Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशस्थानीय सरकारबाटै दरको नाममा लाखौं रकम खर्च

स्थानीय सरकारबाटै दरको नाममा लाखौं रकम खर्च


सोलुखुम्बु । हरितालिका तीजलाई विकृतिभन्दा संस्कृति जगेर्ना गर्ने माध्यमबाट मनाउन सरकारी तवरबाटै आग्रह गरिँदै आएको छ । तर सोलुखुम्बुमा भने स्थानीय सरकारबाटै दरको नाममा लाखौँ रकम खर्च भएको पाइएको छ । सोलुदूधकुण्ड नगरपालिकाले जिल्ला सदरमुकम सल्लेरीमा राज्य ढुकुटीको लाखौँ रकम खर्च गरेर सामूहिक भोज गरेको छ । त्यस्तै, जिल्लाकै नेचासल्यान गाउँपालिकामा पनि राज्यकै लगानीमा ठूलो भोजको आयोजना गरिएको स्थानीयले बताएका छन् । यी त प्रतिनिधि उदाहरण मात्रै हुन् ।

महिलाका नाममा आएको बजेट महिलाको सीप तथा क्षमता अभिवृद्धि तथा उपचारमा खर्चिनुपर्नेमा यहाँका स्थानीय सरकारले भोज भतेरमा खर्चिने गरेका छन् । अझ स्थानीय सरकारको बजेट लगानीको रूपमा खर्चिनु पर्ने हो तर यहाँ त अनुत्पादक क्षेत्रमा खर्च गरी बजेट सक्ने परिपाटी बसको छ । मौलिक संस्कृतिको रूपमा रहेको तीजलाई महिना दिनअगाडिदेखि नै दर खाने र महँगा गरगहना र पहिरन प्रदर्शन गरी भड्किलो बनाउँदै गएको देखिन्छ । राम्रो संस्कृतिलाई भड्किलो व्यवहारले विकृत बनाइरहेका बेला राज्यकै पैसा खर्च गरेर भोज भतेर खुवाउनुले विकृतिमाथि थप मलजल पुगेको स्थानीय रस्वीन मगर बताउँछन् । उनी भन्छन्, ‘एक डेढ सय महिलालाई भेला पारेर दर खुवाउँदैमा तीज संस्कृतिको जगेर्ना हुने होइन । यसले संस्कृतिको नाममा आएका विकृतिलाई मलजल मात्रै गरिरहेको छ ।’

राज्यले बजारमा गर्ने भेला र नाचगानले ग्रामीण भेगका महिलालाई भने पटक्कै छोएको छैन । सुकिलामुकिलाहरू सल्लेरीमै तीजको दर खाने कार्यक्रममा रमाइरहँदा मजदुर महिलाहरू भने दिनभर गिटी कुट्मै व्यस्त थिए । फाप्लुकी सुकुमाया तामाङ गिट्टी कुटेर गुजरा चलाउनुपर्ने आफूजस्ता महिलाहरूलाई दर कार्यक्रमको कुनै अर्थ नरहेको बताउँछिन् । उनले भनिन्, ‘हुने खानेलाई त गर्ने रहेछ नि सरकारले पनि हामीजस्तो गरिबलाई त कसले आउनु भन्छ र ?’ त्यस्तै अम्बिका परियार पनि टेलरिङ व्यवसायमा व्यस्त हुँदा दर खाने कार्यक्रममा जान नपाएको बताइन् ।

तीजको दर खुवाउनकै लागि स्थानीय सरकारले न्यूनतम डेढ लाखदेखि अधिकतम पाँच लाख रुपैयाँसम्म खर्च गरेका छन् । दर खाने पैसा महिलाको क्षमता अभिवृद्धि, सीपमूलक आयआर्जनका तालिममा खर्चिँदा नतिजा आउन सक्छ । अथवा गरिब तथा विपन्न महिलालाई आयआर्जन बढाउन कुखुराका चल्ला भए पनि दिन सकेको भए उत्तम हुने कतिपयको भनाइ छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया