Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसामुदायिक विद्यालयहरूमा ट्राफिक सचेतना कक्षा

सामुदायिक विद्यालयहरूमा ट्राफिक सचेतना कक्षा


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सामुदायिक विद्यालयहरुमा ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । प्रहरीले काठमाडौं महानगरपालिकासँगको समन्वयमा काठमाडौं महानगरपालिकाअन्तर्गतका ८९ ओटा सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा दिन सुरु गरेको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बालबालिकामा ट्राफिक सचेतना अभिवृद्धि गराउने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताए । सचेतना कक्षामा बाटोमा हिँड्दा र वाटो काट्दा ध्यान पु¥याउनु पर्ने कुराहरु एवं सडक सुरक्षासम्बन्धी आधारभूत कुराहरु सम्बन्धमा जानकारी गराइनेछ । महानगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकालाई विद्यालयको एसेम्बलीको समयमा ट्राफिक नियम सम्वन्धी सचेतना कक्षामा सहभागी गराइने बताइएको छ । बिहीबार काठमाडौं नक्सालस्थित नन्दीरात्री माध्यमिक विद्यालय, केन्द्रीय बहिरा माध्यमिक विद्यालय, कमल आधारभूत विद्यालय, महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय र बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा अध्ययनरत एक हजार नौ सय ३० जना बालबालिकालाई सचेतना कक्षा दिएको प्रहरीले जनाएको छ ।

क्षमताभन्दा बढी सामान बोक्ने सवारी कारबाहीमा
क्षमताभन्दा बढी सामान ढुवानी गर्ने ७५ वटा ट्रक र ट्रिपरलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । भक्तपुरको सल्लाघारी–जगाती सडकखण्डमा गरिएको रात्रिकालीन चेकिङका क्रममा सवारीसाधनको हद निर्धारण गरिएभन्दा बढी मालसामान राखिएका मालवाहक सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार कारबाहीका क्रममा ३२ वटा सवारीसाधनलाई यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवाना गराइएको थियो भने ४३ वटा सवारीसाधनमा बढी भएको सामान हटाउन लगाइएको थियो । सवारीसाधनमा क्षमताभन्दा बढी सामान ढुवानी गर्दा सडक संरचनामा असर पुग्ने, साथै सवारीसाधन अनियन्त्रित भई दुर्घटना हुनसक्ने भएकाले क्षमताभन्दा बढी सामान ढुवानी नगर्न प्रहरीले आग्रह समेत गरेको छ ।

बम्पर गार्ड नहटाउने सवारीसाधन पनि कारबाहीमा
यस्तै प्रहरीले सवारीसाधनमा जडान गरिएको फलामको बम्पर गार्ड नहटाउने सवारीसाधनलाई समेत कारबाही गरेको छ । बम्परमा जडान भएका एयर ब्यागको सेन्सरले काम नगर्ने हुँदा चालक तथा यात्रुको ज्यान जोखिममा परेको साथै सवारी दुर्घटना हुँदा बम्फर गार्डका कारण पैदल यात्रुलाई बढी क्षति हुने भएकोले यसलाई हटाउन लागिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरी कार्यालयले यसअघि नै मंसिर १४ गतेभित्र सवारी साधनमा राखीएको बम्फर गार्ड हटाउन निर्देशन दिइसकेको थियो । उक्त निर्देशन अवेज्ञा गर्नेलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले कारबाही गर्न थालेको हो । कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ उपदफा १ अनुसार कुनै पनि सवारीसाधनको रङ्ग, स्वरूप, सिट संख्या, इन्जिन तथा चेसिस परिवर्तनको कसुरमा कारबाही गर्नेछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया