Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल–चीनका राष्ट्रपतिबीच वार्ता, चीनले तत्कालै दश लाख डोज खोप नेपाल पठाउने

नेपाल–चीनका राष्ट्रपतिबीच वार्ता, चीनले तत्कालै दश लाख डोज खोप नेपाल पठाउने


काठमाडौं ।
नेपालमा कोभिड–१९ विरुद्धको खोप माग व्यापक भइरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीको कूटनीतिक सक्रियता बढेको छ । मंगलबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेख्दै खोप उपलब्ध गराउन सहयोग गर्न आग्रह गर्नुभएको राष्ट्रपति भण्डारीले बुधबार चीनका राष्ट्रपति सी चिनफिङसँग करिब पौने एक घण्टा लामो टेलिफोन संवाद गरेकी थिइन् । उक्त संवादमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीसमक्ष नेपाललाई कोरोनाविरुद्धको खोप दिन र खरिदमा सहजीकरण गरिदिन आग्रह गरेकी थिइन् ।

नेपालका राष्ट्रपतिको पत्रको भारतीय राष्ट्रपति कार्यालयले कुनै औपचारिक प्रतिक्रिया आएको छैन । तर, नेपाल र चीनका राष्ट्रपतिबीच वार्ता भएलगत्तै चिनियाँ राष्ट्रपति कार्यालयले नेपाललाई तत्काल दश लाख डोज खोप अनुदानको रुपमा नेपाल पठाउने घोषणा गरेको छ ।

नेपालले दश लाख डोज खोप पाएमा पाँच लाख नेपालीलाई दुई चरणमा खोप लगाउन पुग्छ । साथै चीनले नेपालले खरिद गर्न गरेको प्रयासको बारेमा पनि तत्कालै सम्बोधन गर्ने बताइएको छ । फोन संवादमा दोस्रो लहरको महामारीका कारण नेपालले सामना गर्नुपरेको कठिन परिस्थितिलाई स्वीकार गर्दै राष्ट्रपति सीले कोभिड–१९विरुद्धको नेपालको लडाइँमा चीन सरकारको पूर्ण सहयोग रहने बताइएको छ । राष्ट्रपति सीले खोप सहायतामा चीनले नेपाललाई उच्च प्राथमिकतामा राख्ने आश्वासन पनि दिएका छन् ।

त्यस अवसरमा राष्ट्रपतिद्वयबीच नेपाल र चीनबीचको समग्र सम्बन्धसहित कोभिड–१९ सम्बन्धी सहायताबारे छलफल एवं विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोभिड–१९विरुद्धको नेपालको लडाइँमा जीवन रक्षक औषधि, चिकित्सा उपकरण र स्वास्थ्य सामग्री प्रदान गरेर नेपाललाई निरन्तर सहयोग गरेकामा राष्ट्रपति भण्डारीले चीन सरकारप्रति कृतज्ञता ज्ञापन गरेको मन्त्रालयले जनाएको छ ।

कोभिड–१९विरुद्धको खोप संसारभर सबैका लागि सार्वजनिक वस्तु हुनुपर्ने राष्ट्रपति सीको अभिव्यक्तिको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले यसअघि पनि चीनले नेपाललाई आठ लाख मात्रा खोप उपलब्ध गराएकामा आभार व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अहिलेको कठिन परिस्थितिमा थप खोप सहायता उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको नयाँ घोषणाका निम्ति उनीप्रति आभार व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कोरोनाविरुद्ध लडिरहँदा चिनियाँ सहयोग जारी रहने विश्वास व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

भारतबाट नेपालले पहिलो डोज खोप ल्याएर लगाए पनि दोस्रो डोज खोप खरिदका लागि पैसा पठाए पनि भारतले दिएको छैन । भारतले खोप नदिएपछि पहिलो खोप लगाएकाहरु चिन्तित भएका छन् । नेपालले पटक–पटक पहल गरे पनि भारतले नेपाललाई खोप दिन खासै चासो दिएको छैन । भारतले आफ्नै देशमा कोरोनाको महामारी चलेको भन्दै अन्य देशलाई तत्काल खोप पठाउन नसकिने जनाएको छ । भारतको उक्त भनाइले यसअघि गरेको प्रतिबद्धताअनुसार भारतले काम नगरेको प्रष्ट भएको छ ।

नेपालले खोप खरिदका लागि भारतमा अग्रिम रकम पनि पठाइसकेको छ । नेपालले पैसा पठाए पनि भारतले आफ्नो देशमा दैनिक हजारौं नागरिक खोप नपाई मरिरहेको भन्दै खोप निर्यातमा आनाकानी गरेको हो । चीनले नेपाललाई थप खोपहरु अनुदानमा दिने भनेपछि भारत पनि दबाबमा परेको छ । 

सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढ्यो : बुधबार नेपालमा छ हजार सात सय १६ जना कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणमुक्त भएका छन् । नयाँ भेरिएन्टसहितको कोरोना तीव्र रूपमा फैलिएका बेला सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढेको हो । यस अवधिमा छ हजार सात सय १४ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा नयाँ सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या दुई जना बढी रहेको मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर परीक्षण गर्दा छ हजार छ सय ७७ जना र तीन सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार चार सय ९३ सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा एक हजार एक सय ३९, ललितपुरमा दुई सय ४१ र भक्तपुरमा एक सय १३ जना थपिएको मन्त्रालयले जनाएको छ । योसँगै देशभरमा संक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ४५ जनाको कोरोनाकै कारण निधन भएको छ । हालसम्म मृतकको सङ्ख्या छ हजार आठ सय ४५ पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया