Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा सबै शैक्षिक संस्थाहरु खुल्ला

पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु खुल्ला


इस्लामावाद ।
कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सुचारु हुन थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस संक्रमित भएको पनि अधिकारीहरुले जनाएका छन् ।

सञ्चालन हुनथालेका विद्यालयमा सरकारी तथा निजी दुवै प्रकारका विद्यालय रहेको जनाइएको छ । सञ्चालन गर्न थालिएका विद्यालयमा विद्यालय सञ्चालनका क्रममा स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पलनामा भने अत्यन्त कडाइ गरिएको छ । त्यसैगरी मापदण्ड पर्याप्त रुपमा पालना भएको वा नभएको बारेमा अनुगमन गर्न विभिन्न संयन्त्र पनि परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

केन्द्रीय शिक्षामन्त्री शाफ्क्वात मोहमुदले विद्यालय बन्द हुँदा सबैभन्दा बढी प्राथमिक तहका विद्यार्थी प्रभावित भएको र अहिले खुलेपछि सबैभन्दा धेरै पनि उनीहरु नै आएको बताए । कोरोनाभाइरसको महामारीका बारेमा विश्लेषणात्मक अध्ययन गरी सरोकारवालाको सुझावका आधारमा विद्यालय खोल्ने निर्णय गरिएको पनि उनले जानकारी दिए ।

पाकिस्तानमा अहिलेसम्म कुल तीन लाख १२ हजार दुई सय ६३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । तीमध्ये सात सय ४७ जना पछिल्लो २४ घण्टामा संक्रमित भएको पनि राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो अवधिमा थप पाँच जनाको कोरोनाकै कारण मृत्यु भएको छ । योसँगै कूल मृतकको संख्या छ हजार चार सय ७९ जना पुगेको छ । पाकिस्तानमा अहिले पनि कोरोनाभाइरसको संक्रमणका कारण ४६७ जना गम्भीर अवस्थामा रहेका छन् ।

मन्त्रालयका अनुसार पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये दुई लाख ९६ हजार आठ सय ८१ जना अहिले पूर्णरुपमा संक्रमणमुक्त भइसकेका छन् । सरकारी अधिकारीहरुले पछिल्लो २४ घण्टामा ३२ हजार ३१ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएका छन् । पाकिस्तानमा अहिलेसम्म ३५ लाख १४ हजार दुई सय ३७ जनाको कोरोना परीक्षण गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया