Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्यानडामा रोजगारी दिने नाममा लाखौं ठग्दै गिरोह

क्यानडामा रोजगारी दिने नाममा लाखौं ठग्दै गिरोह


काठमाडौं । क्यानडामा आकर्षक रोजगारी प्रदान गर्ने भन्दै एक गिरोहले युवाहरुमार्फत लाखौँ ठगी गरेको छ । यसरी ठगी गर्नेमा काठमाडौं चक्रपथका शंकर प्रसाद नेपाल र अच्युत नेपाल (दाजुभाइ), रामेछापका सुरज श्रेष्ठ, चाबहिलका महेश्वर श्रेष्ठ, पोखराका कमल खड्का र इलामाका सोनम लामासहित छ सदस्य छन् । काठमाडौं बस्दै आएका उनीहरु युवाहरुलाई क्यानडा पठाइदिने भन्दै ठगीपश्चात् पनि काठमाडौंमा रहेको बताइएको छ ।

उनीहरुले युवाहरुलाई क्यानडाका रेष्टुरेन्टमा काम लगाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने गरेको पीडित ३७ वर्षीय डम्बर बहादुर तामाङले आर्थिक दैनिकलाई बताए । क्यानडामा मासिक साढे दुई लाख कमाइ हुने भन्दै उनीहरुले तामाङ र उनका साथीहरुमार्फत लाखौँ रुपैयाँ ठगी गरेका हुन् । पीडितहरुमा नवलपरासीका ३२ वर्षीय दुर्गाबहादुर थारु र अन्य साथीहरु रहेको तामाङले बताए ।

दाजुभाइद्वय नेपालले कामदार भिसामा क्यानडा पठाइदिने भन्दै तामाङमार्फत मात्रै १६ लाख रुपैयाँ लिएका थिए । ‘पटक–पटक गरेर मैले रकम नेपाल, लामा र श्रेष्ठको समूहलाई दिएको थिए तर उनीहरुले क्यानडा पठाउन सकेनन् रकम पनि फिर्ता दिएनन्’, पीडित गुरुङले आर्थिक दैनिकसँग भने, ‘खाना प्याकेजिङको काम लगाइदिने आश्वासन दिएर उनीहरुले आफूसँग रकम लिएका थिए । क्यानडा पठाउने भन्दै नयाँ दिल्लीसम्म लगे पनि क्यानडा पठाउन भने उनीहरुले सकेनन् ।’

तामाङ, थारु र अन्य साथीहरुलाई उनीहरुले नयाँ दिल्लीसम्म लगेर झुक्याउने काम गरेका थिए । नयाँ दिल्ली लगेर आश्वासन देखाई थप रकम लिने योजनाअनुरुप त्यहाँ लगिएको पीडितहरुको भनाइ छ ।

रकम लिने समयमा श्रेष्ठले क्यानडाबाट कागजातहरु पठाएको भन्दै तामाङलाई देखाउने गरेका थिए । ‘क्यानडाको कम्पनीले कामदार पठाउन भन्दै पत्र काटेको भनेर हामीलाई देखाउने गरेको थियो’, तामाङले भने, ‘तर ती सबै झूटा कागजपत्र रहेछन् । बरु हामी नाकाबन्दीमा क्यानडा जान भनेर नयाँ दिल्लीमा थियौँ । नाकाबन्दीका कारण नेपाल फर्किन समेत ज्यादै कठिन भयो, हामीलाई यी ठगहरुले साह्रै दुःख दिए ।’ क्यानडा जान नपाएसँगै रकम फिर्ता लिन विभिन्न प्रयास गरे भने ठगी गर्नेहरु भागेको तर रकम दिन तयार नभएको पीडितहरुको भनाइ छ । पहिले सम्पर्क गर्दा भोलि दिने भन्दै टार्ने गरेकोमा पछिल्लो समय भने उनीहरु मोबाइल बन्द गरेर बसेको र आफूहरुको सम्पर्कमा नआएको तामाङले बताए ।

तामाङ यसअघि मलेसियामा काम गरी फर्केका व्यक्ति हुन् । उनलाई वैदेशिक रोजगारी अर्थात् विदेशी भूमिमा काम गरेको अनुभव त्यहाँ पाइने पीडाहरुबारे जानकारी छ । आफ्नो आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यका साथ उनी साथीहरुसँग क्यानडा जान तयार भएका थिए । आकर्षक काम र तलबका कारण उनले साथीहरुसँग मिलेर उक्त रकम पटक–पटक गरी नेपाल, श्रेष्ठ, खड्का र लामालाई दिएका थिए । विदेशबाट फर्केका र विदेश जाने तयारीमा रहेका युवाहरु यसरी ठगीमा पर्ने गरेको वैदेशिक रोजगार विभागका अधिकारीहरु बताउँछन् । पछिल्लो समय सामाजिक सञ्जालमा क्यानडा, युरोप अमेरिकालगायतका मुलुकहरुमा पठाइदिने भन्दै विज्ञापन गरी ठगीका घटनाहरुमा वृद्धि भएको उनीहरुको भनाइ छ ।

पीडितहरुलाई प्रहरीको असहयोग
ठगी गिरोहका नाइके शंकर नेपाललाई पक्राउ पुर्जी जारी गरिसकेको अवस्थामा प्रहरीले पक्राउ गरेको छैन । पक्राउ पुर्जी जारी भइसकेको अवस्थामा पीडितहरुले पक्राउ गरिदिन प्रहरीलाई आग्रह गर्दा प्रहरीले अमानवीय व्यवहार देखाएका छन् । महाराजगञ्ज प्रहरी वृत्त, धुम्वाराही प्रहरी वृत्त र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले असहयोग गरेको तामाङले बताए । महाराजगञ्ज प्रहरी वृत्तका अधिकारीहरुले तिमीहरु आफैँ प्रहरी बन अनि नेपाललाई पक्राउ गरेर ल्याऊ भन्ने जवाफ दिएको उनले बताए ।

‘विभिन्न प्रहरी कार्यालय धायौँ तर कहीँ कतैबाट सहयोग मिलेन’, उनले भने, ‘पक्राउ पुर्जी जारी गरिसकेको छ ठगी गर्ने व्यक्ति काठमाडौंमा रहेको अवस्थामा प्रहरीले पक्राउ नगरी हामीहरुलाई असहयोग गरेको छ ।’ वैदेशिक रोजगार विभागले पीडितहरुको उजुरी तथा प्रमाणका आधारमा प्रहरीलाई पक्राउ गरिदिन पत्र पठाएको छ । तर प्रहरीको बेवास्ताका कारण ठगी गर्ने सदस्यहरु पक्राउ परेका छैनन्, जसले गर्दा पीडितहरुले आफ्नो रकम फिर्ता लिन तथा न्याय पाउनसकेका छैनन् । प्रहरी कार्यालयहरुले आफ्नो क्षेत्रभित्र ठगी गर्ने व्यक्ति नपर्ने भन्दै पन्छिने गरेको छ । पछिल्लो समय प्रहरीहरुले नागरिक तथा पीडितहरुलाई सहयोग गर्नेभन्दा पनि असहयोग गर्दै आएको पाइन्छ । यसमा सुधार गर्नु आवश्यक छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया