Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारट्राफिक प्रहरीले जिम्मा लगायो २१ वटा मोटरसाइकल

ट्राफिक प्रहरीले जिम्मा लगायो २१ वटा मोटरसाइकल


काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएकामध्ये २१ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये १० वटा मोटरसाइकल र ११ वटा स्कुटर रहेका छन् ।

ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोशाकको टोलीले खोजतलास गरी विभिन्न स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकलहरू महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरू बरामद गरिएको र चोरीमा संलग्न मानिसहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि तत्कालै विभिन्न प्रहरी वृत्तहरूमा पठाउने गरेको जानकारी दिए ।

उनले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको छ तर अब भने हराउनै नदिनको लागि धनी समेत विशेष चनाखो र सजक हुनुपर्ने दिन आएको बताए । उनले सवारीधनी थप जिम्मेवार र चिन्तित बन्नुपर्ने र अतिरिक्त सुरक्षाका उपयहरूको प्रयोग गर्न समेत सुझाए ।

विशेषगरी स्कुटरको सवारी दर्ता किताब (विलबुक) डिकीमै राख्ने चलन रहेको हुन्छ, चोरीपश्चात् नम्बर प्लेट समेत परिवर्तन नगरी ट्राफिक चेकिङमा सोही ब्लुबुक देखाउने गरेको समेत पाइएको छ, कतिपय अवस्थामा चाबीसहित स्कुटरहरू हराउने गरेको धनीले जानकारी दिने गरेको एसएसपी भट्टराईले स्मरण गरे ।

पछिल्लो समय उपत्यकाबाट दुईपांग्रे सवारीसाधनमध्ये डियो स्कुटर र पल्सर मोटरसाइकल बढी चोरी हुनेगरेको महाशाखाको तथ्यांकले देखाएको छ । धनीले दिएको निवेदन हुलियाको आधारमा विभिन्न पार्किङ स्थलहरूबाट समेत नियन्त्रणमा लिएका महाशाखाले जनाएको छ ।

महाशाखाले पछिल्लो समय सवारीसाधन चोरीका घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी एवं परिणाममुखी बनाउन सादा पोशाकमा थप ट्राफिक प्रहरी परिचालन गरेको छ ।

यस आर्थिक वर्षमा हराएका तीन सय २६ मोटरसाइकलमध्ये एक सय ४६ मोटरसाइकल नियन्त्रणमा लिएको छ । एक सय ४६ मध्ये एक सय २२ वटा मोटरसाइकल सम्बन्धितधनीलाई जिम्मा लगाएको र अन्य २४ वटाको धनी पत्ता लगाउने कार्य भैरहेको महाशाखाले जनाएको छ ।

मोटरसाइकल चोरीमा संलग्न १९ जना व्यक्तिलाई विभिन्न स्थानहरूबाट चोरीका मोटरसाइकलसहित पक्राउ गरी सम्बन्धित प्रहरी वृत्तहरूमा कारबाहीको लागि पठाएको समेत महशाखाले जनाएको छ ।

चाडपर्वको मौका छोपी मोटरसाइकल चोरीका घटनाहरू बढ्न सक्ने आकलन गरी विशेष सुरक्षा योजना कार्यान्वय गर्न थप सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरी चेकजाँचलाई समेत कडाइ गरेको छ । चाडपर्वको समयमा किनमेल गर्ने भीडभाड हुने स्थानहरूमा जथाभावी पार्किङ नगर्न र अतिरिक्त लकहरूको प्रयोग गरी सुरक्षाका उपायहरू अपनाउन महाशाखाले विशेष अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया