Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभारतीयहरूका लागि वीरगञ्ज बसपार्कबाटै बनाइन्छ नक्कली पीसीआर रिपोर्ट

भारतीयहरूका लागि वीरगञ्ज बसपार्कबाटै बनाइन्छ नक्कली पीसीआर रिपोर्ट


सन्तोष पौडेल
बीरगञ्ज ।
वीरगञ्ज बसपार्कमा भारतीय यात्रुहरूलाई गलत तरिकाबाट पीसीआर रिपोर्ट उपलब्ध गराइँदै आएको तथ्य खुलेको छ । सार्वजनिक यातायात सञ्चालनसँगै भारतीय यात्रुहरूको हकमा पीसीआर अनिवार्य गरिएकोमा अहिले वीरगञ्ज बसपार्कमा कार्यरत कर्मचारीहरूले गलत ढंगबाट पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको हो ।

वीरगञ्जमा पीसीआर परीक्षण नारायणी अस्पतालमा मात्र गरिन्छ । तर यात्रुहरूलाई बस काउन्टरमा कर्मचारीहरूले नक्कली पीसीआर रिपोर्ट थोरै पैसा लिएर उपलब्ध गराउने गरेको एकजना यात्रुले बताए । असोज १ गतेदेखि सञ्चालनमा आएको सार्वजनिक यातायातमा भारतीयहरूलाई अनिवार्यरूपमा पीसीआर रिपोर्ट हुनुपर्ने र नेपालीको हकमा नागरिकता लिएर यात्रा गर्नुपर्ने व्यवस्था गरिएको छ । वीरगञ्जबाट अहिले दैनिक काठमाडौँ, पोखरा, नारायणगढ जाने बसमा ८० प्रतिशत यात्रु भारतीय हुने गरेको पाइएको छ ।

वीरगञ्जबाट जाने यात्रुहरूलाई बस काउन्टरमा कर्मचारीहरूले नै नक्कली पीसीआर रिपोर्ट उपलब्ध गराउँछन् । नारायणी अस्पतालले भारतीयहरूको पीसीआर परीक्षण जिल्ला प्रशासन कार्यालयको आदेशमा रोकिएको बताएको छ । अस्पतालमा पीसीआर परीक्षण नभएको अवस्थामा भारतीय यात्रुहरूलाई रिपोर्ट उपलब्ध हुनुले गलत ढंगबाट पीसीआर जारी भइरहेको तथ्य उजागर भएको हो ।

यसैगरी सार्वजनिक यातायातअन्तर्गत वीरगञ्जबाट सञ्चालित बस, टाटासुमोका सञ्चालकहरूले सरकारले तोकेको भन्दा तीन गुणा बढी भाडा लिने गरेका छन् । सरकारले तोकिएको भाडादरमा पचास प्रतिशत थपेर सिट संख्याको आधा मात्र यात्रु ओसार्न अनुमति दिएकोमा अहिले दोब्बर–तेब्बर भाडा लिने र सिट संख्याअनुसार यात्रु राख्ने गरिएको पाइएको छ ।

सुरूका दिनमा बस र टाटासुमोले सरकारले तोकेअनुसारको सिटमा बढी भाडा लिएर यात्रुहरूलाई ठगेको थियो । तर असोज ५ गतेदेखि आन्तरिक उडान सुरू भएपछि विमानमा सिटअनुसारको यात्रु राखिएको कारण बस र टाटासुमोले पनि सिटअनुसार यात्रुहरू राख्न सुरू गरेका छन् ।

वीरगञ्जबाट काठमाडौँ सञ्चालन हुने टाटासुमोको भाडा पाँच सय ३० रुपैयाँँ रहेकोमा सरकारले पचास प्रतिशत वृद्धि गर्न अनुमति दिएपछि आठ सय रुपैयाँँ हुनुपर्नेमा एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँँसम्म लिने गरेको यात्रुहरूले गुनासो गरेका छन् । यसैगरी, बसले पनि तोकेको भन्दा बढी भाडा लिने र सिट संख्याअनुसार यात्रु ओसारिरहेको छ ।

विभिन्न स्थानमा प्रहरी, ट्राफिकले चेकजाँच गरे पनि उनीहरूलाई प्रभावित पारेर सेवा सञ्चालन भएको यात्रुहरूले गुनासो गरे । वीरगञ्जबाट काठमाडौँ, पोखरा, नारायणगढ, जनकपुरसम्म सबैभन्दा बढी बससेवा सञ्चालनमा छ भने देशभरिका विभिन्न स्थानमा पनि यहाँबाट बससेवा सञ्चालन हुनेगरेको छ । यात्रुहरूले चर्को भाडा र तोकिएको मापदण्ड पूरा नगरेकोमा स्थानीय प्रशासनलाई अनुगमन गरेर दण्डित गर्न आग्रह गरेका छन् ।

भारतीय मजदुरको पीसीआर टेस्ट हुन सकेन : वीरगञ्ज महानगरपालिकाको सहयोगमा असोज ४ गते बारा जिल्लाको एक सिमेन्ट कारखानामा कार्यरत दुई सय ९२ जना भारतीय मजदुरको स्वाब परीक्षण अहिले विवादको कारण भएको छैन । सङ्कलित स्वाब परीक्षण गर्ने कि नगर्ने विषयमा महानगरपालिका र नारायणी अस्पतालबीच विवाद भएकोले परीक्षण कार्य रोकिएको हो ।

केन्द्रीय सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार पीसीआर परीक्षण गराउन चाहने व्यक्तिले शुल्क आफैंले तिरेर परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ । तर वीरगञ्ज महानगरपालिकाका कर्मचारी खटेर बारा जिल्लाको सिमेन्ट उद्योगमा कार्यरत भारतीय मजदुरहरूको पीसीआर परीक्षण निःशुल्क हुनुपर्ने महानगरपालिकाको मागसँग नारायणी अस्पतालको मत बाझिएको कारण परीक्षण रोकिएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुरले भारतीय मजदुरहरूको पीसीआर परीक्षण निःशुल्क हुन नसक्ने बताएका छन् । जिल्ला सङ्कट व्यवस्थापन समिति पर्साले दुई दिन पहिले भारतीय नागरिकको पीसीआर परीक्षण गर्न रोक लगाउने निर्णय पनि गरेको उनले बताए । सो निर्णयअनुसार पनि भारतीय नागरिकहरूको स्वाबको परीक्षण गर्दा कानुनी अड्चन आउने मेसु डा. ठाकुरको तर्क छ । उनले यस सम्बन्धमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयको प्रतीक्षामा रहेको बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया