जातीय हिंसा चर्केको मणिपुरको पछिल्लो अवस्था के छ ?
काठमाडौं,भारतको पूर्वोत्तर राज्य मणिपुरमा जातीय भिडन्तहरू हुँदा दर्जनौँ मानिसले ज्यान गुमाएका छन्।राज्यमा भिडहरूले घर, सवारीसाधन, गिर्जाघर तथा मन्दिरहरूमा आक्रमण गरेका छन्।
बहुसङ्ख्यक मैतेई समुदायलाई पनि अनुसूचित जातिमा सूचीकृत गर्नेबारे विचार गर्न न्यायालयले सरकारलाई भनेपछि त्यसको विरोधमा गत साता जनजाति समुदायहरू विरोधमा ओर्लिएपश्चात् हिंसा शुरू भएको थियो।करिब ५० प्रतिशत जनसङ्ख्या रहेको मैतेई समुदायले अनुसूचित जातिमा सूचीकृत गर्नुपर्ने माग वर्षौँदेखि गर्दै आएको छ।
हिंसाको कारण के?
त्यो माग पूरा भएपछि वन क्षेत्रमा पहुँचको सुनिश्चितता हुनुका साथै सरकारी जागिरमा मैतेई समुदायको एउटा निश्चित भाग सुनिश्चित गर्नेछ।
उक्त अनुसूचित जातिमा सूचीकृत खासगरी कुकी समुदाय पहाडी जिल्लामा बसोबास गर्छ।मणिपुरको उच्च न्यायालयले भने जस्तै मैतेई समुदायलाई अनुसूचित जातिमा सूचीकृत गरिएमा वन क्षेत्रमा कायम पुर्ख्यौलीदेखिको आफ्नो नियन्त्रण गुम्न सक्ने कुकी समुदायको चिन्ता छ।
सोमवार एउटा समाचार च्यानलसँग कुरा गर्दै भारतीय गृहमन्त्री अमित शाहले मणिपुरको स्थिति सामान्य बन्दै भएको दाबी गरेका छन्।
मैतेई समुदायलाई अनुसूचित जातिमा सूचीकृत गर्ने विषयमा कुनै निर्णय लिनुअघि मणिपुर सरकारले सम्बन्धित सबै पक्षसँग परामर्श गर्ने उनले बताए।शान्ति, सुव्यवस्था बहाली गर्नका लागि हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको छ भने कैयौँ जिल्लामा इन्टरनेट काटिएको छ।गत साता राज्यका गभर्नरले स्थिति नियन्त्रणमा लिन “देख्नासाथ गोली हान्न” आदेश दिएका थिए।
हजारौँ व्यक्तिको उद्धार
उद्धार गरी २३,००० भन्दा बढी मानिसलाई अस्थायी शिविरमा राखिएको सेनाले आइतवार एउटा वक्तव्यमार्फत् जनाएको छ।उद्धार गरिएकामध्ये ठूलो सङ्ख्यामा महिला तथा बालबालिका रहेका छन्।
स्थानीय बासिन्दाले आफ्नो भविष्यलाई लिएर चिन्ता लागेको बताएका छन्।“अहिले हामीलाई सुरक्षित महसुस भएको छैन,” मणिपुरको राजधानी इम्फालका बासिन्दा एस सांग्लुन सिम्तेले समाचार संस्था एएफपीलाई भने।
कुकी समुदायका ती २९ वर्षीय व्यक्ति परिवारका ११ जनासहित इम्फाल विमानस्थलबाहिर पालमुनि बसिरहेका छन्।“प्रभावित सबै समुदायका सर्वसाधारणको उद्धार गर्न, हिंसा नियन्त्रण गर्न र स्थिति सामान्य अवस्थामा फर्काउन ९६ घण्टा निरन्तर लागिपरेपछि” हिंसामा विराम लागेको आइतवार सेनाले दाबी गरेको थियो।
तर राज्यका थुप्रै हिस्सामा स्थिति अझै तनावपूर्ण छ। स्थानीय बासिन्दाहरू सेनाको सुरक्षामा रहँदा अरू राज्यले आआफ्ना नागरिकको उद्धार गरेका छन्।
महाराष्ट्र र आन्ध्र प्रदेशजस्ता राज्यले विशेष उडानमार्फत् आफ्ना नागरिकलाई उद्धार गरी लगेका छन्।गत बुधवार हिंसा शुरू भएको थियो। इम्फाल र अरू जिल्लाहरूमा भिडहरूले सवारीसाधनमाथि तोडफोड गर्नुका साथै घर तथा पसलमा आगजनी गरेका छन्।
घरहरूमा आगजनी गरिएका र सडकहरूमा बाक्लो धुवाँका मुस्लो उडिरहेको भिडिओ तथा तस्वीरमा देखिएको थियो।
स्थिति नियन्त्रणमा ल्याइरहेको सेनाले जनाएको छ। प्रभावित क्षेत्रमा केही घण्टाका लागि निषेधाज्ञा खुकुलो पारिँदा सोमवार मानिसहरूले अत्यावश्यक सामान खरिद गरेका छन्।
प्रवासी नेपालीहरूको अवस्था के छ?
मणिपुरमा प्रवासी नेपालीहरू भए पनि यकिन सङ्ख्या थाहा नभएको अधिकारीहरू बताउँछन्।जारी हिंसामा परी नेपालीहरू कुनै अप्रिय घटनामा नपरेको दिल्लीस्थित भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले बीबीसीलाई बताए।
“नेपाली नागरिकहरूलाई केही भएको खबर हामीले कतैबाट अहिलेसम्म पाएका छैनौँ,” टेलिफोनमा उनले भने।मणिपुरमा धेरै सङ्ख्यामा नेपालीभाषी भारतीयहरू पनि रहेका छन्।
इम्फालदेखि २५ किलोमिटर पश्चिमस्थित काङ्ग्लाटाङ्बीमा बसोबास गर्ने नेपालीभाषी पत्रकार राहुल राईका अनुसार पूर्वोत्तर भारतका प्राय: सबैजसो राज्यमा नेपालीभाषीहरूको बसोबास रहेको छ।
इम्फालमा बसोबास गर्ने अवकाशप्राप्त शिक्षक एवं नेपालीभाषी लेखक भवानी अधिकारीका अनुसार सन् २०११ को जनगणनाले ६३ हजार नेपालीभाषी रहेको देखाएको थियो।(बीबीसी)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
- प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
- वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
- १० वर्षमा भारतले नेपालबाट ‘१०,००० मेगावाट बिजुली आयात गर्ने’
- नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन ?
- नक्कली शरणार्थी प्रकरणबारे ‘वास्तविकता चाँडै निर्क्योल हुने’ अमेरिकाको आशा
- गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुल्ला गर्ने समझदारी
धेरैले पढेको
- सामाजिक सुरक्षा कोषको साढे ३४ अर्ब रुपैयाँ उत्पादन र पूर्वाधारमा लगानी गरिने
- जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया