Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यापारघाटा आठ खर्ब ११ अर्ब

व्यापारघाटा आठ खर्ब ११ अर्ब


काठमाडौं । चालू आर्थिक वर्षको सात महिना (साउनदेखि माघ)सम्म व्यापारघाटा आठ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले तेस्रो मुलुकसँगको व्यापारमा सो घाटा व्यहोरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव ७७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको छ महिनामा व्यापारघाटा आठ खर्ब २५ अर्ब ७३ करोड करोड रुपैयाँ थियो ।

मुलुकमा आर्थिक गतिविधि चलायमान हुन नसक्दा बजार सुस्त हुनपुगेको थियो । जसले गर्दा उद्योग तथा व्यवसायमा लगानी गर्न लगानीकर्ता हच्किएको अवस्था रहेको थियो जसको असर आयात निर्यात व्यापारमा परेको देखिन्छ ।

सात महिनामा आठ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको वस्तु आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव ३१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सात महिनामा नौ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको आयात भएको थियो । यस्तै, चालू आर्थिक वर्षको सात महिनामा निर्यात जम्मा ८६ अर्ब ८३ करोड नौ लाख रुपैयाँको भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात प्रतिशतले कम हो । गत आर्थिक वर्षको सात महिनामा ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँको निर्यात भएको थियो ।

यो अवधिमा मुलुकले कुल निर्यातको तुलनामा १० दशमलव ३४ गुणा धेरै आयात गरेको छ । त्यस्तै कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १८ प्रतिशत र निर्यातको हिस्सा आठ दशमलव ८२ प्रतिशत छ ।

निर्यातजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन नसक्दा निर्यात व्यापार खुम्चिन पुगेकाले व्यापारघाटाले निरन्तरता पाउँदै आएको छ । नेपालको सबैभन्दा बढी व्यापारघाटा सीमा जोडिएका दुई मुलुक चीन र भारतसँग रहेको छ । विभागका अनुसार नेपालले एक सय ४१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्छ । जसमा एक सय १० भन्दा बढी मुलुकसँग व्यापारघाटा व्यहोर्दै आएको छ ।

समीक्षा अवधिमा भारतबाट पाँच खर्ब ५४ अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको छ भने नेपालबाट ५८ अर्ब ७२ करोड २७ लाख रुपैयाँको निर्यात भएको छ । भारतपछि सबैभन्दा धेरै व्यापारघाटा चीनसँग भएको छ । कुल व्यापारघाटामा चीनसँगको हिस्सा १९ प्रतिशत छ । सात महिनामा चीनसँग एक खर्ब ७१ अर्ब २३ करोड रुपैयाँको व्यापारघाटा भएको छ । चीनबाट नेपालमा एक खर्ब ७३ अर्ब नौ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ भने नेपालबाट एक अर्ब ८५ करोड रुपैयाँको निर्यात भएको छ । विभागका अनुसार भारत र चीनपछि व्यापारघाटा धेरै हुने मुलुकमा यूएई, यक्रेन मलेसिया, अष्ट्रेलिया, फ्रान्सलगायतका दर्जन मुलुक रहेका छन् । यूएइसँग १४ अर्ब ११ करोड रुपैयाँ, युक्रेनसँग ११ अर्ब ७१ करोड रुपैयाँ, मलेसियासँग १० अर्ब २८ करोड रुपैयाँ र अष्ट्रेलियासँग सात अर्ब ७१ करोड रुपैयाँको व्यापारघाटा नेपालले व्यहोरेको छ ।

आठ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ आयात व्यापार रहेकोमा सबैभन्दा धेरै परिणाममा आयात हुने सामग्रीहरूमा डिजेल, पेट्रोल, खाना पकाउने (एलपी) ग्यास, फलाम तथा स्टिलजन्य सामग्री, मोबाइल, सुन, हवाई इन्धन र तेलजन्य पदार्थ रहेका छन् । समीक्षा अवधिमा डिजेल, ७७ अर्ब ४१ करोड रुपैयाँ, पेट्रोल ३८ अर्ब ८२ करोड रुपैयाँ, एलपी ग्यास ३० अर्ब ३१ करोड रुपैयाँ, फलाम तथा स्टिलजन्य सामग्री २१ अर्ब ६१ करोड रुपैयाँ, मोबाइल १७ अर्ब ३८ करोड रुपैयाँ, सुन १२ अर्ब ९५ करोड रुपैयाँ, हवाई इन्धन ११ अर्ब ९८ करोड रुपैयाँबराबरको आयात गरिएको छ । त्यस्तै समीक्षा अवधिमा भटमास ११ अर्ब नौ करोड, विद्युतीय सवारीसाधन नौ अर्ब ५८ करोड रुपैयाँ, सूर्यमूखी नौ अर्ब ५७ करोड रुपैयाँ, रासायनिक मल आठ अर्ब ७७ करोड रुपैयाँ र पाम सात अर्ब ४६ करोड रुपैयाँबराबरको आयात गरिएको छ । आयातित सामग्री डिजेलबाट २९ अर्ब ६९ करोड रुपैयाँ, पेट्रोलबाट २२ अर्ब ३८ करोड रुपैयाँ, एलपी ग्यासबाट पाँच अर्ब ६५ करोड रुपैयाँ, फलाम तथा स्टिलजन्य सामग्रीबाट दुई अर्ब ८८ करोड रुपैयाँ र मोबाइलबाट तीन अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ ।

विभागका अनुसार सबैभन्दा धेरै आयात वीरगन्ज, भैरहवा, सुक्खा बन्दरगाह, विराटनगर, त्रिभुवन विमानस्थल, नेपालगन्ज, रसुवा र मेचीलगायतका भन्सार कार्यालयबाट भएको छ । समीक्षा अवधिमा वीरगन्ज तीन खर्ब पाँच अर्ब ३२ करोड रुपैयाँ, भैरहवा एक खर्ब ३६ अर्ब ६८ करोड रुपैयाँ, सुक्खा बन्दरगाह एक खर्ब २१ अर्ब ७३ करोड रुपैयाँ, विराटनगर ९७ अर्ब ४९ करोड रुपैयाँ, त्रिभुवन विमानस्थल ८० अर्ब ३९ करोड रुपैयाँ, नेपालगन्ज ३९ अर्ब ९१ करोड रुपैयाँ, रसुवा ३२ अर्ब ५६ करोड रुपैयाँ र मेचीबाट २४ अर्ब ५२ करोड रुपैयाँको आयात व्यापार गरिएको छ । त्यस्तै सोही अवधिमा तातोपानी १९ अर्ब ८४ करोड रुपैयाँ, कैलाली १२ अर्ब ६३ करोड रुपैयाँ र कृष्णनगरबाट ११ अर्ब ७७ करोड रुपैयाँको आयात व्यापार गरिएको छ ।

साउनदेखि माघसम्म ८६ अर्ब ८३ करोड नौ लाख रुपैयाँको निर्यात व्यापार भएकोमा सबैभन्दा धेरै गलैँचा, अलैँची, फलाम तथा स्टिलजन्य सामग्री, जुस, पाम तेल, जुटजन्य सामग्री, चिया, यार्नलगायतका सामग्री रहेका छन् । समीक्षा अवधिमा गलैँचा छ अर्ब सात करोड रुपैयाँ, अलैँची चार अर्ब ४४ करोड रुपैयाँ, फलाम तथा स्टिलजन्य सामग्री चार अर्ब २१ करोड रुपैयाँ, पाम तेल तीन अर्ब १५ करोड रुपैयाँ, जुस तीन अर्ब तीन करोड रुपैयाँ, फेल्ट दुई अर्ब ५७ करोड रुपैयाँ, जुटजन्य सामग्री दुई अर्ब ४८ करोड रुपैयाँ, चिया दुई अर्ब १७ करोड रुपैयाँ र यार्न दुई अर्ब चार करोड रुपैयाँबराबरको निर्यात भएको छ । निर्यात व्यापार गर्ने भन्सार कार्यालयहरूमा सबैभन्दा धेरै क्रमशः त्रिभुवन विमानस्थल, विराटनगर, वीरगन्ज, मेची, भैरहवा, जलेश्वर र सुक्खा बन्दरगाह रहेका छन् ।

त्रिभुवन विमानस्थलले २० अर्ब १३ करोड रुपैयाँ, विराटनगरले १७ अर्ब ८६ करोड रुपैयाँ, वीरगन्जले १६ अर्ब ७६ करोड रुपैयाँ, मेचीले १६ अर्ब ७६ करोड रुपैयाँ, भैरहवाले सात अर्ब ७३ करोड रुपैयाँ, जलेश्वरले दुई अर्ब ९३ करोड रुपैयाँ र सुक्खा बन्दरगाहले दुई अर्ब ४२ करोड रुपैयाँको निर्यात व्यापार गरेको छ । त्यस्तै कृष्णनगरले एक अर्ब ३६ करोड रुपैयाँ र रसुवाले एक अर्ब २७ करोड रुपैयाँको निर्यात व्यापार गरेको छ । समीक्षा अवधिमा कुल वैदेशिक व्यापार नौ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँबराबरको रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापारमा दुई दशमलव ७५ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा वैदेशिक व्यापार १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा आयात व्यापारबाट भने दुई खर्ब ३६ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ ।

बीमाको दायरामा आएको जनसंख्या पोहोरभन्दा यसवर्ष घटेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षमा बीमाको दायरामा आएको जनसंख्या एक दशमलव दुई प्रतिशत विन्दुले घटेको छ । गतवर्ष पुसमा कुल जनसंख्याको ४४ दशमलव २५ प्रतिशत बीमाको दायरामा भएकामा यसवर्ष पुस मसान्तमा ४३ दशमलव शून्य पाँच प्रतिशत जनसंख्या मात्रै बीमाको दायरामा रहेका छ । यसमा म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख समेत समावेश गरिएको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

एक वर्षअघि एक करोड ४१ लाख नौ हजार एक सय ५० वटा जीवन बीमालेख जारी भएकामा यसवर्ष एक करोड ३७ लाख ५५ हजार तीन सय ९६ वटा मात्रै जारी भएका छन् । जीवन बीमालेखको संख्या एक वर्षमा दुई दशमलव ५१ प्रतिशतले घटेको छ । बीमाको दायरामा आएको जनसंख्या नै घटेपछि जीवन बीमालेखको संख्यामा पनि कमी आएको देखिन्छ ।

निर्जीवन बीमालेखको संख्या भने बढेको छ । गतवर्ष पुसमा १३ लाख ९५ हजार ३२ वटा बीमालेख जारी भएकामा यसवर्ष पुस मसान्तसम्म १४ लाख ४१ हजार चार सय ४९ वटा जारी भएका छन् ।

बीमा कम्पनीहरूले बीमा गराई आर्जन गरेको प्रथम जीवन बीमाशुल्क संकलन एक वर्षअघिको तुलनामा अहिले घटेको छ । गतवर्ष पुसमा १४ अर्ब १७ करोड ७९ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क संकलन भएकामा यसवर्ष पुसमा १३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ मात्रै संकलन भएको छ । यो रकम एक वर्षअघिको तुलनामा दुई दशमलव ५५ प्रतिशतले कम हो ।

नवीकरण जीवन बीमाशुल्क संकलन भने गतवर्षको तुलनामा पाँच दशमलव एक प्रतिशतले बढेको छ । गतवर्ष पुसमा जीवन बीमाको नवीकरण शुल्कबापत बीमा कम्पनीहरूले ५७ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ संकलन गरेका थिए । यसवर्ष पुससम्म ६० अर्ब ४० करोड ३८ लाख रुपैयाँ संकलन गरेका छन् । जीवन बीमा कम्पनीले कुल ७४ अर्ब २२ करोड छ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन एक वर्षअघिको तुलनामा तीन दशमलव ५८ प्रतिशत धेरै हो । गतवर्ष पुसमा जीवन बीमा कम्पनीहरूले ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

निर्जीवन बीमामा बीमालेखको संख्या बढेको भए पनि बीमाशुल्क संकलन भने घटेको छ । पुस मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले १९ अर्ब ४४ करोड १० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जुन गतवर्षको सोही अवधिको तुलनामा तीन दशमलव १९ प्रतिशतले कम हो । गतवर्ष पुस मसान्तमा निर्जीवन बीमा कम्पनीहरूले २० अर्ब आठ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

केही बीमा कम्पनीहरू एक–आपसमा गाभिएपछि बीमा कम्पनीका कार्यालयको संख्यामा पनि कमी आएको छ । एक वर्षमा ११ दशमलव सात प्रतिशतले कार्यालय संख्या घटेको छ । गतवर्ष पुसमा तीन हजार दुई सय ४८ वटा कार्यालय सञ्चालनमा रहेकामा यसवर्ष दुई हजार आठ सय ६८ वटामा झरेको छ । निर्जीवन बीमा कम्पनीको भन्दा जीवन बीमा कम्पनीको कार्यालय संख्या धेरै घटेका छन् । प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूको कार्यालय संख्या १६ दशमलव ८३ प्रतिशतले घटेको छ । गतवर्ष दुई हजार एक सय ९८ कार्यालय सञ्चालनमा रहेकामा यसवर्ष एक हजार आठ सय २८ मा झरेको छ । निर्जीवन बीमा कम्पनीहरूको कार्यालय संख्या भने शून्य दशमलव ९५ प्रतिशतले मात्रै घटेको छ । गतवर्ष पुसमा एक हजार ५० वटा कार्यालय सञ्चालन भएकामा यसवर्ष पुस मसान्तसम्म एक हजार ४० वटामा झरेको छ ।

बीमा कम्पनीहरूले कर्मचारी पनि कटौती गरेका छन् । एक वर्षमा एक दशमलव ४८ प्रतिशतले कर्मचारी कटौती भएको छ । गतवर्ष पुससम्म बीमा कम्पनीहरूमा ११ हजार छ सय ७१ जनाले रोजगारी पाएकामा यसवर्ष ११ हजार चार सय ९८ जनाले मात्रै रोजगारी पाएका छन् । एक वर्षमा एक सय २७ जना कर्मचारीले बीमा कम्पनीको जागिर छाडेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया