Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालप्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटले सडक सोलिङ

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटले सडक सोलिङ


सुबास बस्नेत
दोलखा, असार ३१
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगतको बजेट जिल्लाका स्थानीय तहहरूले सडक सोलिङ गर्नमा खर्च गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सदुपयोग भएको छ । गत वर्ष कतिपय स्थानीय तहरूले उक्त कार्यक्रमको बजेट झार उखेल्ने, फोहोर टिप्नेलगायतका अनावश्यक काममा खर्च गरेका थिए ।

दोलखाका २ नगरपालिका र ७ गाउँपालिका गरी ९ स्थानीय तहहरूले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत ग्रामीण सडकलाई वर्षभरि सञ्चालनयोग्य बनाउनको लागि सोलिङलाई प्रमुख प्राथमिकतामा राखेका हुन् । उक्त रकमले हालसम्म जिल्लाभरिका करिब १८ किलोमिटर ग्रामीण सडकमा सोलिङ गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तरगत दोलखामा साढे तीन करोड बजेट विनियोजन भएकोमा ६५ प्रतिशतभन्दा बढि रकम सडक सोलिङमा खर्च गरेको पाइएको हो । रोजगार कार्यक्रम सुरु गरिसकेका जिरी र भीमेश्वर नगरपालिका तथा गौरीशंकर, बैत्यश्वर, तामाकोशी र विगु गाउँपालिकाले ग्रामीण सडकमा सोलिङलाई पहिलो प्राथमिकतामा राखेका हुन् ।

गौरीशंकर गाउँपालिकाका रोजगार संयोजक प्रभास जोशीका अनुसार गाउँपालिकाको ६ ओटा वडाअन्र्तगतमा साढे ३ किलोमिटर ग्रामीण सडकको सोलिङ कार्य सम्पन्न भएको छ । वैतेश्वर गाउँपालिकाले पालिका केन्द्र पुग्ने नाम्दु–पाँडुडाँडा–सुलडाँडा सडकको साढे ४ किलोमिटर सडक र वडा तहले वडा जोड्ने सडक सोलिङ गरेको गाउँपालिका सदस्य देवराज खत्रीले जानकारी दिए । खत्रीका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि आएको चार लाख ५१ हजार रकमले वडा न.३ मिर्गेले एक सय ७० मिटर सडक सोलिङ गरेको छ ।

वैतेश्वर गाउँपालिका ३ मिर्गेमा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ४४ जनाले प्रत्यक्ष रोजगार पाएको वडा नम्बर ३ मिर्गेका सचिव अमृत तामाङले जानकारी दिए । तामाङका अनुसार वडा नम्बर ३ मा चालू आर्थिक वर्षमा परेका वडास्तरीय २३ योजना सबै पूरा भएको छ । त्यसैगरी जिल्लाको तामाकोशी गाउँपालिकाले पनि ग्रामीण सडक सोलिङलाई प्रमुख प्राथमिकतामा राखेको छ । तामाकोशी गाउँपालिकाले गाउँपालिकाभित्रका वडामा दुई किलोमिटर सडक सोलिङ गरेको गाउँपालिकाका रोजगार संयोजक दिपेन्द्र कार्कीले जानकारी दिए ।

त्यसैगरी जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले नगरपालिकाले पदमार्गलाई प्राथमिकता दिएको भए पनि वडा नं. ४ मा तीन सय मिटर सोलिङ गरिएको बताए । विगु गाउँपालिकाले ६ ओटा वडामा प्रतिवडा २ सय मिटरको दरले सोलिङ गर्ने योजना बनाएको गाउँपालिकाका रोजगार संयोजक भीम थामीले जानकारी दिए । भीमेश्वर नगरपालिकाले पनि सोलिङलाई प्राथमिकता दिएर काम सुरु गरिसकेको तर सम्पन्न भइनसकेकोले यकिन तथ्यांक आइनसकेको सूचना अधिकारी जगदिश अर्यालले जानकारी दिए । जिल्लाको कालिञ्चोक, मेलुङ र शैलुङले कार्यक्रम सञ्चालन सुरु गरेको जनाएको छ ।

कालिञ्चोक गाउँपालिकाका इन्जिनियर नारायण शिवाकोटीले ग्रामीण सडक र नालालाई प्राथमिकता दिएर प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकरले प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ४ ओटा वडा छनौट भएको र सबै वडाका ग्रामीण सडक सोलिङ गरिने बताए । शैलुङ गाउँपालिकाले बागखोर–भैंसे सडकमा सोलिङका लागि बजेट विनियोजन भई काम सुरु हुने चरण रहेको पालिका अध्यक्ष भरत दुलालले जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाका ९ वटा स्थानीयले आफ्ना बेरोजगार नागरिकलाई समावेश गरेर रोजगार दिइरहेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x