Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालराष्ट्र बैंकले वस्तु आयातमा नियन्त्रण गर्दा बजारमा नकारात्मक असर पर्नसक्ने

राष्ट्र बैंकले वस्तु आयातमा नियन्त्रण गर्दा बजारमा नकारात्मक असर पर्नसक्ने


काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्र बैंकले वस्तु आयातमा नियन्त्रण गर्दा बजारमा नकारात्मक असर पर्नेतर्फ सचेत हुन आग्रह गरेको छ । आयात बन्द हुँदा बजारमा कृत्रिम अभाव, मूल्यवृद्धिजस्ता समस्या सिर्जना गराउन सक्ने भएकाले सचेत रहन परिसंघले आग्रह गरेको हो ।

यस्तै परिसंघको प्रतिनिधिमण्डलले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई भेटी विद्यमान आर्थिक समस्या समाधानका लागि गम्भीर पहल गर्न अनुरोध गरेको छ । पछिल्लो समयमा निजी क्षेत्रले गम्भीर समस्याको सामना गरिरहनु परेको भन्दै परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन हालका समस्या समाधानमा ध्यान दिन उद्योग मन्त्रीको ध्यानाकर्षण गराएको हो ।

भेटमा परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवालले नियमनकारी निकायहरूबाट नियन्त्रणमुखी नीति जारी गर्दै आर्थिक गतिविधि संकुचित गर्ने काम भइरहेको बताए । यसले अर्थतन्त्रमा थप जटिलता सिर्जना गर्नेतर्फ सचेत रहन उनले आग्रह गरे । निजी क्षेत्रले तरलता अभाव, उच्च ब्याजदर, चालू पुँजी कर्जाको समस्या, वैदेशिक व्यापारमा नियन्त्रणको समस्या बेहोरिरहेको उनले जानकारी गराए ।

उपाध्यक्ष अग्रवालले नेपालको औद्योगीकरणमार्फत उत्पादन वृद्धि गर्नुपर्ने आजको आवश्यकता रहको भन्दै त्यसका लागि परिसंघले मेक इन नेपाल स्वदेशी अभियान अघि बढाएको जानकारी गराए । उनले यस अभियानको मुख्य उद्देश्य नेपालको औद्योगीकरण, रोजगारी सिर्जना, उत्पादन वृद्धि र नेपाली वस्तुको उपभोग अभिवृद्धिमा जोड दिनु रहेको बताए । भेटका क्रममा नवनियुक्त मन्त्री बडुले महत्वपूर्ण आर्थिक मुद्दाहरूमा सम्पूर्ण सरोकारवालाहरू एकै ठाउँमा हुनुपर्ने बताए ।

परिसंघसँगको भेटमा मन्त्री बडुले अर्थतन्त्रको विषयमा नियमनकारी निकायहरू अलग–अलग बाटो हिँड्न खोज्दा समस्या बढ्ने भन्दै सबै पक्ष एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘हामीले अहिलेदेखि नै सामूहिक प्रयास नगर्ने हो भने अर्थतन्त्रमा समस्या आउन सक्छ,’ उनले भने, ‘अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैंकसहित सबै निकायहरू एकै ठाउँमा हुनुपर्छ । निजी क्षेत्रलाई पनि साथमै लिएर अघि बढ्छौँ ।’

मन्त्री बडुले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने उल्लेख गरे । ‘अर्थतन्त्र निजी क्षेत्रले चलायमान बनाउने हो, सरकारको भूमिका तपाईँहरूका लागि सहजीकरण गरिदिने हो,’ उनले भने, ‘औद्योगिक वातावरण निर्माणका लागि निजी क्षेत्रलाई के आवश्यक छ हामीलाई जानकारी दिनुस्, सहयोग गर्न तयार छौँ ।’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा परिसंघका उपाध्यक्षहरू रोहित गुप्ता र राष्ट्रिय परिषद सदस्यहरू अमित मोर र सन्दिप कुमार शारदा र निर्देशक सविन मिश्रको उपस्थिति थियो । रिक्त उद्योगमन्त्री पदमा बिहीबार बडुको नियुक्ती भएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x