Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहंगा चार वस्तुमाथिको आयात प्रतिबन्ध हट्यो

महंगा चार वस्तुमाथिको आयात प्रतिबन्ध हट्यो


काठमाडौं । गत वैशाख १३ गतेदेखि १० वस्तुमा लाग्दै आएको आयात प्रतिबन्ध सरकारले मंसिर मसान्तपछि पूर्ण रुपमा हटाउने निर्णय गरेको छ । प्रतिबन्ध लगाइएका दश वस्तुमध्ये छवटा वस्तुको यसअघि नै प्रतिबन्ध हटाइए पनि चारवटा वस्तुमाथिको प्रतिबन्ध यही मंसिर मसान्तसम्म कायम थियो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लागू भइरहेका चार वस्तुको आयात पनि खुलाउने निर्णय गरेपछि अब बजारमा केही चहलपहल हुने अपेक्षा व्यवसायीहरुले गरेका छन् ।

दश वस्तुमध्ये पनि मोबाइल सेट र गाडी आयातमा लागेको प्रतिबन्धको कारण विदेशी मुद्रा सञ्चिति बढेको थियो । ती वस्तुमा लगाइएको आयात प्रतिबन्धको सुरुदेखि नै व्यापारीहरुले विरोध गर्दै आएका थिए ।

दश किसिमका वस्तुमध्ये यही मंसिर मसान्तसम्म तयारी मदिरा, छ सय अमेरिकी डलरमाथिका मोबाइल सेट जिप, कार र भ्यानहरु र दुई सय ५० सीसीमाथिका मोटरसाइकलमा आयात प्रतिबन्ध जारी रहेको कारण सरकारी राजस्वमा भने ठूलो नोक्सानी भएको छ । त्यस्तै, व्यापारीहरुको व्यापार नराम्रोसँग खुम्चिएको छ । यद्यपि पर्याप्त पैसा अभावमा आयात प्रतिबन्ध हटाइए पनि पहिला जसरी व्यवसाय चलायमान हुने अवस्था भने छैन । चुनावअघि नै गाडीमाथिको आयात प्रतिबन्ध हटाउन व्यापारीहरुले लबिङ्ग गरे पनि उनीहरु सफल भएका थिएनन् ।

वैशाखदेखिको प्रतिबन्धले विदेशी मुदा सञ्चितिमा केही सुधार आए पनि अहिले उठेको राजस्वले सरकारको चालू खर्च पनि धान्न मुश्किल पर्ने नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका शीर्ष नेताहरुसँगको भेटमा बताउँदै आएका छन् । आयात प्रतिबन्धले राजस्वमा थप चाप पर्ने देखिएपछि सरकारले बाध्य भएर खुला गरेको हो । तर, चुनावपछि कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत नल्याएको र चुनावमा बनेको गठबन्धनको पनि बहुमत नआएको कारण राजनीतिक अस्थिरता हुने निश्चित जस्तै छ ।

संविधानअनुसार चुनावपछि बन्ने सरकारविरुद्ध पहिलो दुई वर्ष अविश्वास प्रस्ताव नआउने भए पनि राजनीतिक खिचातानी बढ्ने भएकाले आर्थिक क्षेत्रले सुरक्षित महसुस गर्ने देखिँदैन । त्यही भएर आयात प्रतिबन्ध खुले पनि ती चार वस्तुको कारोबार पहिला जसरी हुने देखिँदैन ।

विदेशी मुद्राको सञ्चिति घटेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी निकासी तथा पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी १० वस्तुको आयात (पैठारी) पूर्ण रुपमा बन्देज लगाएको थियो । सोही ऐनलाई टेकेर केही वस्तुको प्रतिबन्ध हटाइए पनि चार किसिमका वस्तुमाथिको प्रतिबन्ध सरकारले कायम नै राखेको थियो ।

पहिलो पटक असार मसान्तसम्म प्रतिबन्ध लगाएको सरकारले फेरि साउन लागेपछि भदौ १४ गतेसम्मका लागि प्रतिबन्ध जारी राखेको थियो । त्यसपछि कुरकुरे, खेलौना, खेल्ने तासलगायतका वस्तुहरुको आयात खुलाउँदै लगे पनि चार किसिमका वस्तुहरुको आयात भने खुलाएको थिएन ।

आयात प्रतिबन्ध लागेर फुकुवा भएका वस्तुहरु :
१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु (एचएस कोड १९०५९०२०)
२. सबै प्रकारका तयारी मदिरा
३. चुरोट तथा सुर्तीजन्य वस्तु
४. हिरा
५. मोबाईल सेट (छ सय अमेरिकी डलर भन्दा माथिका)
६. रंगिन टेलिभिजन (३२ इन्च माथिका)
७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शवबहान बाहेक)
८. मोटरसाइकल (२५० सीसीमाथिका)
९. सबै प्रकारका खेलौना
१०. खेल्ने तास


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया