Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपालका जाति, भाषा र संस्कृति – ३६

नेपालका जाति, भाषा र संस्कृति – ३६


शिरिष अर्ज्याल
नेपालको जातीय संरचना विविधखालको रहेको छ । भिन्नाभिन्नै संस्कृति भिन्नै पहिरन र फरक किसिमको संस्कृतिहरुले यहाँका भूगोल क्षेत्र र हावापानीअनुसारको अनुकूलतालाई बुझाउँछ । त्यति भए पनि विविधतामा एकताले यहाँको जातिहरुबीचको सद्भावलाई समेत दर्शाउँछ ।

यिनै विविधताको परिचय बोकेको हाम्रो नेपालको तराई क्षेत्रमा बसोबास गर्ने पिछडिएको जातिमा गनिन्छ बाँतर जाति भन्ने भनाइ छ । बाँतर जातिको बाँतर शब्द कसरी उत्पत्ति भयो भन्दा वान तर अर्थात् वन–तरबाट भएको हो बन भन्नाले वनजंगल र तरको अर्थ हो– सोझो व्यक्ति अर्थात् वन जंगलमा बस्ने सोझो व्यक्तिलाई वनतर भन्दाभन्दै बाँतर भन्न थालियो । यसैगरी एक किंवदन्ती वा कथनअनुसार वन जंगलका बाँदरहरुलाई पुज्ने गर्नाले वा बाँदरहरुलाई आफ्ना प्रतीक चिह्न मान्ने हुनाले बाँदरबाट बाँतर भए भन्ने छ । बाँतर जातिलाई धेरैले थारु जातिकै एक शाखा मान्छन् । तीमध्ये बाँतर जातिको इतिहास र संस्कृति आदिबारे अनुसन्धान गरेका विद्वान् एचएस रिसले पनि यस्तै विचारहरु वर्णन गरेका छन् । बाँतरजातिका मानिसहरुले भने आपूmहरुलाई थारु जातिको नभनी छुट्टै अस्तित्व र पहिचान भएका भिन्नै जातिका रुपमा चिनाउने गर्छन् ।

ब्रिटिश कालका भारतका अंग्रेज विद्वान्हरुका अनुसार यिनीहरुका मूल स्थान पर्वन वा पर्वान भन्ने ठाउँ हो । यी जाति भारतमा ब्रिटिश कालभन्दा धेरैअघि नै छिमेकी देश भारतको विहार राज्यको सहर्सा जिल्लास्थित ‘नारे दिगर’ भन्ने प्रगन्नामा बसाइँ सरी पछि मात्र सप्तरी जिल्लामा बसाइ सरेका हुन् भन्ने कुरा पूर्व प्र.म. स्व. मातृका प्र. कोइरालाले उल्लेख गरेका छन् ।

यी जाति योरङमा झोडालगायत वरपरका क्षेत्रहरुमा वन फँडानी गरी अघिदेखि नै बसोबास गर्दै आएको कोइरालाले उल्लेख गरेका छन् । जसमा यी जातिमा तीन उपजात हुन्छन् भन्दै रजबाँतर, ढोकवाल बाँतर र ढेडवाल बाँतर भनी उल्लेख गरेका छन् । पहिलो रजवाल बाँतरको पानी चल्ने गथ्र्यो तर ढोकेवाल र ढेढल बाँतरलाई पानी नचल्नेमा गणना गरिन्थ्यो भनी उनले उल्लेख गरेका छन् ।

बाँतरजाति पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै फैलिएको पाइन्छ । सप्तरी जिल्लामा यी जातिका मानिसहरुको बसोबास अत्यधिक रुपमा रहेको देखिन्छ । बाँतर जाति विभिन्न उप–समूह थर वा उपजातका रुपमा पाइन्छन् जुन उनीहरुका स्थान वा समूहलाई बुझ्न सकिन्छ । माझी बाँतर माछा मार्ने भन्ने बुझिन्छ भने यसैगरी सरदार बाँतर, धामी बाँतर, रजबाँतर, राजाको दरबारमा पहेरेदारी गरेकाले ढोके बाँतर, यसैगरी बाँत वा बातरहरुका नाइके भई बसेका सरदार बाँतर त्यसैमध्येका राजधामी बाँतर आपूmहरुलाई उच्च श्रेणीको बाँतर भनी मान्दछन् भने यीमध्ये पनि ढोके बाँतरहरुलाई सबैभन्दा प्राचीन पुराना बाँतर मानिएको छ ।

सप्तरी जिल्लातर्फ बसाइँ सरिआएका बाँतरहरुलाई सप्तरिया बाँतर भनी सम्बोधन गरिन्छ भने केही बाँतरहरु आफूहरुलाई भारत तर्फबाट बसाइँ सरी आएको पनि मान्छन् । यति भए पनि बाँतर जाति तराई मधेशका थारु जातिझैं आदिकालदेखि बसोबास गर्दै आएका तराईका पुरानाजातिमा गणना गरिन्छन् । पितृसत्तात्मक हिन्दू धर्मावलम्बी बाँतर जातिले अनेकौं देवी देवता र चाडपर्व मान्ने र मनाउने गर्छन् ।

पश्चिमका राना थारुहरुले झैं बाँतर जातिका महिलाहरुले पुरुषहरुलाई काम अह्राउने गर्छन् । घरका कार्य गरेपश्चात् बाहिरको पनि काम गर्नुपर्ने जिम्मेवारी पुरुषहरुको रहने गर्छ । यति भए पनि महिलाहरुलाई परिवारको मूलमा गनिँदैन । मुख्यतया पुरुषप्रधान मानसिकतामा बाँतर समाज चल्ने गरेकोले नै छोरी जातिको मात्र जन्म भइरहेको छ भने छोरा पाउन अर्को बिहे गर्न समेत बाँतर समाजले छुट दिइएको देखिन्छ ।

हिन्दूधर्म र संस्कृतिमा आबद्ध बाँतरजातिले सबैखाले हिन्दू देवदेवीको पूजा गर्ने गरे पनि नेपालका अन्य आदिवासी जातिहरुझैं प्रकृति र मूल प्रकृतिलाई समेत देवताका रुपमा मान्ने र पुज्ने चलन बाँतर जातिमा पाइन्छ । प्रकृतिपूजक यी जातिले चन्द्रमा र सूर्यलाई पनि आफ्नो देवता मान्छन् भने अन्य प्रकृतिका देवता भनी जंगल, जल, भूमि (माटो) ढुंगा आदिलाई समेत प्रकृतिका देवता भनी मान्ने र पुज्ने गरिन्छ । बाँतर जातिका गाउँमा एउटा देव स्थान भनेर स्थापित गरिएको हुन्छ । जहाँ वर्षमा एक पटक बाख्रा, च्याङ्ग्रा, बोका, हाँस, परेवा, बंगुर–सुँगुर आदि चढाउने गरिन्छ । देव स्थानमा कुनै ढुंगा, ढुंगे आकृति वा देवताको तस्बिर चिह्न हुने गर्दैन ।

बाँतर जातिका प्रमुख पर्वहरुमध्ये ‘सिरुवा’ भन्ने पर्वलाई विशेष श्रद्धा एवं धूमधामका साथ मनाइने गरिन्छ । वैशाख महिनाको नयाँ वर्ष आरम्भमा मनाइने यस पर्वलाई तराईका अन्य जातिले भनेझैं जडशीतल वा जादशीतल भनेर भन्ने गरिन्छ । गर्मीयाम सुरु भएकाले शरीर शुद्ध शीतल रहोस् गर्मीयाममा सर्ने वा फैलिने गरेका महामारी, रोग, व्याधिबाट बालकको रक्षा प्रभुले गरुन् भन्ने कामना समेत यस पर्वमा गर्ने गरिन्छ ।

बाँतर जातिमा हिन्दू धर्मअनुसारका तिथि चलन, चल्ने गरे पनि विभिन्न चाडपर्वहरु तराईका अन्य हिन्दू समुदायलेझैं मनाउने गरिएको पाइन्छ । यिनमा जितिया पर्वलाई यस जातिका मािनसहरुले विशेषतः असोज महिनामा मनाउने गर्छन् भने अन्य पर्वहरुमा विजयादशमी, चोरचांद (गणेश चौथी), विजया दशमीपछि पूर्णिमामा पर्ने पर्व ‘गोपाले’ आदि हुन् । यसैगरी दीपावली (तिहार) माघे संक्रान्ति, फागु पूर्णिमा, समेत यी जातिका मानिसहरुद्वारा मनाइने गरिन्छ ।

बाँतर जातिमा जन्मदेखि मृतयुसम्मका संस्कार सम्पन्न गर्ने गरिन्छ । बालक जन्मेको छैठौं दिनमा छटिहार गरिन्छ भने छठिहारअघि सुत्केरी आमा र बालकलाई कोठाबाट बाहिर निस्किन दिइँदैन । छटिहारका दिन भने बच्चा र आमा दुवैलाई स्नान गराई शुद्ध पारेर नामकरण वा न्वारान गरिन्छ । बालक छ महिना भएपश्चात् ‘छुकती’ भनेर सम्बोधन गरिने पास्नी गरिन्छ । छुकतीमा सबै मान्यजन तथा आमन्त्रित इष्टमित्र, आफन्तद्वारा बालकलाई दूध भात वा खिर आदि खुवाइन्छ भने आमन्त्रित पाहुनाहरुलाई भोज खुवाउँदा रक्सी अनिवार्य दिइन्छ ।

बाँतर जातिमा चार प्रकार विवाहलाई सामाजिक मान्यता दिइएको छ । देखासुनी विवाह, सहकर्ता विवाह, टिकावर विवाह र विधवा विवाह । देखासुनी विवाहमा विवाहयोग्य वरवधूका अभिभावकले एक जना लमी वा मध्यस्थता गर्ने व्यक्तिको माध्यमबाट केटा वा केटीले तथा अभिभावकले हेरी मञ्जुरी दिई गरिने विवाहलाई देखासुनी विवाह भनिन्छ । यस्तै बेहुला पक्ष बेहुली पक्षकहाँ विवाहको मिति निश्चित गर्न जाने विवाहलाई सहकर्ता विवाह भनेर भनिन्छ । यस विवाहअघि दुवै पक्षकाले दुवै पक्षका आमन्त्रितलाई भोज ख्वाइन्छ । यसपश्चात् विवाहको मिति तय गरी केटी पक्षकाले केटापक्षको घरमा मिठाइ, फलफूल र सगुनका रुपमा रुपैयाँ पैसा समेत दिइन्छ र वरपक्षकाले पनि उसैगरी मिठाइ फलफूल, पैसा पठाइसकेपश्चात् विवाहको मिति निश्चित गरिन्छ ।

अन्त्यमा निर्धारित मितिको शुभ साइतमा विवाह सम्पन्न गरिन्छ । यसैगरी ‘टिकावर विवाह’मा मितिको एक दिनअघि प्रातःकालमा (बेहुला पक्ष) जसलाई बाँतर जातिले न्यौला पक्ष भनी सम्बोधन गर्छन् सोही न्यौला पक्ष कन्या पक्षको घरमा विभिन्न लत्ता कपडा फलफूल मिठाइ गरगहना लिई आउँछन् । यसपश्चात् न्यौला पक्ष आफूहरुले नै लगेका सर सामानका साथ दही र केरा समेत लिई फर्केर आएपश्चात् विवाह हुने निश्चित भएको मानिन्छ ।

यस विवाहको संस्कार सम्पन्न गर्नुअघि बेहुला पक्षका महिलाहरुले आँपको रुख वरिपरि धानका भुटेका लावा, सिन्दूर र काँचो धागोले तीनपटक परिक्रमा गरेर बेर्दछन् । जसलाई ‘किदाकरती प्रथा’ भनेर भन्ने गरिन्छ । बेहुला पनि सोही आँपको वरिपरि उसैगरी अबिर लिई तीनपटक घुमेपश्चात् ‘आँप विवाहले गैले’ भनेर भनिन्छ जसको अर्थ हो ‘आँपसँग विवाह भयो’ । यसैगरी बेहुली पक्षको घरमा पनि बेहुलीद्वारा सोही विधि सम्पन्न गरिन्छ ।

बाँतर जातिमाथि उल्लिखित तीन प्रकारका विवाहबाहेक विधवा विवाहलाई समेत मान्यता दिई आइएको पाइन्छ । मोरङ, सुनसरी जिल्लातिरका बाँतर जातिले यसलाई ‘कृहा विवाह’ भन्छन् भने सप्तरी, सिरहा र उदयपुर जिल्लातर्फका बाँतर जातिले यसलाई ‘चुमौन’ भनेर सम्बोधन गर्छन् । यसमा पति वा लोग्ने मरेको विधवा आइमाईलाई सर्वप्रथम उसको देवरसँग विवाह गरिने प्रस्ताव राखिन्छ । देवरले वा विधुवा भाउजूले अस्वीकार गरेमा मात्र अन्यत्र विवाहको कुरा चलाइन्छ ।

बाँतर जातिका परम्परागत आफ्नै विधि नियम तथा सामाजिक संस्कारहरु पाइन्छन् । केटाले केटीसँग प्रेम गरी विवाह नभएका अवस्थामा केटीले केटाको घरमा गई विवाह गर्न सक्छन् । यसप्रथालाई घरढुकी प्रथा भनिन्छ । यो विवाह पद्धति वास्तवमा प्रेमविवाह नै हो । जसमा अभिभावकको भूमिका रहन्छ । अभिभावकको मञ्जुरी नरहेमा केटाकेटी स्वतन्त्रपूर्वक विवाह गरी जीवनयापन गर्न सक्छन् ।

बाँतर समाजमा ‘उदढी प्रथा’ पनि प्रचलनमा रहेको पाइन्छ । यसअनुसार विशेष अवस्थामा एउटी विवाहित महिला कुनै अविवाहित पुरुषसँग पोइल जाने अधिकारलाई यस समाजले उचित अनुचित छुट्याइसकेपश्चात् उचित लागेमा अनुमति दिइन्छ । यस्तो अवस्थामा महिलाका मातापिताले पूर्वपतिलाई वा पूर्वपतिका मातापितालाई दण्डस्वरुप हर्जना वा रकम अथवा केही बुझाउनुपर्छ । यस प्रकारको रकमलाई जारी रकम भनेर भन्ने गरिन्छ ।

बाँतर जातिको अन्तिम संस्कारमा मृत्यु संस्कार पर्छ । यो संस्कार समपन्न गर्दा अन्य हिन्दू सम्प्रदायहरुले झैं मृतक व्यक्तिलाई सेतोकात्रोले बेर्नुअघि स्नान गराएर घिउ राखी मलामीले ‘राम नाम सत्य है’ भन्दै घाटमा लगि जेठ पुत्रबाट मुखाग्नी दिई जलाउने गरिन्छ । यसपश्चात् मलामी फर्की न्वाही ध्वाही शुद्ध बनी किरिय पुत्रद्वारा किरिया बसी शुद्धी कार्य सम्पन्न हुन्छ ।

बाँतर जाति तराई मधेशका पुराना एक प्रमुख जाति हुन् । शैक्षिक अवस्था उत्तिको सुदृढ नभइसकेको यी जातिमा हिजोआज शिक्षाप्रतिको चेतना र जागरुकता बढ्दो छ । धेरै जना शिक्षित हुँदै केही सरकारी सेवातर्फ समेत आकृष्ट हुँदै गएको हामी देख्न पाउँछौं । नेपालमा पिछडिएका जातिमध्येमा गणना गरिएका यी जातिका आर्थिक अवस्था भने उत्तिसाह्रो सुदृढ नभइसकेको हामी देख्न सक्छौं ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x