Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्पन्ज आइरनको भन्सार दर र अन्तःशुल्क वृद्धिप्रति डन्डी उद्योगीको असन्तुष्टि

स्पन्ज आइरनको भन्सार दर र अन्तःशुल्क वृद्धिप्रति डन्डी उद्योगीको असन्तुष्टि


काठमाडौं । छड तथा डन्डी उद्योगी व्यवसायीहरूले सरकारले स्पन्ज आइरनको भन्सार दर र अन्तःशुल्क वृद्धि गरेको प्रति असन्तुष्टि जनाएका छन् । हालै सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको संशोधित आर्थिक ऐनमा पत्रु पगालेर फलामे छड उत्पादन गर्ने र सोमा मिसाउन चाहिने कच्चा पदार्थ (स्पन्ज आइरन) पैठारी गर्दा शून्य प्रतिशत भन्सार र शून्य प्रतिशत अन्तःशुल्क तथा सोझै विलेट आयात गर्दा ४ दशमलव ७५ प्रतिशत भन्सार र एक हजार छ सय ५० रुपैयाँ प्रतिमेट्रिकटनबाट वृद्धि गरी दुई हजार पाँच सय रुपैयाँ प्रतिमेटन अन्तःशुल्क लाग्ने भएको छ ।

उक्त व्यवस्थाले बहुसंख्यक डन्डी उद्योगहरूले प्रतिस्पर्धा गर्न नसकी घाटा बेहोर्दै बन्द हुने अवस्थामा पुग्ने उद्योगीहरूको गुनासो छ । नेपालमा हाल साना–ठूला गरी ३० वटा फलामे छड उत्पादन गर्ने उद्योगहरूमध्ये छवटा उद्योगले मात्र पत्रु पगाली डन्डी उत्पादन गर्दै आएका छन् । कच्चा पदार्थमा शून्य प्रतिशत अन्तःशुल्क हुनु भनेको विश्व व्यापार संगठनको नीतिविपरीत हुने उनीहरूको दाबी छ ।

कबबरोलिङ मिल्स एसोसिएसनका पूर्वअध्यक्ष प्रदिपकुमार श्रेष्ठका अनुसार स्पन्ज आइरन र विलेट दुवै कच्चा पदार्थ नै हुन्, जुन आइरन ओरबाट निर्मित हुन्छ । जसमा स्पन्ज आइरनमा शून्य प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ भने विलेटमा ४ दशमलव ७५ प्रतिशत भन्सार दर लाग्ने भएको छ । यसले गर्दा २४ वटा उद्योगहरूले विलेटबाट डन्डी उत्पादन गर्दा प्रतिकेजी पाँचदेखि छ रुपैयाँसम्म महँगो हुँदा ग्राहकलाई प्रत्यक्ष मर्का पर्न जान्छ । प्राइम विलेट देशमा उत्पादन नहुने हुँदा विदेशबाट आयात गर्नु बाध्यता रहेको पनि उनले बताए ।

यस्तै रोलिङ मिल्स एसोसिएसनका उपाध्यक्ष किरण साखले भने, ‘स्थानीय व्यवसायलाई उकास्ने भनिएको छ तर यस प्रकारको उद्योगबाट उत्पादित सामान गुणस्तरयुक्त नहुने हुँदा निर्मित संरचना टिकाउ हुँदैन र राजस्व संकलनमा समेत असर पर्छ । साथै राज्य र जनताको लगानी खेर जाने देखिन्छ ।’ उनका अनुसार हाल उपभोक्ताले अत्यधिक रुचाएको विश्वप्रसिद्ध ५०० डी गे्रडको फलामे छडको माग भएको र ठूला आयोजना र राष्ट्रिय गौरवका आयोजनाहरूमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ५०० डी ग्रेड नै आवश्यक हुन्छ । स्पन्ज आइरनबाट फलामे छड उत्पादन गर्दा ५०० डी ग्रेडबराबरको गुणस्तर हुन सक्दैन, उक्त गुणस्तरको लागि आयात गरिएको प्राइम बिलेट नै चाहिन्छ । नेपाल भूकम्पीय जोखिमको देश भएको हुँदा पनि बलियो र गुणस्तरीय निर्माणको लागि न्यूनतम ५०० डी ग्रेडको विकल्प छैन ।

रोलिङ मिल्स एसोसिएसनका सदस्य अन्जान श्रेष्ठका अनुसार पत्रु पगालेर डन्डी उत्पादन गर्दा पर्यावरणमा असर पर्ने भएकोले चीनमा यस्तो प्रविधिलाई बन्द गरिएको छ भने भारतमा यस्ता उद्योगहरूलाई कडा निगरानीमा राखिएको छ । स्पन्ज आइरनबाट डन्डी बनाउँदा बिजुली खपत र रोजगारी त बढ्ने भए पनि ९० देखि ९५ प्रतिशत रोजगारी पाउने वैदेशिक नागरिक मात्र हुने र उद्योग सञ्चालन गर्न भविष्यमा पनि वैदेशिक नागरिक नभई नहुने बाध्यता सिर्जना हुने उनको भनाइ छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार

तपाईको प्रतिक्रिया