Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारयी हुन् सेयरबजार घट्नुका खास कारण

यी हुन् सेयरबजार घट्नुका खास कारण


काठमाडौं । आइतबार सेयरबजार करिब ३० अंकले घटेको छ । नेप्से परिसूचक २९ दशमलव ८१ अंकले घटेर एक हजार नौ सय ६० दशमलव ७८ विन्दुमा झरेको छ । यसअघि एक हजार नौ सय विन्दुभन्दा तल झर्न नसकेको बजारमा गिरावट आएपछि बिक्रीकर्ता हाबी देखिएका छन् । बजार थप घट्नसक्ने भयले ‘प्यानिक सेल’ देखा परेको विश्लेषकहरू बताउँछन् ।

नेप्सेमा सूचीकृत अधिकांश कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यही कारण अब लाभांश सिजन सुरु भएको देखिन्छ । कम्पनीहरूले लाभांश घोषणाका लागि तयारी गरिरहेका छन् । एक/दुईवटाले लाभांश घोषणा गरिसकेका छन् । तर पनि बजार घटिरहेको छ । अधिकांश कम्पनी यस पटक राम्रो लाभांश वितरण गर्ने क्षमतामा नदेखिएकाले बजारमा बिक्रीचाप बढेको विश्लेषण गरिएको छ ।

यसबाहेक उच्च ब्याजदरले पनि बजारमा दबाब दिइरहेको छ । वित्तीय प्रणालीमा तरलता सहज भएको र केहीले सेयर धितोमा कर्जा उपलब्ध गराए पनि ब्याजदरकै कारण बजारमा रकम भित्रिन नसकेको एक लगानीकर्ताले बताए ।

अर्कोतर्फ नेपाल धितोपत्र बोर्डले धमाधम हकप्रद र आईपीओ निष्काशनका लागि कम्पनीहरूलाई स्वीकृति दिएपछि बजारमा भएको केही पैसा पुँजीको रूपमा गएको छ । यसले दोस्रो बजारमा सेयरको आपूर्ति बढाउने काम गरेको छ ।

सेयरबजारका केही ठूला लगानीकर्ताले नयाँ ब्रोकर कम्पनीको अनुमति लिएर कारोबार सुरु गरेका छन् । ती ब्रोकर कम्पनीका सेयरधनीलाई सेयर कारोबार गर्न नेप्सेको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न लागिएपछि बजार प्रभावित भएको विश्लेषण गरिएको छ । यसले बजारमा माग बढाउनेभन्दा आपूर्ति बढाउने काम गरिरहेको छ ।

हुन त सेयरबजार १४ महिनायता ‘साइडवेज’ प्रवृत्तिमा देखिन्छ । रेखाचित्र विश्लेषण गर्दा २०७९ असार १० गतेयता बजार एक हजार आठ सय र दुई हजार दुई सय विन्दुको बीचमा तलमाथि गरिरहेको छ । यसलाई विश्लेषकहरूले साइडवेज प्रवृत्ति भनेका छन् ।

तर, अहिले बजारमा मागपक्ष साँघुरिएको छ । भारी नोक्सानी हुने डरले अहिले नै सेयर बेचेर उम्किनेहरूको संख्या बढेको देखिन्छ । यद्यपि केही लगानीकर्ताले घटेको बेला अवसर मान्दै आफ्नो ‘पोर्टफोलियो’ थप्न खोजेका छन् । तर, विभिन्न कारणले बजार दबाबमा आउँदा धेरैजसो लगानीकर्ता अतालिएका छन् । विशेष गरेर आइतबार कारोबार खुलेदेखि नै लगातार घट्दो स्थितिमा बजार गएपछि लगानीकर्ताको मनोबल घटेको छ ।

आइतबार कारोबारमा आएका दुई सय २८ कम्पनीमध्ये दुई सय १२ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकीमध्ये आठवटाको बढेको छ भने आठवटाको स्थिर रहेको छ । यस दिन एक अर्ब १८ करोड ६६ लाख रुपैयाँबराबरको ४० लाख ५३ हजार तीन सय ६८ कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति ४४ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण २९ खर्ब ३५ अर्बमा झरेको छ ।

कारोबारमा आएका १३ वटै उपसमूह घटेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहमा गिरावट आएको छ । यो समूह तीन दशमलव शून्य ३ प्रतिशतले घटेको छ । यसपछि जलविद्युत् समूह दुई दशमलव ३३, जीवन बीमा र निर्जीवन बीमा समूह दुई प्रतिशतले घटेका छन् । एक प्रतिशतभन्दा बढी घट्ने समूहमा विकास बैंक, फाइनान्स, लगानी, लघुवित्त, म्युचुअल फन्ड, अन्य र व्यापार समूह छन् । उत्पादन तथा प्रशोधन र बैंकिङ समूह एक प्रतिशतभन्दा कमले घटेका छन् ।

बजार घटे पनि थ्रिस्टार हाइड्रोपावरका सेयरधनीले १० प्रतिशतले कमाएका छन् । लिवर्टी इनर्जी र सिटी होटलको सेयर कारोबार नकारात्मक सर्किट लेभलमा भएको छ । बजार बन्द हुँदा दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ । सबैभन्दा धेरै कारोबार सोल्टी होटलको तीन करोड ८८ लाख रुपैयाँको भएको छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया