Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्वास्थ्य बीमा कार्यक्रमलाई सेवामैत्री बनाउनुपर्छ : प्रधानमन्त्री

स्वास्थ्य बीमा कार्यक्रमलाई सेवामैत्री बनाउनुपर्छ : प्रधानमन्त्री


काठमाडौँ । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सुशासन तथा वित्तीय अनुशासन कायम राख्ने र स्वास्थ्य बीमा कार्यक्रमबारे प्रभावकारी साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिदै स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराई ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउनका लागि सरकार सधैं प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बीमितले सेवा लिने प्रक्रिया सरल बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवाप्रदायक संस्थाहरूलाई अझ सेवामैत्री बनाउनेलगायतका विषयमा ध्यान दिन निर्देशन दिए । उनले स्वास्थ्य बीमा कार्यक्रमको सम्भावनालाई दृष्टिगत गर्दै आवश्यक अध्ययनका आधारमा यथोचित निष्कर्षमा पुगिने स्पष्ट पारे ।

बीमा रकमलाई बढोत्तरी गरी स्वास्थ्य कार्यक्रममा आकर्षण एवं प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विकास गर्न सकिने बताए ।

२०७२ चैत २५ गतेदेखि नागरिकको स्वास्थ्यप्रति प्रतिबद्ध रही ‘तपाईंको स्वास्थ्य हाम्रो अठोट’ भन्ने मूल नाराका साथ कैलाली जिल्लाबाट सुरुवात गरिएको स्वास्थ्य बीमा कार्यक्रम राज्यको प्राथमिकता प्राप्त सहभागितामूलक कार्यक्रम हो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले बुढानिलकण्ठ नगरपालिकाका जेष्ठ नागरिकलाई बीमा प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रमको दायरा बिस्तार गरी यसलाई सार्थक र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ छ । आइतबारदेखि सो कार्यक्रम सात सय ५३ वटै स्थानीय तहमा शुरु भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया