Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालटेलिकमको चुक्ता पुँजी १८ अर्ब पु-याउने प्रस्ताव पारित

टेलिकमको चुक्ता पुँजी १८ अर्ब पु-याउने प्रस्ताव पारित


काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारणसभाले नेपाल टेलिकमको चुक्ता पुँजी १८ अर्ब पु-याउने प्रस्ताव पारित गरेको छ । काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहीबार सम्पन्न भएको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७ । ७८ को मुनाफा रकममध्येबाट सेयरधनीहरूलाई प्रत्येक एक सय कित्ता सेयरबराबर २० कित्ताको अनुपातमा बोनस सेयर र प्रतिसेयर २० रूपैयाँका दरले नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पुँजी १८ अर्ब पु-याउने प्रस्ताव पारित गरेको जनाएको छ । चौधौँ साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम बिहीबारदेखि नै सेयरधनीहरूलाई वितरण गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यस्तै उक्त सभाले आर्थिक वर्ष २०७७ । ७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित उक्त आबको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरूउपर छलफल गरी पारित गरेको छ । यसैैगरी साधारणसभाले महालेखापरीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिसबमोजिम आव २०७८।७९ को लागि कम्पनीको लेखापरीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट महेश गुरागाईं र चार्टर्ड एकाउन्टेन्ट पीयूष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजहरूको पारिश्रमिक तथा नियुक्तिका अन्य सर्तहरू निर्धारण गरेको छ ।

सभाका कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले कम्पनीको चौधौँ वार्षिक प्रतिवेदन पेस गरेका थिए । कोभिड–१९ को प्रतिकूल अवस्थामा पनि कम्पनीले ग्राहकलाई थप सहुलियत प्रदान गर्ने, जरिवाना मिनाहा गर्नेलगायतका कार्य गरेको जानकारी दिए । यस्तै आधुनिक दूरसञ्चार प्रविधिको प्रयोग गरी आफ्नो सेवालाई थप गुणस्तरीय बनाउन कम्पनी प्रतिबद्ध रहेको उनले बताए । कार्यक्रममा उनले आर्थिक वर्ष २०७७।७८ मा कम्पनीले कर तथा गैरकरबापत आफ्नो कुल आयको ५० प्रतिशतभन्दा अधिक रकम अर्थात् २७ अर्ब ७३ करोड रूपैयाँ राजस्व दाखिला गरेको जानकारी दिए । यस अवधिमा संस्थागततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको रूपमा नेपाल सरकारद्वारा सम्मानित भएको थियो ।

यस्तै उनले इन्टरनेटको बहुउपयोगमार्फत सूचना प्रवाहलाई सजिलो र प्रभावकारी बनाउनुको साथै इन्टरनेट सेवाको विस्तारमा ध्यान केन्द्रित गरिएको बताए । स्याटेलाइट प्रविधिको समेत प्रयोगद्वारा विकट हिमाली जिल्लाहरूमा वायरलेस तथा वायरलाइन सेवा उपलब्ध गराइएको उनको भनाइ छ । मुलुकभर अप्टिकल फाइबर विस्तार गर्नुका साथै बीटीएस तथा ट्रान्समिसन उपकरणहरू जडान गरी स्थानीय टेलिफोन सेवा, फोरजी एलटीई सेवा र एफटीटीएच सेवा विस्तार तथा वितरणमा तीव्रता दिइएको उनले बताए । नेपाल सरकारको सूचना महामार्ग निर्माणको लक्ष्यमा सहयोग पु-याउन कम्पनीले ब्याकबोन नेटवर्क, मल्टिपल क्रसबोर्डर अप्टिकल फाइबर नेटवर्क र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । नेपाल सरकारको नीतिअनुरूप स्थानीय तहको केन्द्र, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक क्याम्पसमा इन्टरनेट सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिनुका साथै स्थानीय तहहरूमा फोरजी सेवा विस्तार गरिएको उनले जानकारी दिए ।

कोभिड–१९ महामारीको समयमा पनि कम्पनीले विद्युतीय कारोबारमा सहयोग गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । सरकारले घोषणा गरेको बन्दाबन्दीका समयमा कम्पनीले सहुलियत दरमा विभिन्न प्याकेज उपलब्ध गराएको बताउँदै अध्यक्ष अर्यालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण, स्वास्थ्य, खेलकुद, शिक्षालगायतका क्षेत्रहरूमा निरन्तर सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे । उनका अनुसार उक्त आर्थिक वर्षमा कम्पनीको भ्वाइस सेवाको ग्राहक आधार ५ दशमलव ५७ प्रतिशत, जीएसएम सेवाको ग्राहक आधार १४ दशमलव २४ प्रतिशत, डाटा सेवाको ग्राहक आधार ३५ दशमलव ३१ प्रतिशतले वृद्धि भएको थियो । यस्तै कम्पनीको ब्रोडब्याण्ड डाटा सेवाको बजार हिस्सा ५ दशमलव १४ प्रतिशतले वृद्धि भई ५३ दशमलव ८२ प्रतिशत पुगेको उनले बताए ।

साथै उनले प्रविधिमा भएको विकास र परिवर्तनसँगै विश्वमै भ्वाइस सेवाको व्यापार क्रमशः डाटा तथा अन्य भ्यालु एडेड सेवामा रूपान्तरण हुने क्रममा रहेको र बढ्दो प्रतिस्पर्धाका कारण व्यापार प्रवर्द्धनको लागि प्रतिस्पर्धी मूल्यमा सेवा उपलब्ध गराउनुपर्ने बाध्यता विद्यमान रहेको अवस्थामा समेत कुल राजस्व र खुद नाफा क्रमशः ४२ अर्ब २१ करोड रूपैयाँ र सात अर्ब १३ करोड रूपैयाँ कायम गर्न कम्पनी सफल भएको बताए । उनका अनुसार मुलुकभर ७७ जिल्लाका सात सय २० भन्दा बढी स्थानीय निकायमा फोरजी/एलटीई सेवा उपलब्ध गराइसकेको र बाँकी स्थानमा छिट्टै यो सेवा विस्तार गर्नेगरी काम भइरहेको छ । उपभोक्ताको चाहनाबमोजिम गुणस्तरीय तथा भरपर्दो सेवा उपलब्ध गराउनु कम्पनीको प्रमुख लक्ष्य रहेको र यसका लागि डाटा सेवा, भ्यालु एडेड सेवालगायतका नवीनतम प्रविधिमा आधारित सेवाहरूको विकास तथा विस्तार गरिएको उनले बताए ।

उपभोक्तालाई सरल, सहज र सुलभ दरमा विविध सेवाहरू उपलब्ध गराउन तथा कम्पनीको राजस्व वृद्धि गर्न छिट्टै वायरलेस प्रविधिको फोरजी एलटीई विस्तार कार्यलाई पूर्णता दिई फाईभजी सेवाको परीक्षण गर्नेगरी कार्य अगाडि बढाइएको बताउँदै उनले ताररहित र तारसहित सेवाको विस्तार, अन्तर्राष्ट्रिय रोमिङ सेवाको विस्तार एवं वितरित सेवाहरूको गुणस्तर सुधारलगायतका कार्यहरूलाई तीव्रता दिइएको बताए । भ्वाइस सेवालाई डाटा सेवाले प्रतिस्थापन गर्दै लगेकाले डाटाको माग पूर्तिका लागि भ्यालु एडेड सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । डिजिटल अर्थतन्त्रको विकास र विस्तार गर्न सहयोग गर्ने क्रममा राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा मोबाइलमा आधारित वित्तीय सेवा उपलब्ध गराउन नेपाल टेलिकमको सहायक कम्पनीको रूपमा नेपाल डिजिटल पेमेन्टस कम्पनी स्थापना भई सेवा सुरु भइसकेको उनले बताए । साथै यस कम्पनीले इन्टरनेट सुविधा उपलब्ध नहुँदा समेत यूएसएसडी प्रविधिबाट डिजिटल भुक्तानी गर्नसक्ने मोबाइल एप्सको विकास गरी सञ्चालनमा ल्याएको छ ।

कम्पनीका सीडीएमए तथा वाईम्याक्स सेवातर्फका ग्राहकलाई फोरजी एलटीई सेवामा रूपान्तरण गर्ने र स्थानीय सेवातर्फ तामाको तारलाई फाइबर नेटवर्कले प्रतिस्थापन गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइएको उनले बताए । अध्यक्ष अर्यालले चालू आर्थिक वर्ष २०७८÷७९ मा कार्यान्वयन गरिने प्रमुख कार्यक्रम तथा आयोजनाको बारेमा समेत जानकारी गराएका थिए । साधारणसभामा करिब ९२ प्रतिशत सेयरधनीहरूको उपस्थिति रहेको थियो । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x