Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमुक्तहलियाका लागि बनाएका घर प्रयोगविहीन

मुक्तहलियाका लागि बनाएका घर प्रयोगविहीन


कञ्चनपुर । मुक्तहलिया सुरक्षित आवास कार्यक्रमअन्तर्गत विसं २०७७ सालमा निर्माणसम्पन्न गरी हस्तान्तरण गरेका मुक्तहलिया बस्तीका घरहरू प्रयोगविहिन बनेका छन् ।

कन्चनपुरको पुनर्वास नगरपालिका–९, ख–गाउँमा अवस्थित उक्त हलिया बस्तीमा निर्माण भएका ४२ घरमध्ये ३० घर प्रयोगविहीन बनेका हुन् । बेरोजगारी, कमाएर खाने जग्गाजमिन टाढा हुनुजस्ता कारणले ३० घरपरिवारले निर्माण भएका घरहरूमा बस्नै छोडेको स्थानीय चन्द्र सुनारको भनाइ छ । उनले आफ्नो जग्गा नभएका कारण दैनिक मजदुरी गर्दै पाँच जनाको परिवारसँगै सो भवनमा बस्दै आएको बताए ।

सरकारले आवास मात्रै हैन हाम्रा समस्या हेरी रोजगारी तथा कुनै सीपमूलक कार्यक्रमको व्यवस्था गरिदिए आफूहरूलाई गुजारा गर्न सहज हुने सोही बस्तीमा बस्दै आएका एक जना अपाङ्ग व्यक्ति चन्द्र विकले बताए । ‘आफू र श्रीमती दुबै अपाङ्ग छौँ, दुई बच्चा छन्, न रोजगारी छ, न कुनै सीप नै जानेको छु’, उनले भने, ‘जमिन र घर भएकाहरू यस बस्तीमा बस्दैनन्, आफ्नो केही नहुँदा यसै घरमा बसेर ठूलो राहत मिलेको छ ।’

सरकारले हलियामुक्त समाज निर्माण गरेको बस्तीमा नगर र वडा कार्यालयले सडक, विद्युत्, खानेपानी र शौचालयको व्यवस्था गरेको वडाध्यक्ष नारायण जैशीले बताए । ‘स्थायी विद्युत् मिटर नगरपालिकाले प्रत्येक घरमा निःशुल्क जडान गर्न विद्युत् कार्यालयमा माग गरेको छ ।’ वडाध्यक्ष जैशीले भने, ‘बस्तीमा मान्छे बस्दै गए समस्या हेरी अन्य सुविधाका कुरा पनि थपिन्थे ।’ संघीय कृषि, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको एक करोड ७६ लाख ४७ हजार पाँच सय, हेविटाट फर ह्युमानिटी नेपालको ६२ लाख ८७ हजार, पुनर्वास नगरपालिकाको तीन लाख ३५ हजार, घरधुरी योगदान १३ लाख १७ हजार चार सय २० रूपैयाँ लागतमा निर्माणसम्पन्न भएको थियो ।

करोडौँ रूपैयाँ लगानीमा निर्माण भएका यी आवासका ढोकामा अहिले ताला लागेको देख्दा सरकारको उद्देश्य पूरा हुन नसकेको र प्रयोगविहीनले बस्तीको शोभा नै गुमेको प्रस्ट देखिन्छ । भवन प्रयोगविहीन किन भए ? उनीहरूलाई स्थायी बसाल्न के गर्नुपर्छ ? भन्ने विषयमा सम्बन्धित पक्षले एक पटक अध्ययन गरि समाधान गर्न जरुरी छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x