Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालको अर्थतन्त्र थप नाजुक बन्ने

नेपालको अर्थतन्त्र थप नाजुक बन्ने


काठमाडौं ।
नेपालको अर्थतन्त्र थप नाजुक बन्ने विश्व बैंकले दाबी गरेको छ । नेपाल सरकारले आर्थिक अवस्था थप सुदृढ गराउने दाबी गरिरहेको बेला विश्व बैंकले त्यसको ठीक विपरीत अनुमान प्रक्षेपण गर्दै नेपालको अर्थतन्त्रको विस्तार लगातार तीन वर्ष अत्यन्त न्यून हुने किटान गरेको छ ।

कोरोना भाइरस कोभिड–१९ को कारण विश्वकै अर्थतन्त्र तहसनहस भएको छ । त्यसको सबैभन्दा ठूलो मार नेपालजस्ता कमजोर आर्थिक अवस्था भएका देशहरुमा बढी पर्नेछ । शक्तिशाली मुलुकहरुले कोभिडविरुद्धका औषधि तथा अन्य स्वास्थ्य सामग्री उत्पादन र निर्यात गरेर अर्थतन्त्र मजबुत पारे पनि नेपालजस्ता कमजोर आर्थिक अवस्था भएका देशहरुको आर्थिक अवस्था दिनप्रतिदिन खराब बन्दै गएको छ । आन्तरिक उत्पादनसमेत कमजोर भएको कारण नेपालको अर्थतन्त्र कमजोर हुने विश्व बैंकको दाबी छ ।

विश्व बैंकले विभिन्न क्षेत्रको अध्ययन गरी निकालेको निष्कर्षमा चालू आर्थिक वर्ष २०७७/०७८ मा नेपालको कुल गार्हस्थ्य उत्पादन शून्य दशमलव छ प्रतिशतमा खुम्चिने दाबी गरेको छ । यो भनेको धेरै कमजोर अवस्था हो । ‘विश्व बैंकले दाबी गरेजस्तै हुने हो भने नेपालको आर्थिक अवस्था थप भयावह हुने देखिन्छ’, अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘कोरोनाले धेरै असर त पारेको छ । तर, त्यसलाई सुधार्ने प्रयास जारी छ । विश्व बैंकले भनेको जस्तै कमजोर नहोला ।’ अर्थका अधिकारीहरुले विश्व बैंकको दाबीअनुसार नै नेपालको अर्थतन्त्र कमजोर नहुने बताए पनि यही बेला सरकारले अनुत्पादक क्षेत्र अर्थात् निर्वाचनमा ठूलो पैसा खर्च गर्दै छ । यसले अर्थतन्त्रलाई झनै कमजोर पार्नेछ ।

निर्वाचन हुँदा सञ्चित पैसा गाउँगाउँमा गएर आर्थिक क्षेत्र चलायमान हुने बताइए पनि निर्वाचनमा हुने खर्च उपभोगका लागि बढी हुने भएकाले त्यसले उत्पादनमा सहयोग गर्दैन । सरकारले चालू आर्थिक वर्षको आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ । त्यहीअनुसार निर्वाचन आयोगले तयारी गरेको छ । यद्यपि प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको कारण निर्वाचन हुन्छ नै भन्न सकिने अवस्था छैन । निर्वाचन भए पनि नभए पनि नेपालमा राजनीतिक अस्थिरता सुरु भएको कारण आर्थिक विकासमा त्यसले नकारात्मक प्रभाव पार्नेछ ।

नेपाल राष्ट्र बैंकका अनुसार पनि नेपालमा कोरोनाको कारण उद्योग क्षेत्र पूर्ण क्षमता सञ्चालनमा आउनसकेको छैन । राष्ट्र बैंकका अनुसार अहिले ५७ प्रतिशत उद्योग मात्र पूर्णतः क्षेत्रमा सञ्चालन भएका छन् । साना तथा मझौला उद्योगहरु कोरोनाको कारण बढी मारमा परेका छन् । यही बेला उद्योगी तथा व्यवसायीहरुलाई ऋण तिर्न बैंकहरुले ताकेता गरेका छन् । बैंकले कारबाही गर्ने डरले उद्योगी/व्यवसायीहरु त्रसित भएका छन् ।

उद्योगी/व्यवसायी यही रुपमा त्रसित भइरहने हो भने उत्पादन क्षेत्रले अर्थतन्त्रमा योगदान नै गर्न सक्तैन । त्यसले कुल गार्हस्थ्य उत्पादनमा अर्को झड्का दिने छ । देशको अर्थतन्त्रलाई चलायनमा बनाउन उद्योग तथा कलकारखाना पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र त्यसको लागि बैंकबाट पूर्ण सहयोग हुनुपर्ने भन्दै नेपाल उद्योग वाणिज्य महासंघको टोलीले अर्थतन्त्र विष्णुप्रसाद पौडेललाई भेट गरी सहयोगको लागि आग्रह गरेका छन् । बैंक तथा व्यवसायीबीच समन्वय नहुने हो भने अर्थतन्त्र थप चौपट हुने राष्ट्र बैंकका अधिकारीहरुको पनि बुझाइ छ ।

विश्व बैंकका अनुसार अघिल्लो आर्थिक वर्षमा पनि नेपालको अर्थतन्त्र विस्तार ठप्पजस्तै थियो । आर्थिक वर्षको अन्तिम चौमासिकमा कोभिडको कारण पूर्ण लकडाउन हुँदा अर्थतन्त्रको विकास शून्यमा झर्न पुगेको हो । चैतदेखि लकडाउन सुरु भएको कारण विकास निर्माणको काम नै ठप्प भएको थियो । आव २०७६/०७७ मा नेपालको आर्थिक वृद्धिदर शून्य दशमलव दुई प्रतिशत मात्र भएको विश्व बैंकको अनुमान छ ।

लकडाउनको कारण अर्थतन्त्र ठप्प हुँदा व्यक्तिका आय पूर्णतया बन्द भएको थियो । अर्थतन्त्रको विस्तार नहुनु भनेको व्यक्तिका आय बन्द हुनु वा कमजोर हुनु हो । अघिल्लो आव र चालू आवमा मात्र होइन आगामी आव २०७८/०७९ मा नेपालको अर्थतन्त्र कमजोर हुने र त्यो दुई दशमलव पाँच प्रतिशतमा सीमित हुने विश्व बैंकको दाबी छ ।

विश्व बैंकको दाबी अनुसार नेपालको अर्थतन्त्र तीन आर्थिक वर्षमा कमजोर भयो भने यसले भयावह अवस्था सिर्जना गर्नेछ । यही अवस्था रहेमा नेपालमा नयाँ र थप रोजगारी बन्द हुनेछ । नयाँ रोजगारी बन्द भएमा व्यक्तिको आय बन्द हुनेछ । यसले समग्र देशकै अर्थतन्त्र थिलथिलो हुनेछ । विश्व बैंकका अनुसार दक्षिण एसियामा भारत र भुटानको पनि अर्थतन्त्र खुम्चिनेछ । तर, माल्दिभ्सको भने बढ्नेछ । विश्व बैंकले ग्लोबल इकोनोमिक प्रोस्पेक्ट प्रतिवेदन सार्वजनिक गर्दै उक्त दाबी गरेको हो ।

उक्त प्रतिवेदनअनुसार सन् २०२१ मा विश्व अर्थतन्त्र चार प्रतिशतले बढ्नेछ । कोरोना भाइरसविरुद्धको खोप सहज भएर विश्व अर्थतन्त्र सुधार हुने अनुमान विश्व बैंकको छ । विश्व बैंकका अनुसार अमेरिकाको अर्थतन्त्र सन् २०२१ मा तीन दशमलव पाँच प्रतिशतले विस्तार हुनेछ भने चीनको अर्थतन्त्र सात दशमलव नौ प्रतिशतले विस्तार हुनेछ । सन् २०२० मा पनि चीनको अर्थतन्त्र दुई प्रतिशतले बढेको थियो । तर, उक्त अवधिमा विश्वको अर्थतन्त्र भने नकारात्मक भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया