Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालआर्थिक प्रलोभन इन्कार गर्ने ट्राफिक प्रहरीलाई सम्मान

आर्थिक प्रलोभन इन्कार गर्ने ट्राफिक प्रहरीलाई सम्मान


काठमाडौं ।
सवारी नियम उल्लंघन गर्ने चालक र सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी इन्कार गर्ने १७ जना ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखामा मंगलबार कार्यक्रम गरी ती ट्राफिक प्रहरीलाई एसएसपी भीम ढकालले टीका, दोसल्ला र प्रशंसापत्र दिएर सम्मान गरेका हुन् ।

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गरी सवारी नियम उल्लंघन गर्ने चालक, सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी इन्कार गर्नुका साथै त्यस्तो कार्यमा संलग्न चालक र सहचालकलाई नियमानुसार कारबाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गर्ने ट्राफिक प्रहरीहरूलाई सम्मानित गरिएको महाशाखाका प्रमुख एसएसपी ढकालले बताए ।

संगठनको छविलाई उच्च पारी आफूलाई दिइएको जिम्मेवारी इमानदारितासाथ निर्वाह गर्ने ट्राफिक प्रहरीहरुलाई प्रोत्साहन गरिएको उनले बताए । यसरी सम्मानित गरेपछि ट्राफिक प्रहरीबाट सम्पादन हुने कार्यमा पारदर्शिता र इमानदारिता देखिनथालेको महाशाखाले जनाएको छ । यसअघि पनि त्यस्ता कुनै पनि प्रलोभनमा नपर्ने ५० जना ट्राफिक प्रहरीलाई विभिन्न मितिमा पुरस्कृत महाशाखाले गरिसकेको छ भने सेवाग्राहीसँग आर्थिक प्रलोभनमा पर्ने तथा संगठनको नीति नियमविपरीत कार्य गर्ने ७७ जना ट्राफिक प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरेको छ ।

यस्तै चार जना कर्मचारीलाई नोकरीबाटै हटाइएको छ । महाशाखाले ट्राफिक प्रहरीको कार्यसम्पादनमा चुस्त दुरुस्त एवं पारदर्शिताको विषयमा कुनै कमी कमजोरी, लापरबाही तथा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजिकको ट्राफिक प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचीत गरिदिन पनि सर्वसाधारणमा अपिल समेत गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया