Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशदरबाङ खानेपानी आयोजना निर्माणले गति लियो

दरबाङ खानेपानी आयोजना निर्माणले गति लियो


म्याग्दी । मालिका गाउँपालिका–६ को दरबाङ खानेपानी तथा सरसफाइ आयोजना निर्माणले सुरु भएको छ वर्षपछि गति लिएको छ । वि.सं. २०७४ फागुनदेखि सुरु भएको दरबाङ खानेपानी आयोजना निर्माणको कामले पछिल्लो समय गति लिएको हो । उपभोक्ता, उपभोक्ता समितिका पदाधिकारी, जनप्रतिनिधि र सम्बद्ध कार्यालयले चासो देखाएपछि केही महिनायता आयोजनाको अधुरा संरचना निर्माण धमाधम भएको जनाइएको छ ।

वि.सं. २०७४ फागुनदेखि थालिएको दरबाङ खानेपानी आयोजनाको अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । प्रदेश सरकारको रु. दुई करोड ९९ लाख ४० हजार नौ सय ३६ लागतमा उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको आयोजनाको आर्थिक वर्ष २०७२/७३ मा सर्वेक्षण गरिएको थियो ।

खानेपानी आयोजना निर्माणमा भएको ढिलासुस्तीले स्थानीय प्रभावित भएका छन् । तीव्ररूपमा बस्ती र बजार विस्तार भइरहेको दरबाङमा पिउने तथा सरसफाइका लागि पानीको समस्या छ । खानेपानी उपभोक्ता समितिका सचिव खिमबहादुर पुनले मुख्य लाइन निर्माण सकेर ट्याङ्कीसम्म पानी खसालिएको र शाखा लाइन निर्माणको काम थालिएको राससलाई बताए । दरबाङका बासिन्दाले आयोजनाको शाखा र मुख्य पाइप लाइन खन्ने काममा श्रमदान गरिरहेका छन् ।

तीव्ररूपमा बस्ती विकास भइरहेको दरबाङमा खानेपानी अभावको समस्या हट्ने अपेक्षासहित श्रमदानमा जुटेको स्थानीय गोपाल गौतमले बताए । वि.सं. २०७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना सङ्घीयता स्थापनासँगै खानेपानी कार्यालयको संरचना परिवर्तन, विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारी, २०७७ मा आयोजना निर्माण क्षेत्रको जङ्गलमा आगलागी हुँदा र वर्षात्को समयमा दरबाङ–दिच्याम सडकबाट खसेको पहिराले पाइप बगाउँदा निर्माणमा ढिलाइ भएको उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश शेरचनले बताए ।

उनका अनुसार उक्त आगलागीमा ९० एमएमको तीन सय मिटर, ६३ एमएमको एक हजार मिटर, ५० एमएमको नौ सय ५० मिटर पाइप जलेर नष्ट भएको थियो । चालू आवमा सम्पन्न गर्ने लक्ष्य राखेर आयोजना निर्माणलाई तीव्रता दिइएको उनले बताए । “विविध कारण केही समय आयोजना निर्माणको काम रोकिएको हो”, उनले भने, “सञ्चालन भएको आयोजना निर्माणलाई यो आवभित्र सम्पन्न गर्नेगरी तीव्रता दिएका छौँ ।”

गाउँपालिकाको वडा नं. ७ स्थित छिपछिपे, ढुनोट र वडा नं. ६ गोजाखोला मुख्य मुहान तथा तेलचाप्रे, धाढखर्कमाथिको सहायक मुहानबाट पानी ल्याएर दरबाङ बजारमाथि निर्माण भएको १०० घनमिटर क्षमताको रिजर्भ ट्याङ्कीमा खसालिएको छ ।

उक्त खानेपानी आयोजनाबाट प्रतिदिन ९९ हजार तीन सय ८५ लिटर पानी आपूर्ति हुनेछ । आयोजनाबाट दुई सय ९६ घरधुरीका एक हजार पाँच सय ४१ जनसङ्ख्या लाभान्वित हुनेछन् । अहिलेसम्म सबै मुहानमा ट्याङ्की, सङ्कलन र रिजर्भ ट्याङ्की निर्माण भएका छन् ।

मुहानबाट छ दशमलव ८० किमी मुख्य पाइप लाइन बिछ्याउने काम सकेर ट्याङ्कीमा पानी खसालिएको छ । तीन दशमलव ६८ किमी शाखा लाइनको पाइप बिछ्याउने र धारामा मिटर जडानको काम बाँकी छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इञ्जीनियर राजेश उलकका अनुसार कार्यालयले आयोजना निर्माणका लागि पाइपसहित आवश्यक सामग्री खरिद गरी आयोजना निर्माणस्थलसम्म ढुवानी गरिसकेको छ ।

मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले उपभोक्ता समिति र सम्बद्ध कार्यालयसँग छलफल र समन्वय गरेर निर्माणलाई गति दिइएको बताए । “धेरै पटकको छलफल र समन्वयमार्फत दरबाङको प्रमुख खानेपानीको समस्या समाधानका लागि आयोजना निर्माणले गति लिने वातावरण बनेको हो”, उनले भने, “चालू आवभित्रै दरबाङवासीको घरघरमा खानेपानी वितरण गर्ने लक्ष्यसहित तीव्रताका साथ काम भइरहेको छ ।”


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया