Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालविदेशमा कोरोना संक्रमणमा थप ४३ जना नेपालीको मृत्यु

विदेशमा कोरोना संक्रमणमा थप ४३ जना नेपालीको मृत्यु


काठमाडौं, भदौ २९
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ४३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले गत शनिबारसम्म कोरोनाका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या दुई सय ४३ पुगेको जनाएको छ । विभिन्न मितिमा मृत्यु भएका नेपालीहरुको कोरोना परीक्षण गर्दा गत साता ४३ जनामा संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । योसँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिहं राजपुतले जानकारी दिएको समितिले जनाएको छ । यसका साथै गत साता कतारमा पनि थप दुई जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ । स्वास्थ्य समितिका अनुसार गत साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरब लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ ।

समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण हालसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्विडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् । यसैगरी कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्किन नपाएका नेपालीको उद्धार कार्य जारी रहेको संघले जनाएको छ ।

हालसम्म ३० देशमा रहेका ६१ हजार सात सय १० जना नेपालीको उद्धार गरिएको छ । साउदीमा भने ६० शव अलपत्र परेको छ । साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले निधन भएका ६० जना नेपालीको शव नेपाल ल्याउन बाँकी छ । साउदी अरबका लागि नेपाली राजदूत राजपुतका अनुसार ती शव नेपाल ल्याउने प्रक्रियामा छन् । हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका तीन सय जना नेपालीहरुको शव नेपाल ल्याइएको छ ।

यस्तै गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाले विदेशबाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइन बस्न अनुरोध गरेका छन् । विदेशमा पीसीआर परीक्षण गराएर नै स्वदेश जाने भए पनि स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टाइनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन डा. सापकोटाले आग्रह गरेका हुन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x