Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोरोनामा पनि मानव बेचबिखन बढ्यो

कोरोनामा पनि मानव बेचबिखन बढ्यो


धन बहादुर जप्रेल
कञ्चनपुर, भदौ २८
विश्वभर कोरोना महामारीले आक्रान्त भएको बेला नेपालमा भने मानव बेचविखनको जोखिम बढ्न थालेको छ । कोरोना कहरको समयमा झण्डै छ महिना बन्द रहेको कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीमा भारततर्फ जानेको संख्यामा वृद्धि भएसँगै मानव बेचबिखनको जोखिम बढ्नथालेको हो ।

पछिल्लो समय दैनिक स यौंको संख्यामा नेपालीहरु गड्डाचौकी नाका भएर भारततर्फ गइरहेका छन् । त्यही भीडमा घुसेर मानव बेचबिखनमा संलग्न दलालहरु पनि नेपाली चेलीहरुलाई भारतका विभिन्न सहरमा पु-याउनका लागि सक्रिय हुनसक्ने यस क्षेत्रका विज्ञहरुले बताएका छन् । सीमा क्षेत्रमा रहेका मानव बेचविखनका विरुद्ध काम गर्ने संघ/संस्थाहरुले दैनिक चेकजाँचमा कडाइ गरेका छन् । दुई दिनपहिले मात्रै गड्डाचौकी नाकाबाट एक जना महिलालाई भारत लैजान लागेको अवस्थामा रोकथाम गरी गृहजिल्ला बाँके पठाइएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन् ।

‘अन्य जिल्लाबाट कञ्चनपुरसम्म आइपुग्न जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहको सिफारिस प्रयोग गरिरहेका छन्’, उनले भनिन्, ‘सीमा पार गर्न भारतीय आधार कार्डको प्रयोग हुँदै छ ।’ आधार कार्ड नभएका कतिपय व्यक्तिका लागि भारतीय दलालहरुले नक्कली आधार कार्ड तयार पारेर सीमा पार गराउन सहयोग गरिरहेका छन् ।

भारतीय आधार कार्डमा सीमा पार गर्न मिल्ने भएपछि दलाललाई सजिलो भएको छ । ‘हामीले सीमा क्षेत्रमा शंकास्पद व्यक्तिलाई चेकजाँच गरिरहेका छौँ, नेपाली प्रशासनको सिफारिसमा आएकाहरुलाई समेत रोकेर घर पठाएका छौँ’, उनले भनिन्, ‘नक्कली भारतीय आधार कार्डले समस्या भएको छ ।’

उनका अनुसार दिल्ली, मुम्बईलगायतका सहरबाट मालिकहरु नै नेपाली लैजानका लागि आधार कार्ड ल्याएर गड्डाचौकी पुग्ने गरेका छन् । २०७७ भदौ १८ गते बैजनाथ गाउँपालिका वडा नम्बर–१ बाँकेको सिफारिसमा भारतको वनकोट जान लागेका तीन जनालाई भदौ २२ गते सोधपुछका क्रममा शंका लागेपछि गड्डाचौकीमा रोकिएको थियो ।

गाउँपालिकाको सिफारिसमा भारत जान लागेका एकै घरका तीन जनाको नाम र थरमा फरक परेपछि उनीहरुलाई नाकामा रोकेर घर पठाइएको थियो । गाउँपालिकाले सिफारिस गरेको कागजमा भएको नाम थर र उनीहरुको नागरिकताको नाम थरमा फरक परेको थियो ।

पछिल्लो समय बाँके, बर्दिया, चितवन, सिन्धुपाल्चोक, नुवाकोट लगायतका विभिन्न जिल्लाबाट आएका नेपाली गड्डाचौकी नाकाबाट भारततर्फ गइरहेका छन् । उनीहरुलाई पनि आवश्यक सोधपुछ पछि मात्र नाका पार गर्न दिइएको माइती नेपाल कञ्चनपुरकी संयोजक भट्टले बताइन् । सबैको ध्यान कोरोना महामारी नियन्त्रणमा केन्द्रित भएकाले दलालहरु बेचबिखनमा सक्रिय भएको उनको भनाइ छ ।

‘राज्यका सबै निकाय कोरोना नियन्त्रणमा लागेका छन्, अहिले मुख्य सीमा क्षेत्रमा मात्र चेकजाँच बढेको छ’, उनले भनिन्, ‘अन्य नाकाहरुमा ध्यान जान नसक्दा झनै जोखिम बढेको छ ।’ सरकारी निकायले समेत बेचबिखनका घटना हुन नदिन अझै सतर्कताका साथ काम गर्नुपर्ने उनको भनाइ छ । माइती नेपालले सन् २०२० को हालसम्म गड्डाचौकी नाकाबाट ७४ जनालाई रोकथाम गरी परिवारको जिम्मा लगाएको छ भने बेचबिखनमा परिसकेका तीन जनाको भारतको दिल्ली, हरिद्वार, लखनउबाट उद्धार गरेको छ ।

माइती नेपालको तथ्यांकअनुसार सन् २००३ देखि २०२० सम्म सीमा क्षेत्रमा दुई हजार आठ सय २३ जनालाई रोकथाम गरिएको छ भने बेचबिखनमा परेका एक सय ६० जनाको भारतको विभिन्न स्थानबाट उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने नक्कली आधार कार्डका आधारमा नेपालीहरु भारततर्फ गइरहेको विषयमा आफूलाई थाहा नभएको जानकारी दिएको छ ।

‘मानव बेचबिखनका घटना हुनसक्नेतर्फ हामी सचेत छौँ तर नक्कली आधार कार्ड प्रयोग भएकोबारे हामीलाई थाहा छैन’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘त्यस विषयमा पनि थप निगरानी बढाउँछौँ ।’ मानव बेचविखन जघन्य अपराध भएकाले यसमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिने विषयमा प्रहरी संवेदनशील भएको उनले बताए ।

मानव बेचबिखनमा संलग्न दलालहरुले कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीलाई ट्रान्जिट प्वाइन्टका रुपमा प्रयोग गर्दै आइरहेका छन् । गड्डाचौकीबाहेक कञ्चनपुरको बेलौरी र दोधाराचाँदनीको नाका समेत प्रयोग हुने गरेको छ । पछिल्लो समय मानव बेचबिखनमा संलग्न दलालहरुले देखावटी प्रेम र नक्कली विवाहको नाटक गरेर सीमा पार गर्ने गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका, विपन्न र अशिक्षित महिलाहरुलाई ललाइफकाइ गरेर दलालसम्म पु-याउने काममा पीडित व्यक्तिका नजिकका आफन्त समेत संलग्न भएको पाइएको छ । जनचेतनाको कमी र सामाजिक सञ्जालको दुरुपयोगका कारणले बेचबिखन न्यूनीकरणमा चुनौती थपिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x