Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीको स्तरोन्नति

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीको स्तरोन्नति


काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको इमर्जेन्सी वार्डको स्तरोन्नति गरी अझ बढी सुविधासम्पन्न बनाइएको छ । इमर्जेन्सीमा आउने बिरामीहरुलाई थप सुलभ र अझ बढी प्रभावकारी ढंगले उपचार सुविधा उपलब्ध गराउन नयाँ–नयाँ मेडिकल उपकरणहरु तथा बेडहरुमा उल्लेख्य रुपमा वृद्धि गरिएको हो ।

प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार बिरामीहरुको चापलाई मध्यनजर गर्दै २० थान बेड तथा १५ थान ट्रली पनि थप गरिएको छ । साथै सिकिस्त तर भेन्टिलेटरको आवश्यक नपर्ने बिरामीहरुका लागि एचडीयू (हाई डिपेन्डेन्सी यूनिट) बेडहरु पनि जडान गर्ने योजना छ । यस्तै आवश्यकता अनुसार बेडको संख्यामा पनि वृद्धि गर्दै लगिने योजना रहेको उनले बताए ।

उनका अनुसार इमर्जेन्सीमा आउने बिरामीहरुको चाप आप्mनो क्षमताभन्दा सधैँजसो अधिक हुने गरेको छ । इमर्जेन्सी वार्डमा चिकित्सकहरुको कमी हुन नदिने उद्देश्यले थप चिकित्सकहरुको लागि विज्ञापन खोलिसकिएको पोखरेलले जानकारी दिए । यस्तै इमर्जेन्सीभित्रका आवश्यक स्थानहरुमा १० थान प्यासेन्ट मोनिटर पनि जडान गरिएको छ । यसले बिरामीको स्वास्थ्य अवस्थाबारे लगातार मोनिटरिङ गरी बिरामीको गुणस्तरीय उपचार गर्न थप सहयोग मिल्नेछ ।

साथै सिकिस्त बिरामीहरुका लागि डिफिब्रिलेटर, विपाप मेसिन, उच्च प्रवाह उपकरणजस्ता उपकरणहरु पनि थप गरिएको छ भने आपत्कालीन दुर्घटना कार्ट पनि थप गरिएको छ । इमर्जेन्सी ल्याबबाट दिइने सेवाहरुलाई अझ बढी दु्रत गतिमा उपलब्ध गराउने व्यवस्था गरिएको छ । इमर्जेन्सीमा आउने बिरामीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण परीक्षणहरु इमर्जेन्सी ल्याबबाट नै गर्न सकिने व्यवस्था पनि गरिएकोले विरामीले परीक्षणका लागि प्रतिष्ठान बाहिर जानु नपर्ने पोखरेलले बताए ।

बिरामीहरुलाई दबाब दिई वा विभिन्न प्रलोभन देखाई प्रतिष्ठानबाहिर परीक्षण गर्न पठाउने गरेको पाइएमा जोसुकैलाई पनि प्रतिष्ठानले कडा कारबाही गर्ने समेत उनले बताए । उनका अनुसार इमर्जेन्सीका बिरामीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण औषधिहरु पनि त्यहाँ रहेको फार्मेसीबाट सहजै उपलब्ध हुने व्यवस्था पनि गरिएको छ । इमर्जेन्सीमा सरसफाइमा विशेष ध्यान दिई सम्बन्धित कर्मचारीहरुलाई तदारुकताका साथ सरसफाइमा ध्यान दिन निर्देशन दिइएको उनले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x