Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी नियमप्रति हुवावेले आपत्ति जनायो

अमेरिकी नियमप्रति हुवावेले आपत्ति जनायो


चीन, जेठ ६
अमेरिकाले सेमिकन्डक्टर प्रविधि निर्यातसम्बन्धी आफूलक्षित नियम परिवर्तन गरेपछि हुवावेले विरोध गरेको छ। चिनियाँ प्रविधि कम्पनी हुवावेले अमेरिकी वाणिज्य विभागले गरेको उक्त नियम परिवर्तनको विज्ञप्ति जारी गर्दै विरोध गरेको हो । हुवावेलाई अमेरिकाले गत वर्ष मे १६ मा कालोसूचीमा राखेको थियो । त्यसलाई हुवावेले दोषविनाको सजाय भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त समयदेखि नै एउटा पनि औद्योगिक र प्राविधिक वस्तु हुवावेले पाएको छैन तर पनि हामी सबैजसो अमेरिकी नियम पालनामा प्रतिबद्ध रहँदै आएका छौँ ।’ उसले यसका बाबजुद पनि ग्राहक र आपूर्तिकर्ताको माग पूरा गरिरहेको जनाएको छ। अमेरिकी अवरोधका बाबजुद कम्पनी निरन्तर अगाडि बढिरहेको विज्ञप्तिमार्फत स्मरण गराइएको छ ।

अमेरिकाको पछिल्लो कदमले विश्वव्यापी औद्योगिक क्षेत्रलाई चुनौती थपेको हुवावेले जनाएको छ । नयाँ नियमले हुवावेले १ सय ७० देशमा सुरु गरेको अर्बौँ डलरको नेटवर्कसम्बन्धी कार्यहरुमा प्रत्यक्ष प्रभाव पार्ने जनाएको छ । नयाँ नियमले हुवावेको उत्पादन र सेवा लिइरहेका विश्वका ३ अर्ब जनसंख्याको सञ्चार सेवालाई पनि प्रभाव पार्ने कम्पनीले जनाएको छ । अमेरिकाले नेटवर्क सुरक्षाको नाममा कम्पनीविरुद्ध कदम चालेको भन्दै हुवावेले कडा विरोध गरेको छ ।

यसले विश्वकै सेमिकन्डक्टर उद्योगलाई प्रत्यक्ष प्रभाव पार्ने हुवावेले जनाएको छ । कम्पनीले भनेको छ, ‘यसले हुवावेलाई मात्र नभई अमेरिकामा रहेका प्रविधि र आपूर्ति प्रणालीलाई नै खतरामा पार्ने र अमेरिकी स्वार्थलाई धरापमा पार्नेछ ।’ हाल कम्पनीले नयाँ नियमको अध्ययन गरिरहेको बताएको छ । यसको उपयुक्त समाधान खोज्ने पनि हुवावेले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया