Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदेशभर १० हजार आठ सय ८८ मतदानस्थल

देशभर १० हजार आठ सय ८८ मतदानस्थल


काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनको लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थल कायम गरेको छ । मतदानस्थल तथा मतदानकेन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम आयोगले मतदानस्थलको पुनरावलोकन गरी देशभरका उक्त संख्यामा मतदानस्थल कायम गरेको हो । यसअघि देशभरका १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए । मतदानस्थल पुनरावलोकन गर्दा देशभरका चार सय एक मतदानस्थललाई हटाई नयाँ मतदानस्थल निर्धारण गरिएको छ ।

आयोगले मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको संख्या, सुविधा एवं सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी केही मतदानस्थल पुनरावलोकन गरेको हो । कार्यविधिमा भएको व्यवस्थाबमोजिम गत साउन १ गतेदेखि मतदानस्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरिएको आयोगले जनाएको छ । आयोगले मतदाताको सघनता, मतदानस्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत्, यातायातलगायतका पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाहरूको सहमति समेतका आधारमा जिल्ला मतदानस्थल तथा मतदानकेन्द्र सिफारिस समितिले गरेको सिफारिसबमोजिम मतदानस्थल पुनरावलोकन गरेको हो ।

जिल्लाभरका मतदानस्थल पुनरावलोकन हुँदा एक हजार एक सय २३ मतदानस्थलको त्रुटि सच्याइएको, साबिकका तीन सय ६५ मतदानस्थलबाट सबै मतदाता स्थानान्तरण गरी तीन सय ६४ मतदानस्थल निर्धारण गरिएको, एक सय ६३ मतदानस्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी एक सय ६९ मतदानस्थल निर्धारण गरिएको आयोगले जनाएको छ । साथै २८ वटा मतदानस्थलका सबै मतदातालाई २८ वटै मतदानस्थलमा र १५ मतदानस्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदानस्थलमा गाभिएको छ । मतदानस्थल पुनरावलोकन भएपश्चात् स्थानीय तहको निर्वाचन, २०७९ को समयमा मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिँड्नुपर्नेलगायतको गुनासो समेत सम्बोधन भई मतदातालाई मतदानस्थलसम्मको पहुँच सहज भई निर्वाचनमा मतदाताको सहभागिता अझ बढ्ने अपेक्षा रहेको आयोगले जनाएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया