Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहंगी नियन्त्रण गर्न आजदेखि घुम्ती सेवा पसल सञ्चालनमा

महंगी नियन्त्रण गर्न आजदेखि घुम्ती सेवा पसल सञ्चालनमा


काठमाडौं ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गरी बिहीबारदेखि सहुलियत मूल्यमा सामग्री पाउने गरी घुम्ती पसल तथा अनलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयका अनुसार विगत वर्षहरुझैँ यस वर्ष पनि नेपालीहरुको आसन्न चाड दशैं, तिहार र छठ पर्वहरुलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका देशभर रहेका कार्यालय, डिपो, डिलरहरुका साथै घुम्ती सेवा पसल एवं अनलाइनमार्फत उपभोक्तालाई सरल, सहज एवं सहुलियत मूल्यमा दैनिक उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरु चामल, चिनी, नुन, सिमी (गेडा), दाल, खसी/च्यांग्रालगायतमा देहायबमोजिम छुट दिई बिक्रीवितरण गर्ने भएको छ ।

उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथली, नख्ख, प्रयागपोखरी जावलाखेल, भक्तपुरका साथै घुम्ती सेवा पसल र अनलाइनमार्फत उपत्यकासहित अन्य ४९ स्थानहरुबाट र दुग्ध विकास संस्थानका आउटलेटहरु लैनचौर, न्यूरोड, खुमलटारका साथै तोकिएका अन्य स्थानहरुबाट सञ्चालन हुने मन्त्रालयकी प्रवक्ता उर्मिला केसीले बताइन् ।

‘महंगी नियन्त्रण गर्न तथा सर्वसाधारणको राहतको लागि घुम्ती सेवा पसल अघिल्ला वर्षहरुझैँ सञ्चालनमा ल्याउन लागिएको हो’, प्रवक्ता केसीले भनिन्, ‘पसल सञ्चालनसँगै कोरोनाको समयमा सर्वसाधारण बजारमा निस्किनुपर्ने बाध्यताबाट समेत मुक्त हुन्छन् ।’

घुम्ती तथा अनलाइनबाट सामग्री लिँदा उपभोग्य मूल्य नुन प्रतिकिलोग्राम १८ रुपैयाँ (प्रतिपरिवार चार किलोका दरले दिइने), चिनी प्रतिकिलोग्राम ७० रुपैयाँ (प्रतिपरिवार चार किलोका दरले दिइने), घ्यू प्रतिलिटर आठ सय ७० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी चामल, गेडागुडी दाल तथा खसी, बोका/च्यांग्रामा भने छुटको व्यवस्था गरिएको छ । जसअन्तर्गत चामल प्रतिकिलोग्राम पाँच रुपैयाँ, दालमा प्रतिकिलो पाँच रुपैयाँ, सिमी (गेडागुडी)मा प्रतिकिलोग्राम १० रुपैयाँ, फापर (गेडा) प्रति किलोग्राम पाँच रुपैयाँ, तीते फापर प्रतिकिलोग्राम पाँच रुपैयाँ र केराउ सेतो दाना प्रतिकिलोग्राम पाँच रुपैयाँ छुटको व्यवस्था गरिएको छ भने खसी, बोका/च्यांग्रामा भने प्रतिकिलोग्राम १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ । प्रवक्ता केसीका अनुसार घुम्ती पसल तथा अनलाइन बिक्रीवितरण भने मंसिर ६ गतेसम्म सञ्चालन हुनेछ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया