काठमाडौं, पुस १६
उखु किसानको करोडौं रुपैयाँ नबुझाई बसेका चिनी उद्योगीलाई सरकारले ठगीअन्तर्गत कारबाही गर्ने तयारी गरेको छ । किसानहरुले उखुको पैसा नपाएर अहिले काठमाडौंमा दिनहुँ प्रदर्शन गरिरहेका छन् । चिनी उद्योगीहरु भने राजनीतिक पहुँचको आधारमा किसानलाई रुवाएर मस्ती गरिरहेका छन् । उखु किसानको पक्षमा जनमत बढ्दै गएपछि गृह मन्त्रालयले मंगलबार प्रहरी प्रधान कार्यालयलाई पत्र पठाउँदै किसानको बक्यौता रकम नतिर्ने चिनी उद्योगीलाई पक्राउ गर्न निर्देशन दिएको छ । गृहको पत्रअनुसार प्रहरी प्रधान कार्यालयले सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरुलाई उनीहरुलाई सम्पर्कमा ल्याउन निर्देशन दिएको छ ।
उखुको पैसा नतिर्ने चिनी उद्योगीलाई उखु किसानको निवेदन र गुनासोअनुसार प्रहरीले ठगीअन्तर्गत कारबाही गर्न पाउनेछ । गृहले पत्र नै पठाएपछि चिनी उद्योगीहरु उच्च सरकारी अधिकारीको सम्पर्कमा जान थालेको स्रोतले जानकारी दिएको छ । तर, उनीहरुले तत्काल किसानलाई रकम भुक्तानी गर्न नसक्ने अवस्थामा रहेको भन्दै किस्ता बन्दीमा पैसा तिर्छु भनेर उम्किने प्रयास गरेका छन् । अहिले प्रशासनसँग सोही विषयमा समन्वय गरिदिन चिनी उद्योगीले ‘लबिङ्ग’ थालेका छन् ।
सरकारले कारबाही गर्ने संकेत पाएका केही साना चिनी उद्योगीले किसानका बक्यौता रकम बुझाएका छन् भने केहीले बुझाउने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, करोडौं रुपैयाँ बक्यौता राखेका चिनी उद्योगीहरु भने केही करोड रुपैयाँ सरकारी कर्मचारीमा खर्च गरेर करोडौं बक्यौता रकम भने किस्ता–किस्ता गरेर बुझाउने भनेर तत्काल उम्किने प्रयासमा छन् । यस वर्ष उखु काट्ने बेला आए पनि वर्षौँदेखि चिनी उद्योगीले किसानको करोडौं रुपैयाँ तिरेका छैनन् ।
वर्षेनी किसानहरुले आन्दोलन गर्दै आए पनि सरकारी पक्षबाट सहयोग नपाएपछि उनीहरु ‘ब्याक’ हुँदै आएका छन् । यस वर्ष भने काठमाडौंमा उखु किसानको आन्दोलन चर्किएको कारण गृह मन्त्रालय पनि किसान ठग्ने चिनी उद्योगीविरुद्ध बोल्न बाध्य भएको हो । गृहले पक्राउ गर्न प्रहरीमार्फत पत्र पठाउनासाथ किसानहरुले आन्दोलन स्थगित गरेमा फेरि पनि पैसा पाउने सम्भावना नहुने भन्दै किसानहरु चिनी उद्योगीको पक्राउ भएर वार्ताबाट समस्या समाधानको पक्षमा छन् । प्रशासनले ताकेता गर्नासाथ केही महिनामा बक्यौता रकम तिर्छु भन्दै चिनी उद्योगीहरुले ढाँट्ने गरेका छन् ।
प्रहरीले पक्राउ गरे पनि ठगीबाहेक अरु विषयमा चिनी उद्योगीलाई कारबाही गर्न मिल्ने कानुनी व्यवस्था स्पष्ट छैन । ‘चिनी उद्योगी पक्राउ परे पनि ठगीबाहेक अरु तरिकाले कारबाही गर्न सकिने अवस्था छैन’, उद्योग मन्त्रालयका एक अधिकारीले भने, ‘ठगीअन्तर्गत कारबाही चलाउनेभन्दा पनि उनीहरुलाई पक्राउ गरेर कसरी किसानको रकम फिर्ता गराउने भन्ने योजनामा छौं । जसरी भए पनि किसानले आफ्नो उत्पादनको पैसा पाउनुप-यो । प्रहरीले पक्राउ गरेर ल्याएपछि छिनोफानो गर्छौँ ।’
चिनी उद्योगीले कति रकम बुझाउन बाँकी छ भन्ने अझै पनि एकीन छैन । उखु उत्पादक किसान संघसँग भएको तथ्यांक पनि फरक–फरक छ । कतिपय किसानको रकम भुक्तानी नपाउँदै मृत्यु भइसकेको छ । उनीहरुको छोरा/नातिलाई वास्तविक रकमबारे जानकारी नै छैन । कतिपय किसानलाई अघिल्लो वर्ष कति लिन बाँकी छ भन्ने जानकारी भए पनि त्यहाँभन्दा अघिल्ला वर्षहरुमा कति पैसा लिन बाँकी छ भन्ने जानकारी नै छैन । अन्नपूर्ण सुगर मिल, इन्दिर सुगर मिल, महालक्ष्मी सुगर मिल, श्रीराम सुगर मिल, बागमती सुगर मिलले किसानको सबै भन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । अन्य सुगर मिलले पनि किसानहरुको रकम भुक्तानी गरेका छैनन् ।
चिनी उद्योगीहरुले समयमा पैसा नदिने र वर्षेनी आन्दोलन गर्नुपर्ने बाध्यता भएपछि तराईका जिल्लाहरुमा किसानहरुले उखु लगाउन नै छाड्न थालेका छन् । सरकारले पनि समयमा उखुको मूल्य निर्धारण नगरिदिने तथा चिनी उद्योगीहरुले पनि तोकेको मूल्य पनि समयमा भुक्तानी नदिएर भाग्ने गर्दा किसानहरु बढी मर्कामा परेका छन् । उखु किसानको समस्या समाधान गर्नका लागि केही राजनीतिक दलका नेताहरुले दबाब दिए पनि सफल हुनसकेका छै्रनन् । अहिले कृषिमन्त्री र उद्योग मन्त्री तथा गृहमन्त्री पनि एउटै दलका नेताहरु छन् । यो बेलामा पनि किसानलाई ठग्दै आएका चिनी उद्योगीलाई कारबाही भएन भने कहिल्यै पनि कारबाही नहुने भन्दै किसानहरु अन्तिम संघर्षका लागि मैदानमा उत्रिएका हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना
- उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
- गभर्नर र सीबीफिनबीच छलफल
- खल्ती र पीसीएसबीच समझदारी
- महिला लघुवित्तको तालिम
- आत्मनिर्भर अर्थतन्त्रमा नागरिक समुन्नति
- सन्दर्भ पार्टी परित्याग : सम्बन्धित सबैको होस खोल्ने नै छ
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया