Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारचैतदेखि संस्थागत निक्षेपको ब्याजदर बढ्ने

चैतदेखि संस्थागत निक्षेपको ब्याजदर बढ्ने


काठमाडौं, चैतदेखि संस्थागत निक्षेपको ब्याज एक प्रतिशत विन्दुले बढ्ने भएकोे छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा संस्थागत मुद्दती निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा एक प्रतिशत विन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरेको थियो । सोही व्यवस्था चैत एक गतेदेखि लागू गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।

अहिले संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत विन्दुले कम हुनुपर्ने व्यवस्था छ । चैतदेखि बैंकहरूले व्यक्तिगतको तुलनामा एक प्रतिशत मात्रै कम ब्याज दिनुपर्नेछ । यसले गर्दा संस्थागत निक्षेपकर्ताले चैतदेखि बढी ब्याज पाउने भएका छन् । केन्द्रीय बैंकले बोलकबोलको आधारमा संकलन हुने मुद्दती निक्षेप (स्वदेशी तथा विदेशी मुद्रा)को हकमा प्रकाशित ब्याजदरमा शून्य दशमलव पाँच प्रतिशत विन्दुभन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नुपर्ने हालको व्यवस्था पनि हटाएको छ ।

रेगुलेटरी रिटेल फोर्टफोलियोका रूपमा रहने कर्जाको जोखिमभार ७५ प्रतिशतमा झार्ने मौद्रिक नीति समीक्षामा ल्याइएको व्यवस्थालाई पनि कार्यान्वयनमा ल्याएको छ ।
मौद्रिक नीति समीक्षामा कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको दुई करोड रुपैयाँसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गर्ने उल्लेख थियो । यो व्यवस्थाले बैंकहरूको पुँजी कोषमा दबाब कम हुने र थप कर्जा प्रवाह गर्न सक्षम हुने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया