Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालश्रीरामको जन्मस्थल ठोरी माडीको अयोध्यापुरी भएको अगुवाको दाबी

श्रीरामको जन्मस्थल ठोरी माडीको अयोध्यापुरी भएको अगुवाको दाबी


सन्तोष पौडेल
बीरगञ्ज, साउन २
त्रेतायुगमा भगवान् विष्णुको रामावतार पर्साको ठोरी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएपछि ठोरीबासी खुशीले गदगद भएका छन् । भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवासमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले मर्यादा पुरुषोत्तम रामको जन्म वीरगञ्जभन्दा पश्चिमतर्फ ठोरीमा भएको बताएका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई स्वागत गर्दै ठोरीबासीले राज्यस्तरबाट ओझेलमा परेको ऐतिहासिक एवं धार्मिक महत्वको स्थल ठोरीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबाट आफूहरू गदगद भएको ठोरी गाउँपालिका–१ का अध्यक्ष रामप्रकाश कुँवरले बताए । ‘हिन्दु धर्मावलम्बीहरूको लागि मर्यादा पुरुषको रूपमा स्थापित भगवान् रामको जन्मस्थलबारे विश्वव्यापीरूपमा खोज, अनुसन्धान चलिरहेकै बेला प्रधानमन्त्रीबाट यो खुलासा हुनु हिन्दुमार्गी सबैको लागि खुशीको कुरा भएको उनले बताए । ‘ठोरी नेपालकै वाल्मीकि आश्रमसँग जोडिएको क्षेत्र हो ।

चितवनको गर्दी–१ स्थित त्रिवेणीधाम वाल्मीकि आश्रमदेखि ठोरीसम्मको क्षेत्र वाल्मीकि ऋषिको तपस्याक्षेत्र हो । ठोरी वडा नं २ स्थित सुमेरु पर्वतको छेउ सरस्वती नदी किनारामा धार्मिक महत्वको सीता गुफा छ’, वडाध्यक्ष कुँवरले भने, ‘महर्षि वाल्मीकिले छोरी मानेको सीता मातालाई केही समय यही गुफामा राखेको जनविश्वास छ । यहाँ बस्दा सीता माताले पूजा अर्चना गरेको शिलाहरू पनि अझै अवशेषको रूपमा छन् ।’ ठोरीबस्ती स्थापनाको इतिहास १५० वर्षभन्दा पुरानो छ ।

बस्ती स्थापनाभन्दा पहिलेदेखि नै सीता गुफामा श्रद्धालु भक्तजनहरूले पूजा आराधना गर्ने गरेको ठोरीका ज्येष्ठ नागरिकहरू बताउँछन् । स्याङ्जा, तनहुँलगायत पश्चिम नेपालका यात्रु र पश्चिमी चम्पारण भारतका नागरिकले समेत जंगल अवस्थामै सीता गुफालाई पुज्ने गरेको इतिहास रहेको ठोरी–३ निवासी पूर्वभारतीय सैनिक रणबहादुरले बताए । वर्षौंसम्म ओझेलमा रहेको सीता गुफामा मन्दिर निर्माणका लागि हालै सम्पन्न ठोरी गाउँसभाले ७ लाख र पूजापाठको लागि डेढ लाख रुपैयाँ बजेट छुट्ट्याएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

नेपाली कांगे्रस जिल्ला कार्यसमिति पर्साका सदस्य प्रकाश खनालले प्रधानमन्त्रीको अभिव्यक्तिको स्वागत गर्दै आफूहरूको बाजेपुर्खाको पालादेखि ठोरी धार्मिक महत्वको स्थल हो भन्नेमा विश्वास रहेको तर राज्यबाट सधैँ पछाडि परेको बताए । भगवान् रामको जन्मस्थल ठोरी रहेको कुरा अब कानुनीरूपमा नै अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न उनले सरकारलाई अनुरोध गरे । उनले भने, ‘भगवान् राम हिँडेका, खेलेका, राज गरेका ठाउँहरू धेरै छन् । कालान्तरमा राम मन्दिरहरू पनि धेरै ठाउँमा बने । तर राम मन्दिर बन्नेबित्तिकै रामको जन्मस्थल भन्न मिल्दैन ।

रामायण र पुराणहरूमा उल्लेख गरिएका वर्णन ठोरी–माडी क्षेत्रसँग मिल्ने भएकाले रामको वास्तविक जन्मभूमि यसै क्षेत्रमा हो भन्न सकिन्छ ।’ मर्यादा पुरुषोत्तम रामसँग सम्बन्धित सबै ठाउँलाई जोडेर निर्माण हुने रामायण सर्किटमा ठोरीलाई जोड्न खनालले आग्रह गरे । विगत एक दशकदेखि आफू आध्यात्मिक चिन्तन र अनुसन्धानमा लागेको बताउने ठोरी–२ निवासी रामशरण लामिछानेले त्रेतायुगमा माता जानकी जनकपुरबाट जाँदा एक रात ठोरी क्षेत्रमा विश्राम गरेको किंवदन्ती रहेको सुनाए । भारतको अयोध्यामा भगवान् रामको जन्म भएको कुरा रामायणलगायतका धार्मिक शास्त्रहरूमा उल्लिखित लक्षण तथा चिह्नसँग नमिल्ने भन्दै उनले ठोरीको वडा नं १ सँग सीमा जोडिएको चितवनको माडीमा पर्ने अयोध्यापुरी नै वास्तविक अयोध्या भएको दाबी गरे ।

ठोरी–माडी क्षेत्र नै वास्तविक अयोध्या : मर्यादा पुरुषोत्तम रामचन्द्रको जन्मभूमि पर्साको ठोरी–माडी क्षेत्र भएको कुरा यस क्षेत्रका बासिन्दाहरूले पहिलेदेखि नै दाबी गर्दै आएको तर लामो समयसम्म कसैले ध्यान नदिएको यहाँका जानकारहरू बताउँछन् । तत्कालीन ठोरी गाविसका अध्यक्ष उद्धव सापकोटाले चितवन–नवलपरासीको त्रिवेणीधामको वाल्मीकि आश्रमलाई वास्तविक वाल्मीकि आश्रम र चितवन –तनहुँको देवघाटलाई वशिष्ठ ऋषिको आश्रम मान्ने कुरामा विश्वका हिन्दूबीच फरक मत नरहेको भन्दै वाल्मीकि आश्रम र देवघाट सत्य हो भने ठोरी–माडीको अयोध्यापुरी नै वास्तविक अयोध्या भएको
तर्क गरे ।

‘वाल्मीकि आश्रम र देवघाटको समदूरीमा अयोध्यापुरी छ । राम र लक्ष्मण शिकार खेल्न वाल्मीकि आश्रम क्षेत्रकै जंगलमा जान्थे । पछि लवकुशले पनि त्यही जंगलमा धनुषवाण चलाए । रामचन्द्र गुरु वशिष्ठकहाँ शिक्षा लिन डुंगा चढेर देवघाट जान्थे भन्ने तथ्यलाई विश्वास गर्ने हो भने ठोरी– माडी क्षेत्रको अयोध्या नै वास्तविक अयोध्या हो । पौराणिक र पुरातात्विक खोज, अनुसन्धान जरुरी छ ।’ यस क्षेत्रमा पुरातात्विक शिला, प्राचीन मूर्तिका अवशेषहरू प्रशस्तै पाउने गरेको उनले दाबी गरे ।

हाल चितवनको माडी नगरपालिकामा गाभिएको तत्कालीन अयोध्यापुरी गाविसका अध्यक्ष पूर्णभद्र पनेरुले आफ्नो क्षेत्रको नाम हाल कसैले राखेको नभई पौराणिक तथा ऐतिहासिक भएको बताए । ठोरीको छिमेकी गाउँ अयोध्यापुरीकै बासिन्दा उनले वाल्मीकि आश्रमदेखि ठोरी–माडी क्षेत्रको सुमेश्वर पर्वत मालामा रामायणसँग सम्बन्धित प्रशस्त धार्मिकस्थलहरू रहेको दाबी गरे । राजा दशरथले नुहाउने गरेको भनी विश्वास गरिएको वैकुण्ठ ताल, राम र सीताले आराम गर्ने रामसीता गुफालगायतका धार्मिकस्थल अयोध्यापुरीमा रहेको र उक्त स्थानमा विभिन्न तिथिमा भव्य पूजाआराधनासमेत हुँदै आएको बताए ।

महाभारतमा उल्लेख गरिएको अयोध्याबाट बग्ने सरयू नदी हाल माडी अयोध्यापुरी नजीकैबाट बग्ने रयु नदी भएको पूर्वअध्यक्ष पनेरुको दाबी छ । ‘सरयु’को ‘स’ लोप भएर ‘रयू’ भएको हुनसक्ने उनले बताए । पनेरुले रयु र राप्ती नदीबीचका केही उच्च स्थलमा हजारौं वर्ष पुराना वस्तुहरूको अस्तित्व केही वर्षअगाडि फेला परेको चर्चा गर्दै सोको अनुसन्धान र ठोरी–माडी आसपासका क्षेत्रमा उत्खनन तथा खोज, अनुसन्धान हुनुपर्ने जोड दिएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x