Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै महोत्तरी

मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै महोत्तरी


महोत्तरी ।
महोत्तरी जिल्ला विगत केही दिनदेखि नेपालबाट भारततर्फ मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । भारतसँग करिब १४ किलोमिटर खुला सिमानाका कारण जिल्लाबाट अहिले दैनिक सयौँ क्विन्टल मटर चोरी निकासी हुनेगरेको छ ।

सीमामा खटिएका सशस्त्र प्रहरी सीमा सुरक्षा बल, नेपाल प्रहरीको सीमा गस्ती टोली र सशस्त्र प्रहरी राजस्व गुल्मसमेतले अहिले दैनिक नेपालबाट भारततर्फ चोरी निकासी हुनेगरेको मटर जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिने गरेका छन् । छ महिनाभन्दा लामो लकडाउनका कारण जिल्लामा अवस्थित १३ वटै भन्सार नाका बन्द परेको अवस्थामा तस्करहरुले झोला, पोका र ठूल–ठूला बोरासमेतमा राखेर वन तथा खेतको बाटो हुँदै मटर तस्करी गर्ने गरेका छन् । सीमा नाकाका वन तथा खेतमा दैनिक मटर तस्करहरुको मेला लागेको देखिन्छ भने बाढी र वर्षाको पानीले डुबानमा पारेको स्थानबाट पनि ठूलो मात्रामा नै मटर पार हुनेगरेको सीमा नाकामा अवस्थित गाउँका बासिन्दाहरुको भनाइ छ ।

तस्करहरुले दिनको समयमा कम गतिविधि गरे पनि रातिको बेला रातभर सीमा नाकाको गाउँहरु हुँदै मटर तस्करी गर्ने गरेको र रातभरि ओहोरदोहोर गर्नेगरेको गाउँलेहरु बताउँछन् । यस विषयमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले प्रहरीले जानकारी पाएको खण्डमा कुनै पनि अवस्थामा तस्करीका सरसामान नियन्त्रणमा लिने गरेको तथा तस्करलाई समात्ने प्रयास भइरहेको बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया