Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ क्षेत्रको कुल निक्षेप ४८ खर्ब ७७ अर्ब

बैंकिङ क्षेत्रको कुल निक्षेप ४८ खर्ब ७७ अर्ब

संस्थागत निक्षेपको अंश ३२ दशमलव दुई प्रतिशत


काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप ४८ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६१ वटा संस्थाहरुले यही फागुनको पहिलो हप्तासम्ममा उक्त अनुपातमा निक्षेप संकलन गरेका हुन् ।

यो निक्षेपमा वाणिज्य बैंकहरुले मात्र संकलन गरेको कुल निक्षेप ४३ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुले संकलन गरेको कुल निक्षेप पाँच खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम भने ४७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुको मात्र कुल कर्जा ४१ खर्ब ५८ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक फाइनान्स कम्पनीहरुको कुल कर्जा पाँच खर्ब २३ रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा भने बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप तीन दशमलव आठ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप नौ दशमलव दुई प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५ दशमलव पाँच प्रतिशतले बढेको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः आठ दशमलव पाँच प्रतिशत, ३० दशमलव तीन प्रतिशत र ५४ दशमलव पाँच प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः आठ दशमलव पाँच प्रतिशत, ३३ दशमलव छ प्रतिशत र ४९ दशमलव दुई प्रतिशत रहेको थियो । २०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३२ दशमलव दुई प्रतिशत रहेको छ । २०७७ पुस मसान्तमा यस्तो निक्षेपको अंश ४२ दशमलव पाँच प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२ दशमलव एक प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११ दशमलव चार प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २८ प्रतिशतले बढेको छ । यसैगरी चालू आर्थिक वर्षको पुस मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ११ दशमलव आठ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १२ दशमलव सात प्रतिशतले र फाइनान्स कम्पनीहरुको कर्जा प्रवाह २१ प्रतिशतले बढेको छ । २०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव पाँच प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव छ प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७७ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६ दशमलव तीन प्रतिशत र १२ दशमलव दुई प्रतिशत रहेको थियो ।

चालू आर्थिक वर्षको छ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १३ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११ दशमलव नौ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा आठ दशमलव पाँच प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १२ दशमलव सात प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा पाँच दशमलव एक प्रतिशतले बढेको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १० प्रतिशतले, ओभरड्राफ्ट कर्जा २१ दशमलव एक प्रतिशतले, डिमान्ड तथा अन्य चालू पुँजी कर्जा १० दशमलव नौ प्रतिशतले, रियलस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १२ दशमलव आठ प्रतिशतले र हायर पर्चेज कर्जा चार दशमलव नौ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट अर्थात् आयात कर्जा १४ दशमलव दुई प्रतिशतले र मार्जिन प्रकृति कर्जा छ दशमलव दुई प्रतिशतले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया