Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयरबजार नयाँ वर्षमा के होला ?

सेयरबजार नयाँ वर्षमा के होला ?


काठमाडौं । २०८० सालमा उतारचढावका बीच नेप्से परिसूचक ९१ अंक बढेको छ । वर्षको सुरुमा एक हजार नौ सय ३४ बाट खुलेको कारोबार अन्तिम दिन दुई हजार २५ दशमलव सात विन्दुमा कायम भएर बन्द भएको छ । यस हिसाबले वर्ष २०८० सेयर लगानीकर्ताका लागि खासै उत्साहपूर्ण वर्ष रहेन ।

अर्थतन्त्रमा देखिएको मन्दी, उच्च ब्याजदरलगायतका कारण बजार प्रभावित भयो । यस वर्ष सुरुवातमा महँगो ब्याजदर, तरलता अभाव, आर्थिक सूचकहरूमा दबाबलगायतको प्रेसर सेयरबजारले भोग्नुपरेको छैन । ब्याजदरले सेयरबजारमा सिधा असर पार्ने भएकाले यस वर्ष सूचकमा राम्रो सुधार हुने अपेक्षा लगानीकर्ताले गरेका छन् । आर्थिक सूचकहरू सकारात्मक रहे पनि लगानीकर्ताले सेयरबजारमा नीतिगत सुधारको अपेक्षा गरेका छन् । नीतिगत सुधार भएमा बजारले थप गति लिने विश्वास रहेको लगानीकर्ताहरूले बताएका छन् ।

बैंकमा तरलता थुप्रिए पनि कर्जाको माग बढ्न सकेको छैन । यस्तो बेला केन्द्रीय बैंकले कर्जा विस्तार हुनेगरी नीतिगत व्यवस्था गर्नुपर्ने हुन्छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट यस्तो लचकता आउने अपेक्षा गर्न सकिन्छ । यस्तै सेयर धितो कर्जामा लगाइएको लगाम हटाउने र जोखिमभार शतप्रतिशतमा झारेमा बजारमा सकारात्मक माहोल बन्न सक्छ ।

गतवर्ष अर्थतन्त्रमा देखिएको संकुचनको असर कम्पनीहरूको वित्तीय विवरणमा भने देखिएको छ । गत आर्थिक वर्षको आठ महिनाको तुलनामा यस आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा १३ प्रतिशत घटेको छ । यसबाट कम्पनीहरूको नाफा वितरण खुम्चिन सक्छ । वितरणयोग्य मुनाफा कम हुँदा सम्बन्धित कम्पनीको सेयरमूल्यमा दबाब पर्न सक्छ । यसको असर समग्र सेयर बजारमा पर्ने देखिन्छ ।

रेखाचित्र विश्लेषण गर्दा गतवर्ष नेप्से परिसूचक १८ सय विन्दुभन्दा तल झर्न सकेन भने २२ सयभन्दा माथि जान पनि सकेन । यसबाट सर्वसाधारण लगानीकर्ताले खासै लाभ लिन सकेनन् । तर, चलाख र अल्पकालीन लगानीकर्ताले भने राम्रै फाइदा लिएको देखियो ।

विश्व बैंक र एसियाली विकास बैंकले समेत नेपालको अर्थतन्त्रमा क्रमिक सुधार हुँदै गएकोे बताएको छ । गतवर्षभन्दा यस वर्ष अर्थतन्त्र केही चलायमान बन्ने प्रक्षेपण पनि गरेको छ । यसले आर्थिक गतिविधि बढ्ने कुरामा विश्वास गर्न सकिन्छ । किनभने अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकहरू क्रमशः सकारात्मक बन्दै गएका छन् ।

दीर्घकालमा सेयर बजारबाट राम्रो अपेक्षा गर्न सकिए पनि अल्पकालमा कस्तो प्रवृत्ति देखा पर्छ र नयाँ वर्षलाई कसरी स्वागत गर्छ भन्ने कुरा आइतबारको कारोबारपछि नै थाहा हुनेछ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया