Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमधेश प्रदेशको औद्योगिक क्षेत्रमा १ खर्ब २ अर्ब कर्जा प्रवाह

मधेश प्रदेशको औद्योगिक क्षेत्रमा १ खर्ब २ अर्ब कर्जा प्रवाह


काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुले मधेश प्रदेशको औद्योगिक क्षेत्रमा मात्र कुल एक खर्ब दुई अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्र्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब पाँच अर्ब २३ करोड रुपैयाँ रहेको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनसम्बन्धी मधेश प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनअनुसार सो प्रदेशअन्तर्गतका आठवटा जिल्लाहरुमा उक्त परिमाणमा कर्जा प्रवाह भएको हो । मधेश प्रदेशमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा समेत गरी कुल आठ जिल्ला रहेकोमा सबैभन्दा बढी औद्योगिक कर्जा पर्सा जिल्लामा र सबैभन्दा कम औद्योगिक कर्जा सप्तरी जिल्लामा प्रवाह भएको छ । प्रतिवेदनअनुसार पर्सा जिल्लामा कुल कर्जाको ५६ दशमलव पाँच प्रतिशत अर्थात् ५७ अर्ब २४ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह हुँदा सप्तरी जिल्लामा कुल कर्जाको दुई दशमलव ५१ प्रतिशत अर्थात् दुई अर्ब ५६ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

मधेश प्रदेशमा सबैभन्दा धेरै उद्योगहरू पर्सा जिल्लामा रहेकोले पर्सा जिल्लामा सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । यीबाहेक सिरहा जिल्लामा कुल कर्जाको छ दशमलव २१ प्रतिशत अर्थात् छ अर्ब ४५ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह हुँदा धनुषा जिल्लामा भने कुल कर्जाको १० दशमलव ३६ प्रतिशत अर्थात् १० अर्ब ५८ करोड सात लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ । यसैगरी महोत्तरीमा कुल कर्जाको छ दशमलव ९४ प्रतिशत अर्थात् सात अर्ब नौ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह हुँदा सर्लाहीमा कुल कर्जाको पाँच दशमलव ९७ प्रतिशत अर्थात् छ अर्ब १० करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

प्रतिवेदनअनुसार रौतहट जिल्लामा भने कुल कर्जाको पाँच दशमलव १२ प्र्र्रतिशत अर्थात् पाँच अर्ब २३ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह हुँदा बारा जिल्लामा कुल कर्जाको छ दशमलव ७२ प्रतिशत अर्थात् छ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ औद्योगिक कर्जा प्रवाह भएको छ । गत आवमा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५२ दशमलव ३९ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३० दशमालव ५७ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादनतर्फ ७.६२ प्रतिशत, निर्माण उद्योगतर्फ सात दशमलव २७ प्रतिशत, खानी उद्योगतर्फ एक दशमलव ६६ प्रतिशत र विद्युत्, ग्यास तथा पानी उद्योगतर्फ शून्य दशमलव ४८ प्रतिशत कर्जा प्रवाह भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा वर्षमा खानी, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक, कृषि, वन तथा पेय पदार्थ उत्पादन र गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगतर्फको कर्जामा क्रमशः ७४ दशमलव ९९ प्रतिशत, ४४ दशमलव ७५ प्रतिशत, १९ दशमलव ४२ प्रतिशत र दुई दशमलव २९ प्रतिशतले वृद्धि भए पनि निर्माण र विद्युत् ग्यास तथा पानीसम्बन्धी उद्योगतर्फको कर्जामा क्रमशः ६१ दशमलव ८५ प्रतिशत र ४८ दशमलव ७२ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा मधेश प्रदेशमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्तसहित) को सञ्चालनमा रहेका कुल शाखा संख्या एक हजार सात सय ४५ रहेको छ । गत वर्षको सोही अवधिमा यो प्रदेशमा सञ्चालित कुल शाखा एक हजार छ सय ७ रहेको थियो । जसमध्ये वाणिज्य बैंकका पाँच सय ७२, विकास बैंकका ८४, फाइनान्स कम्पनीका ३८ र लघुवित्त वित्तीय संस्थाहरूको एक हजार ५१ शाखाहरू छन् । जिल्लागत आधारमा शाखाहरूको उपस्थिति हेर्दा सबैभन्दा बढी शाखा बारा जिल्लामा र कम शाखा रौतहट जिल्लामा देखिएको छ । प्रतिवेदनअनुसार बारामा दुई सय ५० वटा शाखाहरु सञ्चालन हुँदा रौतहटमा एक सय ८० वटा शाखाहरु सञ्चालनमा रहेको देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया