Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअसहमतयही हो त प्रहरीको जनसेवा ?

यही हो त प्रहरीको जनसेवा ?


संयुक्त राष्ट्र संघीय सेवाबाट विश्राम लिएर काठमाडौंका एक रैथानेले आफ्नो निवासअगाडि ‘कफी सप’ चलाउन सिन्धुपाल्चोकका एक जना तामाङ थरका व्यक्तिलाई आफूले तयार पारेको संरचना दिएका छन् । उसले मेसिनहरू किन्न केही रकमको चेक दिएछ । तर, उसले कफी सप अहिलेसम्म चलाएन भने दिएको चेक पनि साटिएको छैन । उनले बाउन्स गरेर पक्राउ गरिदिन प्रहरीमा उजुरी दिएको पनि वर्षदिन बितिसकेको छ । तर, प्रहरीले भेटेको छैन भनेर टारिरहेको छ । उनले यही विषयमा आईजीपी बसन्त कुवरलाई पटक–पटक फोन गरेछन् तर उनले फोन उठाएनछन् ।

सिन्धुलीबाट बानेश्वर आएर घरजग्गा गरेर बसेका विजयकुमार थापाले चितवन रत्ननगर नगरपालिका वडा नं. १० मंगलपुरमा रहेको जग्गा दिन्छु भनेर परासीका चुँडामणि थापा, कर्णबहादुर राई, मनकुमारी राई, इन्द्रबहादुर पल्ली मगर, धनबहादुर सारु मगर, सूर्यमाया पुलामी मगर, यामबहादुर पुलामी मगर, पदमबहादुर सारु मगर, दरिसरा रेशमी, पृथीमा सिंजाली, तुलबहादुर राना र कृष्णकुमारी गुरुङ गरी १४ जनासँग कपाली तमासुक गरेर रकम उठाएर लिएछन् । २०७४ सालमा रकम लिएका विजय थापाले अहिलेसम्म उनीहरूलाई जग्गा दिएका छैनन् । रकम फिर्ता गरेका पनि छैनन् र भागीभागी हिँडेका छन् । हामी ठगियौँ, विजय थापालाई समातेर कारबाही गरिदिनुप¥यो भनेर उनीहरू निवेदन बोकेर एसपी कार्यालय नवलपुर पुगे, त्यहाँबाट उनीहरूलाई चितवनको जग्गा भएकाले चितवन जानू भनेर पठाइयो, चितवन पुगेर एसपीलाई भेटे, नवलपुर जानू भनेर फर्काइदियो । ती पीडितहरू चितवन र नवलपुर भौतारिरहेका छन् । प्रहरीले यता गए उता जा भन्छ, उता गए उता जा भनेर पन्छाउँछ तर निवेदन लिनै मानेको छैन । निमुखा गरिब किसान नराम्रोसँग ठगिएका छन् । उनीहरूसँग थापाले एक करोड १३ लाख रुपैयाँ ठगेर खाइदिएको छन् तर कारबाही गरिदेऊ भन्दा प्रहरीले उजुरी लिनै मानेको छैन् ।

गत वैशाख ३१ गते ज्ञानेश्वरमा रहेको एनआरके फिटनेसका सञ्चालक नवराज कार्कीलाई मालीगाउँमा रहेको प्रहरी वृत्तका डीएसपी अनिश कुमारले तुरुन्त वृत्तमा आउन आदेश दिए । बिसन्चो भएका कारण कार्की गएनन् । यसअघि डीएसपी कर्ण, टोलेगुण्डा कमल ढकाल, शुशील शिवाकोटीलगायत केही व्याक्तिबीचको सल्लाहअनुसार कार्कीलाई बोलाइएको रहेछ । कार्कीलाई बोलाएर धम्काउने, ‘बार्गेनिङ’ गर्ने र रकम झार्ने सहमति रहेछ । त्यो कुरा कार्कीले मानेनन्, विवाद बढ्दै गएपछि त्यो फायल काठमाडौं परिसर टेकुले तान्यो र कार्कीले सीडीओ कार्यालयमा शान्ति सुरक्षा गरिपाऊँ भनी निवेदन हाले । कार्कीको शान्ति सुरक्षा गरिदेऊ भनेर सीडीओ कार्यालयले टेकुमा पत्र पठायो, टेकुले त्यो पत्र मालीगाउँ पठायो । मालीगाउँ वृत्तले त्यो पत्रलाई धोती लगायो र उनीहरूले विप्लव माओवादी लगाएर साउन १७ गते एनआरके फिटनेस बन्द गरिएको पर्चा टँसाए ।

२०७६ सालमा चावहिलका सिग्देल थरको केटाले चितवनकी हिमा नामकी केटीसँग मागीविवाह गरेछन् । आफू विदेश जान्छु भनेर श्रीमतीलाई माइत पठाएछन् । आफूचाहिँ पूरै सम्पर्कविहीन बनेछन् । सोधखोज गर्दा गत असार ७ गते केटाको परिवार सम्पर्कमा आएछन् । असार ८ गते केटो पनि सम्पर्कमा आउँदा थाहा लाग्यो कि ऊ विदेश गएकै रहेनछ । अर्को बिहे गरेर छोरो जन्माइसकेको रहेछ । असार १० गते ती युवतीले कालीमाटीमा रहेको महिला सेलमा पुगेर बहुविवाहको मुद्दा चलाउन उजुरी दिइछन् तर गिरी थर भएकी इन्सपेक्टरले मिलापत्र गरेर पठाइदिइछन् । धनकुटा घर भई हाल ललितपुर महालक्ष्मी–३ इमाडोल बस्ने धनधोज मल्ल ठकुरीले केही व्यक्तिहरूले आफूलाई जिउँदै जलाएर मार्ने धम्की दिएकाले शान्तिसुरक्षा गरीपाऊँ भनी निवेदन दिएको ललितपुर प्रहरी परिसरमा ठ्याक्कै ६ महिना पुगिसकेको छ । तर, प्रहरीले जिउँदै जलाउन धम्की दिनेहरूलाई एक पटक बोलाएर सोधपुछ समेत गरेको छैन । धनध्वजले सार्वजनिक जग्गा मिचेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी हालेपछि ती मिचाहाहरूले संगठित भएर धनध्वजलाई जिउँदै जलाउने धम्की दिँदै आएका छन् ।

अन्जु खड्का कार्की र सगरमाथा आरोही निमा रोची शेर्पा लगभग नौ वर्ष सँगै बसेछन्, साझेदार बनेर कम्पनी चलाएछन् । दुई छोरीकी आमासँग वर्षौँ बसे पनि शेर्पाले आयुसा राईसँग बिहे गरेछन् । त्यसपछि अन्जुले कालीमाटीमा रहेको महिला सेलमा उजुरी गरिछन् । बहुविवाहमा मुद्दा चलाउन नमिल्ने भएपछि एकदम ‘ट्यालेन्ट’ बालेनपन्थी ती महिलालाई डीएसपी अनिलकुमार घिमिरेले साथ दिने सहमति बनेछ र शेर्पालाई तर्साएर यातना दिएर दुई करोड ५० लाख रुपैयाँको चेक कटाउने र त्यसैलाई प्रमाण बनाएर अघि बढ्ने सहमति भएछ । त्यही सहमतिअनुसार डीएसपी घिमिरेले शेर्पाकी श्रीमती आयुसा राईको नामको खाताको चेक कटाएछन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका सुरक्षा सचिवालयमा बसेको रवाफ लगाएर निर्बाध यस्ता कुकर्म गर्दै आएका घिमिरे अहिले अर्थमन्त्री प्रकाशशरण महतको खास मानिस बनेर काम सुचारु गर्दारहेछन् ।

गत शुक्रबार उनले दुईमहिने छोरोसहित आयुसालाई पक्राउ गरेर मेट्रो अस्पतालमा राखेर आइतबार परिसर पु¥याएका थिए । डीएसपी घिमिरेले गरेको अत्याचारविरुद्ध आईजी सचिवालयमा हालेको उजुरी पनि कागजको खोस्टो साबित भएको छ ।नेपाल प्रहरीले गरेका कुकर्मका यी केही प्रतिनिधिमूलक घटना मात्र हुन् । बर्दी लगाएपछि प्रहरीले जे गरे पनि हुन्छ भन्ने मानसिकता बढेको छ र पैसाका लागि प्रहरीले केही गर्न बाँकी राख्दैन भन्ने लगभग स्पस्ट भएको छ । प्रहरीले उद्धार गर्ला भनेर पीडितले उजुरी गर्छन् तर प्रहरीलाई त्यो उजुरी सम्पर्कको लिस्नो हुने र पीडकसँग मिलेर खानेगरेको देखिन्छ । प्रहरीले झर्ने ठाउँबाहेक केही हेरेन । तर, पनि जो–जति आईजीपी भएर आएका छन् ती कसैले पनि प्रहरीलाई जनताको सेवक बनाउने भनेर बाचा गर्न बिर्सिएका छैनन् । तर, प्रश्न उठिरहेको छ कि, यही हो प्रहरीको जनसेवा ?


क्याटेगोरी : समाचार, असहमत
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया