Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्वास्थ्य क्षेत्रमा रुपन्देहीका डाक्टरलाई नयाँ सफलता

स्वास्थ्य क्षेत्रमा रुपन्देहीका डाक्टरलाई नयाँ सफलता


हरेक क्षेत्रमा दिन/प्रतिदिन अगाडी बढ्दै गएको रुपन्देही स्वास्थ्य क्षेत्रमा पनि थप अगाडी बढ्दै गएको छ । केही जटिल रोगहरु बाहेक अन्य सबै प्रकारका रोगहरु निको पार्न सक्ने सक्षम र सवल डाक्टरहरुको कारण रुपन्देहीमा स्वास्थ्य क्षेत्रले प्रगति गर्दै गएको हो । तिनै सक्षम र सवल डाक्टरको सूचिमा पर्ने मध्येका एक डाक्टर हुन सुभाष चन्द्र चौधरी । २०३३ सालमा बाराको निजगढमा जन्मिएका चौधरीले नवलपरासीबाट प्रवेशिका परीक्षा, भारतको महाराजगंज जिल्लाबाट आईएस्सी, क्वाङ्सी मेडिकल युनिभर्सिटी नाङनेङ चाईनाबाट एमविवियस, विश्वको उत्कृष्ट दशमा पर्ने चाईनाकै सन यात सेन मेडिकल युनिभर्सिटीबाट एमयस गरेका चौधरीले दक्षिण कोरियाको सउल नेश्नल युनिभर्सिटीबाट फेलोसिप युरोलोजी अर्थात मुत्ररोग सम्बन्धी विशेषज्ञता हासिल गरेका छन् ।

दुई बर्ष युनाईटेड मिसन अस्पताल तानसेन पाल्पा र एक बर्ष छ महिना युनिभर्सल कलेज अफ मेडिकल शाईन्स एण्ड टिचिङ हस्पिटल (युसिएमयस) भैरहवामा पनि काम गरिसकेका चौधरी हाल लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल र सिद्धबाबा ईन्टरनेश्नल हस्पिटल प्रा.लि. बुटवलमा मुत्ररोग विशेषज्ञ (यूरोलोजिष्ट) रुपमासेवारत छन् । पेल्भी यूरेट्रिक जङसन अफट्रक्सन (पियूजे–ओ) अर्थात पिसाब नलीको माथिल्लो भागमा हुने साँघुरोपना हो । जसको कारणले मिर्गौला सुनिने, मिर्गौलाको कार्यक्षमता घट्दै जाने र अन्त्यमा मिर्गाैला फेल भई ज्यान जानसक्ने सम्भावना पनि हुन्छ ।

डाक्टर चौधरीका अनुसार अहिले सम्म पियूजे–ओ रोग के कति कारणबाट लाग्छ भन्ने मेडिकल शाईन्सले पुष्टि गर्न सकेको छैन । यो रोग अन्य विभिन्न कारणहरुले पनि लाग्न सक्छ । जन्मजात अर्थात प्राकृतिक रुपमै पिसाब नलीको माथिल्लो, बीचको र तल्लो भागमा साँघुरोपना हुन्छ । उक्त साँघुरोपना झन साँघुरो हुँदै गएमा मुत्र प्रवाहमा असर पर्दछ । जसको कारणले ईन्फेक्सन हुने, पत्थरी पर्ने वा क्यान्सर समेत हुन सक्ने सम्भावना उच्च हुन्छ । यो रोग धेरै बच्चाहरुलाई लाग्ने भएतापनि बयस्क र बृद्ध उमेर अवस्थाकाहरुलाई पनि फ्याट्ट फुट्ट लाग्ने गरेको पाईन्छ । एक्सरे, भिडियो एक्सरे र सिटीस्क्यान गरेर रोग लागे नलागेको पत्ता लगाउन सकिन्छ । कहिलेकांही अप्रत्यासित तरिकाले अन्य कुनै रोगको उपचार गरिरहेको समयमा भिडियो एक्सरे गर्दा अचानक यो रोग लागेको थाह हुन पनि सक्छ ।

प्राय ईन्फेक्सन, पत्थरी र क्यान्सर लागेको व्यक्तिमा देखिने लक्षणहरु देखिन्छन् । उक्त रोग लागेका व्यक्तिहरुमा दाईने वा देब्रे कोख दुख्ने, पिसाब पोल्ने पिसाबमा रगत देखिने जस्ता लक्षणहरु हुने डाक्टर चौधरीले बताए । चौधरीले पियूजी–ओ रोगको उपचार विधी सल्यक्रिया नै एक मात्र उपाय भएको बताए । उनले भने– पियूजी–ओ रोगको उपचार बिधी दुई प्रकारको हुन्छ । एक चिरफार गरेर गर्ने विधी र अर्को लापारोस्कोपी विधी (दुरविनको साहयताले गरिने सल्यक्रिया) हो । चिरफार विधी अन्र्तगत प्रदेश नं. ५ मै पहिलो पटक रुपन्देहीका अनिल सुनारको लुम्बिनी प्रादेशिक अस्पतालमा मैले नै सफलतापूर्वक सल्यक्रिया गरेको छु । दोश्रो लापारोस्कोपी विधी अन्र्तगत नवलपरासीका संजय चौधरीको सिद्धबाबा ईन्टरनेश्नल हस्पिटल प्रा.लि.मा चिरफार नगरी दुरविनबाट हेरेर मसिनो प्वाल खोपी लापारोस्कोपी पायलोप्लाष्टीको बिधीबाटसफल उपचार भएको छ । जुन प्रदेश नं. ५ कै स्वास्थ्य क्षेत्रमा भएको पहिलो सफलता हो ।

डाक्टर सुभाष चन्द्र चौधरीद्वारा गरिएका पियूजे–ओ रोगका बिरामीकोदुई सफल सल्यक्रियाले यस क्षेत्रका उक्त रोगका बिरामीलाई काठमाडौं वा बाहिर जानु पर्ने बाध्यतात्मक अवस्थाको अन्त्य गराएको छ । आफ्नै गाउँठाउँको अस्पतालबाट सफल उपचार गराएर स्वस्थ्य जिवन विताएका नवलपरासीका संजय चौधरी र रुपन्देहीका अनिल सुनारले डाक्टर सुभाष चन्द्र चौधरीलाई भगवानकै दर्जामा राख्दछन् । उनले भने–डाक्टर भगवानका रुप हुन भन्ने सुनेको थिए तर आज प्रष्ट भए,हो रहेछ । लुम्बिनी प्रादेशिक अस्पतालमा मलाई लागेको रोगको उपचार गर्ने डाक्टर नभएको भए सायद मलाई उपचार गर्न काठमाडौं वा भारत जानु पर्ने थियो । पैसा पनि धेरै खर्च गर्नु पर्ने अवस्था आउथ्यो । जाँदा जाँदै ढिलो भई ज्यान जोखिमको सम्भावना पनि उच्च हुन्थ्यो होला । भाग्यले यहि उपचार गर्ने अवसर पाए । खुशी, सन्तुष्ट र स्वस्थ्य छु धेरै धेरै धन्यवाद ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया