Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘स्वतन्त्र रूपमा मतदान गर्ने वातावरण बन्छ’

‘स्वतन्त्र रूपमा मतदान गर्ने वातावरण बन्छ’


दोलखा । जिल्लाको सुरक्षा प्रमुखको जिम्मेवारी समालेर मंगलबार दोलखा आएका जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख गंगाप्रसाद पौडेलले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र ढंगले भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण बनाउने बताएका छन् ।

डीएसपी पौडेलले समग्र जिल्लाको सुरक्षामा र आगामी स्थानीय तहको निर्वाचनमा यसअघिको निर्वाचनमा भएको जस्तो अनैतिक कार्य रोक्ने दाबी गरे । दोलखाका विभिन्न मतदानस्थलमा यसअघि विभिन्न राजनीतिक दलहरुले आफूअनुकूल बुथ कब्जा गर्दै आएका थिए । पौडेलले जिल्लाका नागरिकलाई स्वतन्त्ररूपमा मतदान गर्ने वातावरण बनाउने रणनीतिसहित आफू दोलखा आएको बताए । जिल्लामा यसअघिका निर्वाचनमा बुथ कब्जादेखि मान्छे मार्नेसम्मका गतिविधि भएकोले त्यसप्रकारका नकारात्मक कार्य रोक्ने उनको दाबी छ । यसअघि भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा दुई जनाको मृत्यु भएको थियो । माओवादी केन्द्रका कार्यकर्ताले एमालेका एक कार्यकर्ताको हत्या गरेका थिए भने प्रहरीको गोली लागी कांग्रेसका एक कार्यकर्ताको ज्यान गएको थियो ।

त्यसैगरी उनले जिल्लामा चोरी तस्करीका घटना बढ्दै भएको भन्दै त्यसलाई न्यूनीकरण गर्ने बताए । उक्त घटना निर्मूल पार्नको लागि सुरक्षा टोली बनाएर अनुसन्धानलाई तीव्रता दिने उनको भनाइ छ । जिल्लाका सहरदेखि गाउँसम्म हुने चोरी तस्करी रोक्न रातको समय प्रहरी गस्ती वृद्धि गर्ने उनले बताए । त्यसैगरी जिल्लाका सहकारी संस्थाहरुमा समेत चोरीका घटना बारम्बार हुनेगरेको पाइएकाले प्रहरीले यस्ता ठाउँ हुने चोरी रोक्न थप अनुसन्धान गरेर चोरीमा सामेल हुने गिरोहलाई खोजेर कारबाही गर्ने बताए । यस्तै तामाकोशी बगरमा हुने नदिजन्य पदार्थको तस्करी रोक्न पहल गर्ने, उत्तरी क्षेत्रमा निर्माणधीन र निर्माणसम्पन्न भएका आयोजको पुरानो सामग्री कवाडीमा तस्करी तथा चोरी गरेर लानेगरेको पाइएकाले त्यसलाई रोक्ने उनको भनाइ छ ।

पछिल्लो समय धेरै विद्यार्थी तथा मानिस लागूऔषध सेवनमा लागेको गुनासाहरु बढेकाले आगुऔषध सेवन, गाँजा सेवन रोक्न विद्यालय, क्याम्पसमा आगुऔषध नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने पनि उनले जानकारी दिए । त्यस्तै सदरमुकाम चरीकोट बजारलगायतका भट्टी पसल ९ बजेपछि बन्द गर्न लगाउने, ग्रामीण भेग र जिल्लाको पर्यटकीय स्थल कालिञ्चोक, शैलुङलगायतका ठाउँमा ओहोरदोहोर गर्ने निजी सवारीसाधनले मनलागी भाडा लिनेगरेको पाइएकाले सवारीको भाडादर तोक्ने बताए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x