Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालचरीकोट–जिरी सडकखण्डमा कालोपत्रेको काम रोकियो

चरीकोट–जिरी सडकखण्डमा कालोपत्रेको काम रोकियो


सुबास बस्नेत
दोलखा, भदौ २५
लगातारको वर्ष र निषेधाज्ञाका कारण चरीकोट–जिरी सडकखण्डको काम प्रभावित बनेको छ । चैतदेखि चलेको लकडाउन र त्यसपछि दैनिक पर्ने झरीको कारण काम गर्न समस्या भएको चरीकोट–जिरी सडक निर्माण कम्पनीले जनाएको छ । चरीकोट–जिरी सडकखण्डअन्तर्गत ५५ किलोमिटर सडक विस्तार कार्य भइरहेको छ । उक्त सडकखण्डका परामर्शदाता प्रमुख इन्जिनियर राजेन्द्र भण्डारीले असारपछिको दुई महिनामा काम गर्न असहज भएको बताए । असारसम्म चरीकोटदेखि तामाकोसीसम्मको कालोपत्रे सक्ने लक्ष्य राखेको कम्पनी लकडाउन र झरीका कारण नौ किलोमिटरमा मात्र सीमित भएको छ ।

५५ किलोमिटर एउटै प्याकेजको ठेक्का रहेको यस खण्डको काम डेढ वर्षअघि मात्र सुरु भएको हो । अन्य ठाउँमा ग्याबिन, पुल, नाली, टेवा पर्खाल, कल्भर्टको काम मौसम सुधार हुँदा आंशिक रूपमा भइरहे पनि कालोपत्रेको काम भने ठप्प भएको उनले बताए । अन्य महिनामा २ प्रतिशतसम्म काम भए पनि हिजोआज शून्य दशमलव पाँच प्रतिशत पनि काम गर्न नसकिएको आयोजनाले जनाएको छ ।

आयोजनाले १९ महिनाको अवधिमा करिब ४३ प्रतिशत मात्र काम गरेको सडकका परामर्शदाता प्रमुख भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार लकडाउन र मौसम सुधार भएको भए आयोजनाले ६२ प्रतिशत काम सकिसक्नुपर्ने थियो । बन्दबन्दी र खराब मौसमको कारण सडकको काममा २१ प्रतिशत लस भएको उनले बताए । अहिले नाम्दुदेखि मैनापोखरी सडकखण्डमा सब बेसको काम भइरहेको छ ।

३५ वर्षअघि स्वीस सरकारको सहयोगमा निर्माण गरिएको सो सडकमा केन्द्रदेखि दायाँबायाँ ३० मिटर जग्गा मुआब्जा तिरेर सडकले आफ्नो स्वामित्वमा उही बेला ल्याएको थियो । अहिले भारतीय एक्जिम बैंकको ऋण सहयोगमा सडक विस्तार भइरहेको छ । निर्माण कम्पनीले चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक तीन चरणमा कालोपत्रे गर्ने तयारीका साथ काम गरिरहेको छ ।

सडक निर्माण गर्न एक्जिम बैंकले ३ अर्ब ७० करोड सहुलियत ऋण दिएको छ । उक्त सडक निर्माणका लागि लामा भारतीय कम्पनी उडहिल र नेपाली कम्पनी लामा कन्स्ट्रक्सनलाई जिम्मा दिइएको छ । दुई अर्ब २८ करोडमा निर्माण सम्झौता भएको यस खण्डमा नौ किलोमिटर सडक किरातिछापदेखि तामाकोसी हाइड्रोपावरको सडक मुखसम्म कालोपत्रे सम्पन्न भएको छ । त्यस्तै आठ किलोमिटर सडकमा दुईवटा बेस राख्ने काम भइरहे पनि लगातारको झरीले रोकिएको छ । सडक निर्माण सक्नुपर्ने अवधि करिब ३० महिना रहेको छ । चैतअघि पाँच सय कामदारलाई खटाएर काम गरेको कम्पनीले लकडाउनका कारण चार सय कामदार घर गएपछि काममा फर्किन नसकेको जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x