कम्युनिस्ट पार्टीहरूले त यो देशलाई आफ्नो माइती नै ठान्छन् भन्ने आरोप लाग्छ उनीहरूमाथि । तर सत्तामा दुई÷तीनवटा कम्युनिस्ट पार्टी र विपक्षमा पनि तिनै कम्युनिस्ट रहेका बेला त्यही छिमेकी देश चीनसँगको व्यापारिक नाका विनाकारण नै ठप्प छ तर यता कम्युनिस्टको यतिठूलो जमातले वार्तासमेत गर्न सकेको देखिएन । यता त्यो देशलाई देखाएर चुनावमा मत तान्ने कामचाहिँ सुरु भइसकेको छ । भर्खरै मात्र प्रमुख प्रतिपक्षी दलका एक वृद्ध नेतालाई आगामी चुनावमा प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दा चीनसँग नाका मागेको कारण देखाइएको थियो । चीनसँग व्यापारिक कारोबार हुने पूर्वदेखि पश्चिमसम्मका सबै नाका बन्द छन् । जानकार सूत्रका अनुसार रोकिएका ती नाका दशैँअघि खुल्ने संकेत देखिँदैन । कारोबारकर्ताहरूलाई यी नाका किन बन्द भए भन्ने जानकारी समेत हुँदैन । यताको भूमि उच्च वर्षामा छ । यो स्थितिले सम्पूर्ण विधि पूरा गरेर आयात गर्न लागिएका सामग्री पुनः प्रयोग हुन नपाउने गरी बिग्रन थालेका छन् । यसबारे न नेपाल न उताको पक्षले चासो देखाएको छ । यो काम सरकारबाट सहीरूपमा पहल नगरिएका कारण भएको हुनुपर्छ । व्यवसायीका अनुरोध चीनतर्फ सुनुवाइ हुँदैहुँदैन भन्ने अनुभव छ व्यापारीहरूको । चीनतर्फका दुई नाका रसुवागढी र तातोपानी प्रमुख व्यापारिक केन्द्र हुन् । यी नाका लामो समयदेखि अघोषितरूपमा नै एकतर्फी बन्द रहेका अवस्थामा छन् । कारण के हो बुझिएको छैन ।

वाणिज्य विभागका महानिर्देशकअनुसार दुई देशबीचको वाणिज्य सम्बन्ध कायम छ । त्यसकारण कारण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई नाकाबन्दबारे मौखिक जानकारी गराइरहिएको छ । तर मन्त्रालयले पनि के कारणले हो नाका खुलाउनेतर्फ खासै पहल गरेको पाइँदैन । यता चिनियाँ अधिकारीहरूको आवतजावत बाक्लो छ । केहीअघि विदेशमन्त्री आएका थिए भने केही दिनपछि प्रधानमन्त्री नै आउँदै गरेका जानकारी भएको छ । तर नागरिकका समस्या भने जस्ताका तस्तै अर्थात् सधैँ सुनुवाइविहीनमै गुज्रिरहेका छन् । चीनसँग नेपालको अनुरोधमा १० वटा नाका सञ्चालित थिए । तर यतिबेला ती सबै नै बन्द छन् । यीमध्ये कतिपय नाका त यस्ता छन् जो त्यस भेगका जनताको जीवनवृत्ति नै यसबाट चलिरहेका छन् । तिनै नाका बन्द भएपछि तिनका अवस्था के भयो होला सरकार आफैँले अनुमान गरोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया