Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारलामाबगरको सुरुङभित्र सवारी चल्न थाल्यो

लामाबगरको सुरुङभित्र सवारी चल्न थाल्यो


दोलखा । दोलखाको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना क्षेत्रमा निजी क्षेत्रद्वारा निर्माण गरिएको लामाबगर सुरुङमा सवारीसाधन चल्न थालेका छन् । सरकारले आर्थिक लाभ नहुने भनी निर्माणमा खासै चासो नदिएको यो सुरुङको निजी क्षेत्रले निर्माण गरेको हो ।

बिगु गाउँपालिका–१ लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको कठिन भिरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि निजी क्षेत्रले सुरुङमार्ग निर्माण सुरु गरेको थियो । सुरुङबाट ट्याक्टर, बोलेरोलगायत मालबाहक सवारी चल्न थालेको स्थानीय केशव कार्कीले जानकारी दिए । सुरुङको लम्बाइ ११ सय मिटर रहेको छ भने सुरुङको छ मिटर उचाइ र सात मिटर गोलाइ रहेको छ । नासा हाइड्रोपावर कम्पनीले बनाउन प्रस्ताव गरेको लप्ची खोला जलविद्युत् आयोजनाले यो सुरुङमार्ग निर्माण गरेको हो ।

नासाले लप्ची खोलामा १६० मेगावाट क्षमताको आयोजना निर्माणको तयारी गरेको छ । अहिले सुरुङको मुखबाट पाँच सय मिटर टाढासम्म यातायात सञ्चालन हुन सक्ने अवस्था बनेको छ । माथिल्लो भेगका अत्यन्तै कठिन भिर सानो देउराली, अँधेरी खोला र हुरहुरेनजिक सडकको ट्याक खोल्ने काम जारी रहेको एमभी दुगडअन्तर्गतको सुमो कन्ट्रक्सनका अधिकृत हेमराज तामाङले जानकारी दिए । हेडबक्ससम्म पुग्न पहुँचमार्गको रूपमा यही सुरुङमार्ग आवश्यक भएकाले स्वदेशी जनशक्ति र सिपबाटै सुरुङमार्ग निर्माण गरिएको हो ।

लामाबगरको सुरुमै कठिन भिर भएकाले हेलिकप्टरमार्फत् एस्काभेटर र तेल लुम्नाङ र थाम्चेम्बुमा पु¥याएर हेडबक्स र आयोजनास्थलमा १२ किलोमिटर सडक ट्र्याक खोलिएको छ । लुम्नाङ र लप्ची दोलखाका हिमालपारिका गाउँहरू हुन् । सुरुङमार्ग सञ्चालनमा आएपछि अब लप्चीसम्म पनि सडक पुग्ला भन्ने आश पलाएको स्थानीय बासिन्दा कोन्जोक शेर्पाले बताए । आयोजनाले सडक निर्माण गरेपछि स्थानीयले सहज महसुस गरेका छन् । अझै पनि भिरबाट सडक छिचोल्नु चुनौतीपूर्ण छ । लामाबगरपछि चार किलोमिटर अगाडि हुरहुरे भिरमा पनि छ सय मिटरको अर्को सुरुङमार्ग बनाउने आयोजनाको तयारी छ । लप्चीसम्मको कठिन क्षेत्रमा जलविद्युत् आयोजना आफैँले सडक निर्माण गरिरहेको छ ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया