Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीमा रोकिएन ठगी आधा अर्ब बढीको ठगी

वैदेशिक रोजगारीमा रोकिएन ठगी आधा अर्ब बढीको ठगी


काठमाडौं,नेपाली नागरिकलाई विदेश पठाउने भन्दै व्यक्ति तथा संस्थाले ठगी गर्दै आएको पाइन्छ । नेपाली नागरिकलाई विदेशमा धेरै कमाइ हुने प्रलोभनमा पारी व्यक्ति तथा संस्था अर्थात् मेनपावरले ठगी गर्ने गरेका छन् ।ठगी गर्ने क्रममा पछिल्लो समय बाँसबारीस्थित सी स्टार सर्भिसेस एण्ड ट्रेनिङ सेन्टर प्रालिले विदेश पठाउने नाममा करोडौँ रुपैयाँ ठगी गरेको थियो । वैदेशिक रोजगार विभागले शनिबार उक्त कम्पनीबाट नौ सय ९७ जनाको राहदानी बरामद गरेको थियो । विभागले चलाएको ‘स्टिङ अप्रेसन’को क्रममा स्कुटर र झोलामा राखेको अवस्थामा सो राहदानी बरामद गरेको हो ।

यति मात्र होइन पछिल्लो समय विदेश पठाउने भन्दै सामाजिक सञ्जालमा विज्ञापन राखी ठगी गर्न सहज भएको समेत विभागका अधिकारीहरु बताउँछन् । नेपालीको लागि वैदेशिक रोजगारी जाने एउटा ‘ट्रेन्ड’ नै बनिसकेको अवस्थामा विदेश जाने मनसाय बोकेका नागरिकहरुले सामाजिक सञ्जालको विज्ञापनलाई सहजै विश्वास गर्दा ठगी बढेको उनीहरुको भनाइ छ ।

राम्रो कमाइ, सहज वातावरणको कार्यस्थल, व्यक्ति सुरक्षा उत्कृष्टलगायतका प्रलोभन देखाई एजेन्ट तथा मेनपावरले ठगी गर्ने गरेका छन् । यसरी ठगी गरेको भन्दै चालू आर्थिक वर्षको चार महिनामा एक हजार तीन सय ४० वटा उजुरी विभागसमक्ष परेको छ । जसमा संस्थागत तीन सय ४० वटा र व्यक्तिगत एक हजार वटा रहेको छ । संस्थागत उजुरीमा चार करोड ८७ लाख ३२ हजार रुपैयाँ र व्यक्तिगत उजुरीमा ७६ करोड नौ लाख ८३ हजार रुपैयाँ दाबी गरिएको छ ।

कात्तिक महिनामा मात्र संस्थागत १८ वटा र व्यक्तिगत ६३ वटा उजुरी परेको थियो । संस्थागत उजुरीमा ३९ लाख ६८ हजार रुपैयाँ र व्यक्तिगत उजुरीमा पाँच करोड ८१ लाख १५ हजार रुपैयाँ दाबी गरिएको छ । ठगी बढिरहेसँगै यसलाई नियन्त्रण गर्न सरकारी संयन्त्र लागेको पाइन्छ । तर ठगीको तुलनामा त्यो लाभदायी हुनसकेको छैन । बुधबार मात्रै प्रहरीले सामाजिक सञ्जालमा विदेशमा आकर्षक रोजगारी भनी विज्ञापन गरी ठगी गर्ने समूहलाई पक्राउ ग¥यो ।

फ्रान्स, स्विट्जरल्यान्डलगायतका देशहरुमा आकर्षक तलबसहित रोजगारी भन्दै ठगी गर्ने सुर्खेत भेरीगंगा नगरपालिका–३ घर भई काठमाडौं नागार्जुन नगरपालिका–४ रानीपाटी बस्ने २३ वर्षीय मनम घर्तीलाई प्रहरीले पक्राउ गरेको थियो । घर्तीले फेसबुक, वाट्सएम, आईएमओजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी विदेश जाने नागरिकलाई उनको बैंक खातामा रकम जम्मा गर्न लगाएका थिए ।
यस्तै सामाजिक सञ्जालमार्फत नै विज्ञापन गरी भूतपूर्व नेपाली सेनाहरुको करोड बढी ठगी गरिएको थियो । ठगी समूहका मुख्य योजनकार जय बहादुर बि.कले संयुक्त अरब इमिरेट्स (यूएई) मा पठाउने भन्दै २१ जना भूतपूर्व सैनिकमार्फत ७६ लाख ९० हजार रुपैयाँ ठगी गरेको थियो । सोसँगै उक्त ठगी रकम र सो रकमको ५० प्रतिशत हर्जना रकम ठगी गर्ने समूहमार्फत प्राप्त गरिदिन आग्रह गर्दै पीडितहरुले वैदेशिक रोजगार न्यायाधिकरण समक्ष उजुरी दिएका थिए ।

उजुरी आएसँगै विभागले मिलापत्र तथा क्षतिपूर्ति भराउने गरेको छ । समीक्षा अवधिमा एक सय ७५ वटा मिलापत्र गराएको विभागका प्रवक्ता कृष्ण भुसालले जानकारी दिए । उनका अनुसार उक्त मिलापत्रबाट १३ करोड ९८ लाख ४५ हजार रुपैयाँ पीडितले प्राप्त गरेका छन् । एकातर्फ विदेश पठाउने नाममा ठगी बढेको छ भने अर्कोतर्फ विदेश जान चाहने युवाको संख्या समेत बढेको पाइन्छ । जसले गर्दा ठगीलाई नियन्त्रणमा लिन नसकेको विभागले जनाएको छ । विदेश जाने सचेत भएमा ठगीमा नियन्त्रण आउने विभागका अधिकारीहरुको भनाइ छ । यसैबीच चालू आर्थिक वर्षको चार महिनाको अवधिमा विदेश जाने भन्दै तीन लाख ४७ हजार तीन सय ४० जना नेपाली नागरिकले श्रम स्वीकृति लिएका छन् । जसमा तीन लाख १५ हजार एक सय ५१ जना पुरुष र ३२ हजार एक सय ८९ जना महिला रहेको विभागले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया