Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालतामाकोसी गाउँपालिकाले सबै नागरिकको कोरोना बीमा गरिदिने

तामाकोसी गाउँपालिकाले सबै नागरिकको कोरोना बीमा गरिदिने


सुबास बस्नेत
दोलखा, भदौ २९
दोलखाको तामाकोसी गाउँपालिकाले गाउँपालिकाभित्रका सबै नागरिकहरूको कोरोना बीमा गरिदिने भएको छ । व्यक्ति, सहकारी र स्थानीय तहको लागत साझेदारीको आधारमा चालू आर्थिक वर्षमा तामाकोसी गाउँपालिकाले कम्तीमा १५ हजार नागरिककोे कोरोना बीमा गरिदिने भएको हो । शनिबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले सहकारी संस्थागत सहयोग तथा साझेदारी कार्यक्रमअन्तर्गत रहेको नौ लाख खर्च गरेर कोरोना बीमा गरिदिने निर्णय गरेको तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए ।

सो बजेटले नपुगे आकस्मिक कोषबाट रकमान्तर गरेर भए पनि सबै नागरिकहरूको बीमा गरिदिने अध्यक्ष पोखरेलले बताए । नागरिकको कोरोना बीमा गराउनका निम्ति कार्यपालिका बैठकले त्रिपक्षीय साझेदारी गर्ने भएको छ । बीमा कम्पनीहरूले एक लाख रूपैयाँको कोरोना बीमा गराउन छ सय रूपैयाँ शुल्क तोकेका छन् । उक्त शुल्कमध्ये तीन सय रूपैयाँ सरकारले लगानी गरिदिने घोषणा यसअघि नै गरिसकेको छ । बाँकी तीन सयमध्ये एक सय गाउँपालिका, एक सय पालिकाभित्रका सहकारी र एक सय स्वयं नागरिकले हाल्नुपर्ने मापदण्ड कार्यपालिकाले तय गरेको छ ।

‘छ सय रूपैयाँमध्ये नागरिकको बीमा गराउन तीन सय रूपैयाँ सरकार आफैँले हालिदिँदैछ’ गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले भने– ‘बाँकी तीन सय गाउँपालिकाभित्रका सहकारी, गाउँपालिका र स्वयं बीमा गराउने नागरिकले एक–एक सय हाल्ने गरी बीमा गर्न लागेका हौँ ।’ उनले बीमाका लागि मापदण्ड बनाएर प्रतिवडा कम्तीमा दुईदेखि तीनवटा कम्पनीहरूलाई जिम्मेवारी दिइने बताए । २०६८ को जनगणनाअनुसार १८ हजार जनसंख्या रहेको तामाकोसी गाउँपालिकामा हाल करिब २५ हजार जनसंख्या रहेको अनुमान गरिएको छ । त्यसमा कम्तीमा १५ हजार जनाले बीमा गर्ने गाउँपालिकाको अनुमान रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x