Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयजुनसुकै निहुँमा अराजकताको राज नहोस्

जुनसुकै निहुँमा अराजकताको राज नहोस्


काठमाडौं । पछिल्लो समय विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा अराजकताको राज चलेको जस्तो देखिन थालेको छ । अवस्था कस्तो भने प्रधानमन्त्री नै प्रमुख रहेको त्यो संस्थामा प्रधानमन्त्री सभापति रहेको दलका विद्यार्थी संगठनले यस्तो अराजकताको राज ल्याए जसबाट जोगिन त्यहाँका पदाधिकारीहरूले सरकारसँग निजी सुरक्षा माग गर्न प-यो । प्राज्ञिक संस्थाका लागि यी परिदृश्यहरू निकै दुःखद हुन् । यद्यपि यी संस्था पनि त्यही रूपले चलेका छैनन् । बढी राजनीतिक चलखेल भएका कारण सधैँ विवादमा आउँदै गरेका थिए । केही समयअघि लगातार तीन वर्षका प्रश्नपत्रहरू दोहोरिरहँदा तिनको छानबिन र दोषीमाथि कारबाही गर्न माग हुँदा पनि केही भएन । त्यो आफन्तलाई जोगाउने सन्दर्भमा भएको थियो । जुनसुकै प्रकारका हुन् अराजकताले राज गर्न पाउनु हुँदैन भन्ने सन्दर्भमा यो कुरा पनि पटक–पटक उठ्ने गरेको छ । तर पछिल्लो समयको गतिविधिले भने गम्भीर प्रश्न खडा गरेका छन् ।

पछिल्लो समय त्रिवि कार्यकारी परिषद् बैठक बसिरहेको ठाउँबाट विद्यार्थीको समूहले कागजात नियन्त्रणमा लिएको भन्ने समाचार आयो । त्रिवि परिसरभित्र बैठक गर्न नसकेर यो बैठक होटेलको कक्षमा बसेको थियो । यसरी कागज कब्जा गरिएको विश्वविद्यालयका कुलपति अर्थात् प्रधानमन्त्री त्यही विद्यार्थी संघका पार्टी सभापति हुन् । उनले चाहेका खण्डमा यो संस्थाका जुनसुकै निर्णय उनीकहाँ आइपुग्छन् । त्यसो हो भने यसरी डकैती नै किन गर्नुप-यो भन्ने प्रश्न उठ्छ । विश्वविद्यालयका उपकुलपतिले सरकारसमक्ष लेखेको पत्रले पनि धेरै कुरा बुझाउँछ । पत्रमा भनिएको छ, ‘केही समूहको नामबाट तालाबन्दी गर्ने उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारलाई दैनिक फोन गरी धम्क्याउने, गाली बेइज्जती गर्ने, सडकको बीचमा बसी आक्रमण गर्ने शैलीमा प्रस्तुत हुने, प्रचलित कानुन र सामाजिक मर्यादाले पचाउन नसक्ने शब्दहरू उल्लेख गरी म्यासेज गर्ने, आफ्नै कार्यालय छिर्नबाट निषेध गर्नेजस्ता कार्य गर्ने र सोलाई निरन्तरता दिँदै आएका कारणले पदाधिकारी गम्भीर असुरक्षित भएको जानकारी गराउँदछु । अतः पदीय जिम्मेवारीले गर्दा दैनिक दिन कार्यालय र सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा समेत भौतिकरूपमा नै आक्रमण गर्ने सम्भावना भएकोले सो असुरक्षाबाट बच्नको लागि उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारलाई दुई–दुई जना निजी सुरक्षा अधिकृतको व्यवस्था गरिदिई शान्तिपूर्णरूपमा काम गर्ने वातावरण मिलाइदिनुहुन अनुरोध गर्दछु ।’

देशमा अराजकताको राज कसरी विस्तार हुँदै गइरहेको छ भन्ने यो एउटा पत्रको अन्तरवस्तुले बताएको अवस्थासम्म मात्र सीमित नहोला । यो भनेको सुरक्षा माग मात्रै हो । भोलि यो विस्तार हुँदै गएर एउटा प्राध्यापकले पनि त्यस्तै सुरक्षाविना कक्षाकोठामा नजाने वा जान नसक्ने अवस्था आयो भने स्थिति के होला भन्नेतर्फ सरकारले सोचोस् । अचम्म के भयो भने त्यस्तो अराजकता प्रदर्शन गर्नेहरूमाथि कुनै कारबाही भएन । त्यो अवस्था हप्तादिनसम्म नै कायम छ । त्रिविले यो कुरा सुटुक्क जनाएको होइन । पत्रकार सम्मेलन आयोजना गरेर अवस्था बताउन खोेज्दा पनि यस्तै आतङ्क मच्चाइएको थियो । प्राज्ञिक संस्था प्रहरीको सुरक्षाबाट मात्र चल्ने भयो भने अन्यत्रको अवस्था के होला अनुमान गर्न सकिन्छ । त्यसकारण भन्नै पर्छ जुनसुकै निहुँमा पनि अराजकताको राज नहोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया