Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबतासे झरनाले फेरियो धारापानी, व्यवसायी बन्दै स्थानीय बासिन्दा

बतासे झरनाले फेरियो धारापानी, व्यवसायी बन्दै स्थानीय बासिन्दा


धन बहादुर जप्रेल
कञ्चनपुर ।
शुक्लाफाँटा नगरपालिका ८ स्थित चुरेमा बतासे झरना पर्यटकीय गन्तव्य बनेपछि धारापानीका स्थानीयले पसल सञ्चालनमा ल्याएका छन् । धारापानी गाउँ भएर बतासे झरना जाने पर्यटकका लागि पसल खोलिएका हुन् । अहिले धारापानी बस्तीमा आधा दर्जन पसल खुलिसकेका छन् । केहीका पसल सञ्चालनमा आउन बाँकी छन् । धारापानीबाहिरका पनि पसल खोल्न गाउँमा जाने गरेको स्थानीय बताउँछन् ।

धारापानीका स्थानीय साइमले धामीले बतासे झरनामा पर्यटक आउन थालेपछि पसल सञ्चालन गर्न थालिएको बताए । ‘त्यसअघिसम्म यो बस्तीमा एउटा मेरो मात्रै(त्यो पनि घर)मा मात्रै पसल थियो, अहिले त पाँच/छ ओटासम्म खुलिसकेका छन्, अरु पनि खुल्ने क्रम जारी छ ।’ बतासे झरना पर्यटकीय गन्तव्य बनेपछि धारापानी क्षेत्रमा जग्गाको भाउ समेत बढेको छ । स्थानीयका अनुसार पहिला हजार नपाइने जग्गा अहिले लाखमा पुगेको छ ।

‘यो जङ्गलको बीचमा यस्तो होला भन्ने त सोचेको थिएनौँ, एकाएक यस्तो भयो’ धामीले भने । धामीले दैनिकरूपमा बतासे झरना आउनेको भीड हुने बताए । बतासे झरनाको पर्यटन प्रवर्द्धनमा वडा अध्यक्ष बहादुर महरा सक्रियरूपमा लागेका छन् । धारापानी खोलामा बनेको झरनासम्म पुग्न वडा कार्यालयले सडकको ट्र्याक खोलिएको छ । धारापानी क्षेत्र पूर्व–पश्चिम राजमार्गको झलारीदेखि पाँच किलोमिटर उत्तरमा छ । धारापानी हुँदै झरनासम्म पुग्ने बाटो बनाइएको छ । यसअघि झरना पुग्न बाटोको समस्या थियो ।

बतासे झरनालाई स्थानीले निलताल पनि भन्ने गरेका छन् । स्थानीय तह निर्वाचनपछि अध्यक्ष महराले झरनाको प्रचारप्रसार गरी व्यापक बनाएका हुन् । त्यसअघि झरनाबारे स्थानीयबाहेक अरु कसैलाई पनि थाहा नभएको स्थानीय धामीले बताए । ‘गोठालो जाने र घाँस काट्न जानेले मात्रै झरनाको पानीमा नुहाएर फर्किन्थे,’ उनले भने, ‘अहिले त प्रचार भएर यस्तो भयो ।’ धारापानीमा २०२४ मा बस्ती बस्दा देखिएको झरना अहिले पनि त्यस्तै भएको स्थानीय बताउँछन् ।

झरना पर्यटकीय गन्तव्य बनेपछि स्थानीयले तरकारी, फलफूलसहित गाई भैँसी पालन समेत गर्ने सोच बनाएका छन् । ‘तरकारी, फलफूल सबै बिक्री हुन्छ, बेच्नलाई बाहिर नै जान पर्नेछैन’ स्थानीय धामीले भने । बतासे झरना नजिक वडा कार्यालयले धारापानी गाउँ नजिकैको खोला बगरमा पिकनिक स्पट र विश्रामस्थल बनाउने योजना अघि सारेको छ । ‘पदमार्ग र विश्रामस्थल निर्माणका लागि प्रारम्भिक लागत अनुमान(डीपीआर) बनाउने कार्य गरेपछि बजेटका लागि प्रदेश र केन्द्र सरकारलाई प्रस्ताव गर्छौँ’, उनले भने ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया