Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभित्रभित्रै दबाइयो शुक्रपथ सहकारीमा ठूलो जग्गा घोटाला

भित्रभित्रै दबाइयो शुक्रपथ सहकारीमा ठूलो जग्गा घोटाला


काठमाडौँ ।

न्युरोडमा रहेको शुक्रपथ बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको एक भयंकर ठूलो जग्गा घोटालाको आपसी लेनदेनकै आधारमा भित्रभित्रै सल्टाइएको छ । उक्त काण्डमा सहकारीका सञ्चालकहरु, केही निजी क्षेत्रका सञ्चारमाध्यमहरुलगायत घरजग्गा दलाल सहदेव कक्षपति, भोटेबहालका गुट्खा व्यापारी पवन गर्ग, अञ्जली गर्गलगायतका व्यक्तिहरु प्रत्यक्षरुपमा संलग्न रहेका थिए भने सहकारी विभाग, सम्पत्ति शुद्धीकरण विभाग, नेपाल राष्ट्र बैैंक, डिभिजन सहकारी कार्यालयलगायतका सरकारी निकायहरुले मौन समर्थन गर्दै आएका छन् ।

No description available.

 

राजधानीको न्युरोडमा रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुले केन्द्रीय सहकारी बैंकबाट ऋण निकालेर सहकारीको नाममा जग्गा किनबेच गरेको घटना गुपचुपमै सेटलमेन्ट गरेको पाइएको हो ।गुट्खा व्यापारी पवन गर्गसँगको मिलेमतोमा सहकारीका तत्कालीन अध्यक्ष निरहरी उपाध्याय र तत्कालीन प्रमुख कार्यकारी निर्देशक नरेन्द्र विष्टसहितका सहकारी सञ्चालकका नाममा जग्गा किनिएको थियो ।

No description available.

 

सहकारी सञ्चालक र गुट्खा व्यापारी गर्गसँगको मिलेमतोमा उक्त जग्गा अर्कै कम्पनी खडा गरी ४२ करोड रुपैयाँमा बेचबिखन भएको खुलासा भएको हो । सहकारीसँग बार्गेनिङ गरेर प्रोमो समेत बजाएको एक टेलिभिजन मालिकका पुत्रले भने दुई करोड रुपैयाँ लिएर चित्त बुझाएको पाइएको छ । राष्ट्रिय सहकारी बैंकबाट शुक्रपथ सहकारीका नाममा ऋण निकालेर उनीहरुले जग्गा भने सञ्चालकहरुको नाममा राखेर बेचबिखन गरेका हुन् ।

No description available.

 

२०७६ भदौमा सहकारीकै सहायक कम्पनी शुक्रपथ इन्भेष्टमेन्टको नाममा राजधानीको नैकापमा ७० रोपनी जग्गा बैना गरिएको पाइएको थियो । तीमध्ये ३५ रोपनी १३ आना जग्गा सहकारीकै सञ्चालकहरुको नाममा राखिएको तथ्य भेटिएको थियो । पूर्वअध्यक्ष उपाध्याय, उनकी श्रीमती र तत्कालीन प्रमुख कार्यकारी निर्देशक तथा हाल अध्यक्ष विष्ट, सञ्चालक अर्जुन विक र मधुकर वाग्लेकै नाममा ३५ रोपनी जग्गा राखिएको थियो ।

No description available.

राजधानीको नैकाप र बलम्बु क्षेत्रमा उपाध्यायले जग्गा खरिदका लागि २०७४ भदौ २६ गते सम्झौता गरेका थिए । जग्गा बैना भने गुट्खा व्यापारी पवन गर्गले गरेका थिए । उनले बैनाका लागि सहकारीबाटै ऋण लिएर १२ करोड १७ लाख खर्च गरेका थिए । तर, शुक्रपथ सहकारीलाई बैना नै बेचेका उनले कुल ७० रोपनी नै जग्गा दिन नसकेपछि समस्या उत्पत्न भएको थियो । स्रोतका अनुसार गुट्खा व्यापारी गर्गले सहकारीबाट बैनाबापतको १२ करोड १७ लाख र समस्या मिलाउन भन्दै विभिन्न बहानामा नौ देखि १० करोड रुपैयाँ असुलेका थिए ।

No description available.

 

अहिले उक्त जग्गा बेचबिखन भएपछि सबैभन्दा बढी फाइदा गर्गलाई नै भएको छ । उनलाई सहकारीले जग्गा दलाली धन्दामा सहयोग गरेबापत ब्याज नै मिनाहा गरेको स्रोतले बतायो । सर्वसाधारणलाई मिटरब्याजभन्दा चर्को ब्याज असुल्दै आएको शुक्रपथले गर्गलाई भने करोडौँ रुपैयाँ छुट दिएको पाइएको छ ।

No description available.

काठमाडौंको पुरानो नैकाप गाविस वडा नम्बर ४ र बलम्बु गाविस वडा नम्बर ९ को कित्ता नम्बर, ७८, ४५, १५, २८, ६, १७, २९, ८०, ८१, ७७, ४, १०९, २, ३, ५, १४, ३०, १६, १५०, १२९, १३०, १२७, १२८, १२६, १३६, १७८, ११३, १०७, ११८, १४८, १४९, ११५, ११३, ११७ का जग्गाहरु शुभश्री इन्भेष्टमेन्टले बैना गरेको थियो । शुभश्री इन्भेष्टमेन्ट गर्ग र उनकी पत्नी कविता अग्रवाल सञ्चालक रहेको कम्पनी हो ।

No description available.

 

उक्त जग्गाहरु खरिद गरी प्लटिङ गरेर बेच्ने र मुनाफा भागबन्डा गर्ने भनेर सम्झौतामै लेखिएको थियो । ‘जग्गाहरुमध्ये प्रथम पक्षमध्येको शुभश्री इन्भेष्टमेन्ट प्रालिले का.जि. पुरानो नैकाप गाविस वडा नम्बर ३ (ख) को कित्ता नम्बर १२,३२, ३१, ६१ र ७९ का जग्गाहरु आफ्नो नाममा राजीनामा पास गरी लिएकोमा यो करारनामा लागू भएपश्चात् प्रथम पक्षमध्येकै शुक्रपथ इन्भेष्टमेन्ट प्रालिको सञ्चालकको नाममा नामसारी गर्न शुभश्री इन्भेष्टमेन्ट प्रालि मञ्जुर गर्दछ,’ करारनामाको बुँदा नम्बर २ मा भनिएको थियो, ‘साथै अब उप्रान्त यसै करारनामाबमोजिम खरिद हुने जग्गाहरु समेत शुक्रपथ इन्भेष्टमेन्ट प्रालिको सञ्चालकको नाममा राजीनामा पास गर्ने शर्तमा शुभश्री इन्भेष्टमेन्ट प्रालि र दोस्रो पक्ष समेत मञ्जुर गर्दछ ।’

No description available.

 

सम्झौताको अर्को बुँदामा लेखिएको छ, ‘माथि उल्लिखित कित्ता नम्बरका जग्गाहरु खरिद गर्न र बैना गर्न प्लटिङ, डेभलपमेन्ट समेत गरी १२ करोड १७ लाख रुपैयाँ शुभश्री इन्भेष्टमेन्ट प्रालिको लगानी लागिसकेकोमा अब प्रथम पक्षले बैना गरिराखेको माथि उल्लिखित कित्ता नम्बरका जग्गाहरु र अन्य जग्गाहरु खरिद गर्न यसै कारारनामाका अर्का प्रथम पक्ष शुक्रपथ इन्भेष्टमेन्ट प्रालिले समेत १२ करोड १७ लाख रुपैयाँ) लगानी गरी माथि उल्लिखित जग्गाहरु र अन्य जग्गाहरु संयुक्त रुपमा खरिद गरी लिन मञ्जुर गर्दछ ।

No description available.

प्रथम पक्षहरुबीचमा कुनैले बढी लगानी गरेमा सोही अनुपातमा नाफा र घाटाको दायित्व समेत बेहोर्न प्रथम पक्ष समेत मञ्जुर गर्दछ ।’गुट्खा व्यापारी गर्ग र सहकारीबीचको सम्झौताको ५ नम्बर बुँदामा जग्गाहरु प्लटिङ गरी बेचबिखन गर्ने र आवास क्षेत्र निर्माण गर्ने समेत उल्लेख गरिएको थियो ।

शुक्रपथ इन्भेष्टमेन्ट र शुभश्री इन्भेष्टमेन्टले जग्गा बेचबिख नपश्चात् आउने नाफा समेत भागबण्डामा लिने सम्झौतामा उल्लेख गरेका थिए । चाचा भनेर चिनिने पवन गर्ग कुनै समय सौर्य एयरलाइन्समा समेत लगानी गर्ने व्यक्ति हुन् । तर, पछिल्लो समय उनी घरजग्गा दलालीमा लागेका छन् । सरोकारवाला निकायले समेत बेवास्ता गरेपछि सर्वसाधारणको बचतमा वर्षौंदेखि जग्गा दलाली धन्दा चलाउँदै आएको यो गिरोहले सुटुक्क सेटलमेन्ट गर्न सफल भएको हो ।

यो समूहले छद्म कम्पनी खडा गरेर जग्गा बेचबिखन गरेको हो । ‘कुनै छद्म कम्पनी खडा गरेर बेचबिखन गरिएको छ,’ स्रोतले भन्यो, ‘सहकारी सञ्चालक र मिडियाकै मालिकले करोडौँ हात पारेका छन् ।’

कुन सञ्चालकको नाममा कति थिए जग्गा ?
सहकारीको रकमबाट किनिएको जग्गाहरु सहकारीकै सञ्चालकहरुको नाममा राखिएको थियो । पूर्वअध्यक्ष निरहरी प्रसाद उपाध्याय, हाल अध्यक्ष भएका तत्कालीन म्यानेजिङ डाइरेक्टर नरेन्द्र विष्ट, बोर्ड सदस्य मधुकर वाग्ले, अर्जुन विश्वकर्मा र पूर्वअध्यक्ष उपाध्यायकी श्रीमती भागीरथी भट्टको नाममा जग्गा राखेर बेचबिखन गरिएको हो । निरहरी उपाध्याय र नरेन्द्र विष्टको नाममा तीन रोपनी सात आना छुट्टै जग्गा रहेको रेकर्डमा उल्लेख थियो । सहकारीकै सञ्चालकहरु मधुकर वाग्ले र नरेन्द्र विष्टको नाममा ११ रोपनी छुट्टै जग्गा थियो ।

सबैभन्दा धेरै जग्गा नरेन्द्र विष्टको नाममा थियो । अर्जुन विश्वकर्मा र नरेन्द्र विष्टको नाममा करिब १६ रोपनी जग्गा नामसारी गरिएको थियो । सहकारीबाट समेत ऋण अपचलन गरी ऋण निकालिएको भए पनि जग्गा बेचबिखनको रकम भने सहकारी सञ्चालकहरुले आफ्नै खातामा जम्मा गरी करोडौँ रुपैयाँ घोटाला गरेको स्रोतले जनाएको छ ।

दोहोरो कर्जा
उक्त सहकारीले दोहोरो कर्जा लिएको थियो । जग्गा किन्नुुअघि सो सहकारीले राष्ट्रिय सहकारी बैंकसँग कर्जा लिएको थियो र उक्त कर्जा रकम दुुरुपयोग गर्दै सञ्चालकहरुको नाममा जग्गा खरिद गरेको थियो ।फेरि त्यही जग्गा धितो राखेर सञ्चालकहरुले कर्जा लिएका थिए । त्यसरी लिईएको दुुवै कर्जा तिरिदिएको सहकारीका तत्कालीन प्रमुख कार्यकारी निर्देशक एवं हालका अध्यक्ष नरेन्द्र विष्टले आर्थिक दैनिकसँग स्वीकारेका छन् ।

सहायक कम्पनी खोलेर घोटाला
शुक्रपथ बहुउद्देश्यीय सहकारीका सञ्चालकहरुले शुक्रपथ इन्भेष्टमेन्ट नामको सहायक कम्पनी खोलेर सहकारीको रकम त्यसतर्फ डाइभर्ट गरी त्यस कम्पनीमार्फत अन्यत्र लगानी गरेर धन्दा गर्दै आएका छन् ।राष्ट्रिय सहकारी बैंकले उक्त संस्थालाई कर्जा दिएको थियो । तर त्यसका सञ्चालकहरुले उक्त रकम शुक्रपथ इन्भेष्टमेन्ट कम्पनीमा नाउँमा व्यक्तिगत प्रयोजनका लागि लगानी गरेका थिए । शुुक्रपथ सहकारीले नैकापको जग्गा खरिद र बिक्रीका लागि विभिन्न मितिमा गरेका सम्झौताहरु प्रस्टै देखिएको छ ।

 

३५ सेकेन्डको प्रोमो बजाउ“दा टेलिभिजनलाई २ करोड फाइदा
कुनै समय म्यानपावर व्यवसाय सञ्चालन गर्ने एक मिडिया मालिक यतिबेला टेलिभिजन सञ्चालन गर्छन् । सोही टेलिभिजनले समेत यो जग्गा प्रकरणमा २०७६ साउन १४ गते एउटा प्रोमो बजाएको थियो । ‘शुक्रपथ सहकारीको कालोधन्दा’ भन्दै बजाइएको प्रोमो केहीबेरमै डिलिट गरेर टेलिभिजन मालिकले बार्गेनिङ गरेका थिए ।

बार्गेनिङपछि सहकारी सञ्चालकहरुसँग २०७६ भदौ ४ गते उक्त जग्गामा पार्टनरसिप गर्ने सहमति भएको थियो । टेलिभिजनले सुरुमा एक दैनिक पत्रिकाका मालिकका पुत्रलाई जग्गाको साझेदार बनाएको थियो । एक करोड रुपैयाँ लगानी गरेको देखाएर उक्त टेलिभिजनले एक वर्षपछि दुई करोड रुपैयाँ हात पारेको छ ।

राष्ट्र बैंकदेखि सहकारी विभागसम्मको रहस्यमय मौनता !

सहकारी क्षेत्रको अनियमितता हेर्ने निकाय हो–सहकारी विभाग । ठूला सहकारीभित्रको वित्तीय सुशासन कायम गराउने दायित्व नेपाल राष्ट्र बैंकलाई छ । सहकारी सञ्चालकले अकूत सम्पत्ति कमाए कारबाही गर्न पाउने अधिकार सम्पत्ति शुद्धीकरण विभागलाई छ । विगत एक वर्षअघि नै शुक्रपथ सहकारी सञ्चालकले जग्गा दलाली धन्दा चलाएर करोडौं अकूत सम्पत्ति कमाएको विषयमा आर्थिक दैनिकले खबर छापेको थियो ।

तर, ती निकायहरु रहस्यमय रुपमा मौन बसिरहेका छन् । सरोकारवाला निकाय नै मौन बसिदिएपछि यतिबेला सहकारी सञ्चालकहरुको मानोमानी बढेको छ ।शुक्रपथ सहकारीको जग्गा घोटालाको समस्या सल्टाउनुभयो भनी आर्थिक प्रतिनिधिले उक्त सहकारीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत एवं हालका अध्यक्ष नरेन्द्र विष्टसँग प्रश्न गर्दा सल्टाइयो भनी जवाफ दिएका छन् ।

सरी सल्टाउनुुभयो त भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘बैना दिनेले जग्गा पास गर्न सकेन, अर्केलाई बेचेर सल्टाइयो ।’
राष्ट्रिय सहकारी बैंकसँगको लोन के भयो नि ? भनेर प्रश्न गर्दा उनले सहकारी बैंकको केस पनि सल्टाएको बताए । राष्ट्रिय सहकारी बैंकबाट शुक्रपथ सहकारीको नाउँमा लोन लिएर आफ्नो नामको जग्गा किन्दा अपुुग रकमको लागि त्यही जग्गा धितो राखेर थप लोन लिनुभएको थियो, त्यो के गर्नुभयो नि ? भनेर प्रश्न गर्दा सहकारी बैंकसँग लोन लिएर उक्त जग्गा किन्दा नपुुग रकमको लागि त्यही जग्गा धितो राखेर हामीले आफ्नो नाममा थप लोन लिएको बताए ।

‘अहिले जग्गा बेचेपछि त्यो लोन पनि तिरियो, घाटा खाइएन । दुई÷चार पैसा फाइदै भयो’, उनले भने ।एकताका उक्त काण्डले गर्दा तपाईंहरु निकै नै तनावमा हुनुहुन्थ्यो, कहीँ कतैबाट कारबाही त भएन नि भन्दा उनले नभएको जवाफ दिए । उनले थपे, ‘जग्गा हाम्रो नाममा भए पनि हामीलाई खान दिएनन्, त्यहाँ सबै चोरै चोर रहेछन्, पैसा भएका थकालीहरु आए, उनीहरुले नै खाए । तर जति शत्रुु लागे पनि कसैले केही गर्न सकेनन् । संस्था जोगाउनै नसकिने हो कि जस्तो भइसकेको थियो, संस्था जोगाउनको लागि हामीले आफ्नो स्वार्थ त्यागिदियौँ । एक वर्षभन्दा पनि बढी भइसक्यो, त्यो काण्ड सल्टायौँ ।’

 


क्याटेगोरी : समाचार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया